सुनसरी । सुनसरीको धरान उपमहानगरपालिका र धनकुटाको साँगुरीगढी गाउँपालिकाको सिमानामा पर्ने भेडेटार बजार क्षेत्र पूर्वको चर्चित पर्यटकीय गन्तव्यका रूपमा परिचित छ । विशेषगरेर गर्मी मौसममा शीतलता अनुभूति गर्न यहाँ आन्तरिक र वाह्य पर्यटक पुग्ने गरेका छन् । 

गतवर्ष साउन ११ गते औपचारिक उद्घाटन गरेर सुरु गरिएको ‘स्काई वाक’ टावरले भेडेटारमा पर्यटकको आकर्षण थप बढाएको छ । वण्डर्स एम्युजमेन्ट पाक्र्स एन्ड अट्रयाक्सन्स प्रा.लि.ले २० करोड लगानीमा निर्माण गरेको स्काई वाक अवलोकन गर्न गत साउन ११ यता करिब एक लाख ५० हजारबढी आन्तरिक र वाह्य पर्यटक आएको कम्पनीका प्रोजेक्ट मेनेजर अभिषेक लामिछानेले बताए । 

लामिछानेका अनुसार स्काई वाक हेर्न आएकामध्ये पूर्वी तराईसहित नेपालका विभिन्न भागबाट करिब ८० प्रतिशत, करिब १८ प्रतिशत भारतीय र केही प्रतिशत तेस्रो मुलुकका नागरिक आउने गरेका छन् । ‘यहाँ भिजिट गर्न धरानबाट सबैभन्दा धेरै आउनुहुन्छ । त्यसपछि पूर्वी तराईका विभिन्न ठाउँबाट आउनुहुन्छ । पश्चिमबाट पनि आउनुहुन्छ’ उनले भने, ‘भारतको बिहार, पश्चिम बङ्गाल, सिक्किमलगायत राज्यबाट पनि पर्यटकहरू आउनुहुन्छ । प्रतिशतमा भन्ने हो भने नेपाली करिब ८० प्रतिशत, बाँकी १८ प्रतिशतजति भारतीय आउनुहुन्छ । १–२ प्रतिशत तेस्रो देशबाट आउनुहुन्छ ।’

गर्मीमा चिसो हुने र जाडो याममा पारिलो घाम लाग्ने अनुकूल मौसमका कारण भेडेटार क्षेत्र विगतदेखि नै पर्यटकको रोजाइको केन्द्र भएको र त्यसमा स्काई वाकले थप मद्दत गरेको साँगुरीगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र राईले बताए । औपचारिक तथ्याङ्क नभए पनि स्काई वाक बनेपछि भेडेटार क्षेत्रमा उल्लेख्यरूपमा पर्यटक वृद्धि भएको उनको भनाइ छ ।

‘पर्यटक आएकै कारण यहाँका होटल व्यवसायीहरू उत्साहित देखिनुहुन्छ । यो क्षेत्रका किसानले उत्पादन गरेको तरकारी, फलफूल बिक्री भइरहेको छ । यातायात व्यवसायीहरूले पनि राम्रोसँग काम पाइरहनुभएको छ’ उनले भने, ‘शीतल हावापानी र त्योसँगै नयाँ प्रोजेक्टको रूपमा स्थापना भएको स्काई वाकले यो क्षेत्रमा पर्यटकलाई आकर्षण गरेको छ ।’ स्काई वाकले युवायुवतीदेखि वृद्धवृद्धासम्मलाई नौलो अनुभव दिने भएकाले सबै उमेर समूहका पर्यटक आकर्षित भएको अध्यक्ष राईले बताए ।

भेडेटार पूर्वकै लोकप्रिय पर्यटकीय क्षेत्र भए पनि कोरोना महामारीपछि पर्यटकीय गतिविधि कम भएको र विस्तारै पुरानै अवस्थामा फर्कन थालेको होटल एसोसिएसन अफ भेडेटारका अध्यक्ष टुमराज लिम्बूले बताए । प्राकृतिक सुन्दरता, चिसो मौसम, स्काई वाकलगायत कारण भेडेटारमा पर्यटक आउने गरेको लिम्बूको भनाइ छ । धरान बजारबाट करिब १८ किलोमिटर दूरीमा पर्ने भेडेटार बजार क्षेत्र वरपर हाल साना–ठूला गरी करिब एक सयवटा होटलहरू सञ्चालनमा छन् ।