धरान । झापाको दमकमा शनिबार राति स्कुटरलाई ठक्कर दिई फरार रहेका ट्रकका चालकलाई प्रहरीले आइतबार बिहान झापाको बिर्तामोडबाट पक्राउ गरेको छ ।
ट्रकले ठक्कर दिँदा स्कुटी चालकको घटनास्थलमै ज्यान गएको थियो । यस्तै अर्का एकजना महिला गम्भीर घाइते बनेकी थिइन् । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मृत्यु हुनेमा ताप्लेजुङ दोभानका २२ वर्षीय अङ्कित लिम्बू छन् ।
घटनामा पाँचथर मिक्लाजुङ गाउँपालिका–४ का ४२ वर्षीया सृजना राई गम्भीर रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख एसपी राजन लिम्बूका अनुसार कामबाट कोठामा मे.८ प ४५५८ नम्बरको स्कुटीमा फर्किँदै गर्दा ग.१ ख ६४३७ नम्बरको ट्रकले ठक्कर दिएको थियो ।
घाइते राईको झापा बिर्तामोडस्थित बी एन्ड सी अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनापछि फरार रहेका ट्रकका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार उनलाई झापाको बिर्तामोड नगरपालिका–५ स्थित माता मन्दिर नजिकैबाट चालक इलाम सन्दकपुर गाउँपालिका–३ का रोशन केरुङ लिम्बूलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । उनलाई सवारी ज्यान कसूरमा मुद्दा चलाइएको छ ।