विजयपुर । धरान–१४ विजयपुरका रविनकुमार गौतमले ३ वर्ष पहिले १३ लाख लगानीमा सुरु गरेको व्यवसाय हाल १ करोडमाथि पुगेको छ । १८ वर्ष प्रवासी जीवन बिताएपछि ३ वर्ष पहिले गाई पालन सुरु गरेका थिए, गौतमले ।
रविन वैदेशिक रोजगारका सिलसिलामा विभिन्न १७ मुलुक पुगे । आफ्ना भाइसहित ११ वर्ष त अफ्रिकाका विभिन्न मुलुक घुमे । तर, जुन सपना बोकेर प्रवास लागेका थिए, त्यो सपना साकार हुन सकेन । कमाउँला र परिवारको इच्छा चाहना पूरा गरौंला भन्ने सपना अधुरै रह्यो । ११ वर्षसम्म बसे तर, त्यहाँ कमाउन त होइन, आफूलाई अफ्रिका पु¥याउने एजेण्टसहित फसे । दाजुभाइको ४२ लाख डुब्यो । त्यसपछि स्वदेश फर्किए । पैसा डुबेपछि आफू सडकमा पुगेको बताउँछन् रविन ।
नेपालमा गर्न केही अवस्था नभएपछि उनी फेरि वैदेशिक रोजगारीका लागि खाडी मुलुक कतार गए । उनले कतारमा ७ वर्षसम्म गाडी चलाउने काम गरे । उनले भने, ‘७ वर्षपछि कतारबाट फर्किएँ, कति विदेशमा बस्नु, दुनियाँले गरेका छन्, मैले पनि गर्दा हुन्छ होला भनेर फर्म सुरु गरेँ ।’
३ वर्ष पहिले गौतमले गाई तथा कृषि फर्म दर्ता गरे । फर्म दर्ता गरेपछि १३ लाख लगानीमा १० वटा गाई पाल्न सुरु गरे । व्यावसायिक रूपमा गाई पाल्न सुरु गरेका उनले बढाउँदै गए । गाईको सङ्ख्या वृद्धि गर्दै गएपछि घरको छेउमा भएको सानो गोठले धान्न छोड्यो । गत वर्ष पिण्डेश्वर क्याम्पसको साढे ३ बिगाहा जग्गा भाडामा लिए । त्यहाँ साढे ३ कठ्ठा क्षेत्रफलको गोठ मात्रै छ । जग्गाको भाडा वार्षिक १ लाख ७५ हजार ५ सय २५ रुपैयाँ बुझाउनु पर्छ । साढे ३ कठ्ठा क्षेत्रफलको गोठमा अहिले ४२ वटा गाई र १० वटा भैँसी पनि रहेका छन् । ४२ वटा गाईमध्ये ९ माउ होलस्टेन प्रजातिका छन् । अन्य जर्सी र जर्सी क्रस गाई छन् ।
होलस्टेन प्रजातीको गाईले १ पटकमा बढीमा १८ लिटरसम्म दूध दिँदा रहेछन् । एउटा गाईले दिनमा ३५ लिटर दूध दिँदा रहेछन् । जर्सी र जर्सी क्रस प्रजातीको गाईले १ दिनमा बढीमा १८ लिटरसम्म दूध दिने सुनाउँछन् रविन । उनको फर्ममा औषतमा दैनिक ३ सय २० लिटर दूध उत्पादन हुन्छ ।
अब सबै गाई ब्याउँदा ४ सय ५० लिटरसम्म उत्पादन हुने उनी बताउँछन् । उनको फर्ममा अहिले १ करोड माथिको लगानी रहेको छ । १३ लाखको लगानीमा सुरु गरेको व्यवसाय अहिले १ करोड माथि पुगेको छ । उनी आफ्नो व्यवसायबाट आय–व्यय बराबरी भएको बताउँछन् । आय–व्यय बराबर भए पनि व्यवसाय भने राम्रोसँग बढाउँदै लगेको उनले बताए । धरान उपमहानगरमा हाल विभिन्न वडामा २० वटा गाई तथा भैंसी फर्म दर्ता भएको पशु महाशाखा प्रमुख महेन्द्र पैकाराले जानकारी दिएका छन् ।
बजारको अभाव छैन
गौतम आफूले उत्पादन गरेको दूधको लागि बजारको अभाव नरहेको बताउँछन् । धरानमा पूर्व झापादेखि उदयपुरसम्मको दूध आउने बताउँदै आफूले धरानलाई आवश्यक दूध उत्पादन गर्न नसकेको बताउँछन् । धरानमा दूधलाई बजारको अभाव नभए तापनि मूल्यमा एकरूपता नहुनु समस्या रहेको बताउँछन् रविन । धरानमा ३५ देखि ४० हजार लिटर दूध खपत हुने उनले बताए ।
डेरी सञ्चालन
उनले दूधका परिकार उत्पादन गर्नका लागि गौतम डेरी उद्योग पनि दर्ता गरेका छन् । डेरी उद्योग धरान–३ सिंहदवी चोकमा रहेको छ । उनले दूधका परिकारहरू पनिर, पुवा, दही, मोही बनाएर बिक्री गर्ने गरेका छन् । उनलाई दूध बजारमा बिक्री नहुँदा खेर जाला भन्ने चिन्ता छैन ।
पानीको अभाव
धरानमा पशुपालनका लागि सबैभन्दा ठूलो समस्या पानी रहेको छ । रविनले भने, ‘एक हजार गाई पाल्ने योजनाले फर्म सुरु गरेँ, पानी अभाव हुँदा १ सय पनि पाल्न गाह्रो भयो ।’ उनले थपे, ‘पानी अभावले गर्दा २५ वटा गाई र २५ वटा भैँसीमा सीमित हुने सोचमा पुगेको छु ।’
‘गोठमा ६५ वटासम्म गाई पालेको थिएँ, पानी नहुनाले घटाउनु प¥यो’ उनले भने, ‘स्थानीय सरकारसँगको समन्वयमा पानी दिएको थियो, पछि स्थानीयको विरोध आएको भन्दै कटाइयो, कसरी प्रोत्साहन हुन्छ ।’ यता धरान खानेपानी बोर्डका निर्देशक राजु पोखरेल भने आयोजनामा नभएको स्थानमा पनि पम्प लगाएर पानी उपलब्ध गराएको दाबी गर्छन् । तर, रविनले भने पानी अभाव भएपछि एक महिनामा १ लाख २ हजारको पानी खरिद गरी गाई बचाएको बताए । उनको स्थानीय सरकारसँग ठूलो अपेक्षा नभएको बताउँदै पानी मात्रै उपलब्ध गराइदिए धेरै राहत हुने बताए । उनलाई दैनिक ६ हजार लिटर पानी आवश्यक पर्छ ।
‘पिण्डेश्वर बाबाको पेडा’
उनको स्थानीय सरकारसँग सँगै रहेर ‘पिण्डेश्वर बाबाको पेडा’ उत्पादन गर्ने सोच रहेको बताए । उनले पेडाका लागि आवश्यक कच्चापदार्थ उपलब्ध भए पनि श्रमिकको अभाव र निषेधाज्ञाका कारण उत्पादन सुरु नगरेको बताए । कोरोना भाइरसको महामारी सहज भएपछि ‘पिण्डेश्वर बाबाको पेडा’ उत्पादन सुरु गर्ने उनले बताए । पेडा उत्पादनका लागि पनि भारतबाट कालीगढ मगाउन लागेको बताए । ‘नेपालमा राम्रो कालीगढ नपाइने हुनाले बाहिरबाट मगाउनु पर्ने बाध्यता छ’–उनले भने ।
जनशक्ति अभाव
सरकारले निर्धारण गरेको भन्दा बढी सेवा सुविधा उपलब्ध गराउँदा पनि राम्रो श्रमिक नपाउने बताउँछन् रविन । नेपालका निश्चित समयसम्म काम नगर्ने, काम गर्न नचाहने भएकाले विदेशबाट श्रमिक ल्याउन बाध्य हुनुपर्ने उनले बताए । उनले भने, ‘काम गर्न आउँछन् एक हप्ता, १५ दिन गर्छन्, हिँड्छन्, आफूले सिकाएको खेर जान्छ, बाहिरबाट ल्यायो भने निश्चित समय ढुक्क हुन्छ ।’
उनले फर्ममा आफूबाहेक ५ जनालाई स्थायी रोजगारी दिएका छन् । ती ५ जनालाई खान, बस्न र उपचारसमेत गराएर २० हजार भन्दामाथि तलब दिएको उनले बताए । गाई फर्ममा काम गर्ने श्रमिकले वर्षमा १ पटक मात्र छुट्टी पाउँछन् । १२ महिना काम गर्ने श्रमिकले १३ महिनाको तलब पाउँछन् । उनले फर्ममा हाल प्रत्यक्ष रूपमा ५ जनालाई रोजगार दिए पनि अप्रत्यक्ष रूपमा २० जना भन्दा बढीलाई रोजगारी दिएको बताए । उनलाई अहिले पनि कामदार आवश्यक रहेको बताए ।
नक्कली कृषकले पाउँछन् अनुदान
उनले सरकारी अनुदान भने १ रुपैयाँ पनि पाएका छैनन् । उनले सरकारले बर्सेनि कृषकका लागि भनेर दिने अनुदान वास्तविक कृषकले नपाई बिचौलियाले पाउने गरेको अनुभव सुनाए । सरकारले वास्तविक कृषकलाई अनुदान नदिई बिचौलिया, नक्कली कृषक र झोला बोकेर हिँड्ने कार्यकर्तालाई दिने गरेको बताए । अनुदानका लागि आफ्नै गोठ र गाईको फोटो खिचेर लाने गरेकोसमेत बताए ।
सरकारले राज्यलाई योगदान गरेको भनेर हेर्न पनि नआएको उनले गुनासो गरे । आफूले अनुदानका लागि बन्ने कृषकलाई भन्दा वास्तविक कृषकलाई अनुदान दिए राहत हुने बताए । ‘म कृषक नहुँदै सुन्ने गरेको थिएँ, अहिले अनुभव गरेँ, वास्तविक कृषकले १ रुपैयाँ पनि नपाउने रहेछन्’ उनी भन्छन्, ‘प्रोत्साहन भन्छन् तर, कृषकलाई सास्ती मात्रै दिन्छन् ।’ उनले सरकारले प्रोत्साहन नगरी हतोत्साहित बनाएको बताए ।































