विजयपुर । आगामी दिनमा तीव्र हावाहुरी चल्ने सम्भावनालाई ध्यानमा राख्दै धरान उपमहानगरपालिकाले विद्यालयहरूलाई विशेष सतर्कता अपनाउन निर्देशन दिएको छ।


नगर कार्यपालिकाको कार्यालयद्वारा जारी सूचनाअनुसार जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानका आधारमा पूर्वी क्षेत्रका विभिन्न जिल्लामा करिब १११ किलोमिटर प्रतिघण्टाको वेगमा हावाहुरी चल्न सक्ने जोखिम देखिएको छ। सोही कारण विद्यार्थीहरूको सुरक्षालाई मध्यनजर गर्दै विद्यालयहरूलाई आवश्यक सावधानी अपनाउन आग्रह गरिएको हो।

शुक्रबार विद्यालय छुट्टी भएपछि विद्यार्थीहरूलाई सुरक्षित रूपमा घरसम्म पुर्‍याउने व्यवस्था मिलाउन भनिएको छ। स्कुल बस नहुने विद्यालयहरूले अभिभावकको साथमा मात्र विद्यार्थीलाई घर पठाउनुपर्ने व्यवस्था गर्नुपर्ने उल्लेख गरिएको छ।

त्यस्तै, शुक्रबार र शनिबार अतिरिक्त कक्षा सञ्चालन नगर्न निर्देशन दिइएको छ भने अन्य आवश्यक सतर्कता अपनाउन विद्यार्थी तथा विद्यालय प्रशासनलाई सचेत गराइएको छ।

उपमहानगरपालिकाले संभावित जोखिमबाट बच्न सबैलाई सचेत र जिम्मेवार बन्न आग्रह गरेको छ।