विराटनगर । ६५ वर्षीया निर्मला ऋषिदेवले दुःख गरेर सहकारीको किस्ता तिर्न ५ हजार रुपैयाँ जोगाएकी थिइन् । श्रीमान्ले दिनभर पसिना बगाएर ल्याएको ज्यालाबाट बचाएको २० किलो चामलको बोरा भर्खरै भान्साको कुनामा थन्क्याइएको थियो । तर, बुधबार दिउँसोको एउटै राँकोले निर्मलाको त्यो सानो संसार क्षणभरमै खरानी बनाइदियो ।

मोरङको बूढीगङ्गा गाउँपालिका–३ गोकुवा चोकस्थित मुसहर बस्तीमा अहिले न घरको भग्नावशेष बाँकी छ, न भोलि खाने अन्नको दानो । हेर्दाहेर्दै बस्तीका ११ वटा झुपडी आगोको लप्कामा बिलाए । अहिले निर्मलासहित ११ परिवारका ५५ जना सदस्य नजिकैको जनता आधारभूत विद्यालयको चिसो भूइँमा शरण लिइरहेका छन् ।

“हेर्दाहेर्दै घर जल्यो, भित्र पसेर केही झिक्नै पाइएन” विद्यालयको एउटा कुनामा टोलाइरहेकी निर्मलाले भक्कानिँदै भनिन्, “किस्ता तिर्न राखेको ५ हजार पनि जल्यो, श्रीमान्ले किनेर ल्याएको चामल पनि आगोले खायो । अब रात कसरी कटाउने, के खाने ? पिरैपिरले सताएको छ ।”

यो पीडा निर्मलाको मात्र होइन, सुशीला ऋषिदेवको अवस्था पनि उस्तै कारुणिक छ । वर्षभरि अर्काको खेतमा पसिना बगाएर जम्मा गरेको अलिअलि धान र लत्ताकपडा सबै आगोले स्वाहा पारिदियो । “बालबच्चाले भोक लाग्यो भन्दा दिने अन्नको दाना छैन । जिउमा जे लगाएका थियौँ, त्यही मात्र जोगियो”–उनले भनिन् । बुधबार दिउँसो छिमेकी सोनी ऋषिदेवको घरबाट सल्किएको आगो मुसहर बस्तीका लागि ‘काल’ बनेर आयो । बाँसको टाटी र जस्तापाताले बनेका झुपडीहरू आगोले निलिदिए । त्यसमाथि घरभित्र रहेका ग्यास सिलिन्डरहरू बम पड्किए झैँ एकपछि अर्को पड्किन थालेपछि स्थानीयले भित्र पसेर सामान निकाल्ने आँटै गर्न सकेनन् । ४५ मिनेटभित्रै सबै सखाप भयो । 

काखे बच्चा च्यापेर विद्यालयको हलमा टोलाइरहेकी रेखा ऋषिदेव र उत्तम ऋषिदेवको परिवारको चिन्ता पनि उस्तै छ । सधैँ आर्थिक र सामाजिक रूपमा किनारामा पारिएको मुसहर समुदायका लागि यो आगलागी जीवन–मरणको सङ्कट बनेर आएको छ । भूमिहीन र दैनिक ज्यालादारीमा निर्भर यी परिवारहरू अहिले खुला आकाशमुनि आइपुगेका छन् । प्रहरीका अनुसार सोनी ऋषिदेव, प्रकाश ऋषिदेव, उतिम ऋषिदेव, उमा ऋषिदेव, सुनिल ऋषिदेव, राजकुमार ऋषिदेव, गेमु ऋषिदेव, चैता ऋषिदेव, कमलेस ऋषिदेव, रामदेवा ऋषिदेव र तिलकु ऋषिदेवका घर जलेर पूर्णरूपमा नष्ट भएका छन् ।

मोरङ प्रहरीका प्रवक्ता डिएसपी लीलाराज लामिछानेका अनुसार दिउँसो २ बजेतिर सुरु भएको आगो झुरुप्प परेका घरहरूका कारण तीव्ररूपमा फैलिएको थियो । “विराटनगर र सुनसरीबाट आएका दमकल, प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा त आयो तर त्यतिबेलासम्म ११ परिवारका सबै घर संरचना, खाद्यान्न र लत्ताकपडा नष्ट भइसकेका थिए”–डिएसपी लामिछानेले भने । प्रारम्भिक तथ्याङ्कअनुसार आगलागीबाट करिब एक करोड १७ लाख बराबरको क्षति भएको छ । विपद्को यो घडीमा बूढीगङ्गा गाउँपालिकाले पीडितहरूलाई तत्कालका लागि खाना, तन्ना, झुल र त्रिपालको व्यवस्था गरेको छ । गाउँपालिका अध्यक्ष जितनारायण थापामगरले भने, “तत्कालका लागि राहत वितरण गरेका छौँ । पीडितहरूको दीर्घकालीन पुनःस्थापनाका लागि कार्यपालिका बैठक बसेर ठोस निर्णय गर्ने तयारी गरिरहेका छौँ ।”