लुम्बिनी प्रदेश प्रमुख कार्यालयले मुख्यमन्त्री शंकर पोखरेलले पदबाट दिएको राजीनामा प्रदेश प्रमुख धर्मनाथप्रसाद यादवले स्वीकृत गरेको सार्वजनिक भएको छ ।
प्रदेश प्रमुखको कार्यालय लुम्बिनीका प्रवक्ता चिरञ्जिवी पौडेलद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा प्रदेश प्रमुख धर्मनाथप्रसाद यादव समक्ष पोखरेलले राजीनामा दिएको उल्लेख गरिएको छ । नेपालको संविधानको धारा १६९ (१) (क) अनुसार मुख्यमन्त्री पदबाट दिइएको राजीनामा आज वैशाख १९ गते प्रदेश प्रमुख यावदले स्विकृत गरिएको उल्लेख छ ।
प्रदेश प्रमुख यादवले संविधानबमोजिम अर्को व्यवस्था नभएसम्मका लागि मौजुदा मन्त्रिपरिषद्लाई प्रदेशको मन्त्रिपरिषद्को कार्यभार संचालन गर्न तोकेको व्यहोरासमेत प्रेस विज्ञप्तिमार्फत् जानकारी गराइएको छ ।
आजै प्रदेशसभाको विशेष अधिवशेनमा पोखरेलविरूद्ध अविश्वासको प्रस्ताव टेबल हुने तयारी भइरहँदा पोखरेलको राजीनामा आएको हो ।
मुख्यमन्त्री पोखरेलविरुद्ध प्रदेशसभा गत वैशाख ६ गते सचिवालयमा दर्ता भएको अविश्वासको प्रस्ताव आजकै बैठकमा पेश गर्ने शनिबारको कार्यव्यवस्था परामर्श समिति बैठकले निर्णय गरेको थियो ।
मुख्यमन्त्री पोखरेलले राजीनामा दिएपछि अहिले एमाले लुम्बिनी संसदीय दलको बैठक बसिरहेको छ ।
दाङ २ (क) बाट चुनाव जितेका पोखरेल २०७४ फागुन ३ गते मुख्यमन्त्री बनेका थिए।
लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशनमार्फत आज मुख्यमन्त्री शंकर पोखरेलविरूद्ध अविश्वासको प्रस्ताव अघि बढाइँदै छ । त्यसका लागि सभाको बैठक दिउँसो १ बजे डाकिएको छ ।
मुख्यमन्त्री पोखरेलविरुद्ध प्रदेशसभा गत वैशाख ६ गते सचिवालयमा दर्ता भएको अविश्वासको प्रस्ताव आजकै बैठकमा पेश हुने शनिबारको कार्यव्यवस्था परामर्श समितिको बैठकले निर्णय गरेको छ ।
नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता तथा मुख्यमन्त्रीमा प्रस्तावित कुलप्रसाद केसीले प्रस्ताव पेश गर्ने कार्यसूची छ । तर उनले राजीनामा नै दिएपछि अब यो कार्यसूचीअनुसार बैठक अघि नबढ्ने देखिएको छ ।
संवैधानिक व्यवस्था अनुसार पोखरेले ठूलो दलको हैसियतमा फेरि मुख्यमन्त्री नियुक्त हुन सक्ने समेत जनाइएको छ ।
नेपालको संविधान १६८ (१) बमोजिम सरकार बन्न सक्ने अनुमान गरिएको छ । बहुमत प्राप्त संसदीय दलको नेताका हैसियतले शंकर पोखरेल नै मुख्यमन्त्री हुन सक्ने विश्लेषण गरिएको छ । त्यसपछि २ वर्ष सम्म प्रदेश सरकारविरुद्ध अविश्वासको प्रस्ताव पेश गर्न पाइँदैन ।
८७ सदस्य रहेको प्रदेशसभामा हाल ८१ सांसद छन् । जसमा नेकपा एमालेसँग ४१ सांसद छन् । कांग्रेसका १९, माओवादी केन्द्रका १७, कारबाहीपछि जसपाका २ र राष्ट्रिय जनमोर्चाका १ सांसद छन् ।