विगतदेखि वर्तमानसम्म नेपाली जनतालाई हेर्ने हो भने कम्युनिष्ट पार्टीप्रति जबरजस्त समर्थन, आस्था, विश्वास देखिन्छ । हिजो पनि माओवादी–एमाले एकताका बेला नेपाल कम्युनिष्ट पार्टी एमालेप्रति नै नेपाली जनताको अगाध विश्वास थियो । त्यसैका आधारमा नेपालको कम्युनिष्ट पार्टी विशाल बनाउने भन्ने जनताका बीचमा कुरा राख्दा जनताको उत्साह र समर्थन पाइयो ।
माओवादीले हिजोको अवस्थामा अत्यन्तै बेठीक काम गरेकै हो । हामीले भनेकै हौं, नेपाल कम्युनिष्ट पार्टी एमालेका तर्फबाट पनि भनिएकै हो– तपाईंहरू हिंसात्मक आन्दोलनमा नजानुस्, शान्तिपूर्ण आन्दोलनमा आउनुस् । जुनसुकै पक्षका हुन्, १७ हजार मानिस मरे । उद्दण्डता, अराजकता मुलुकमा छाएकै हो । तर, पछिल्लो समय शान्तिपूर्ण आन्दोलनमा आइसकेपछि हिजोका कुरालाई बिर्सियो ।
प्रचण्ड कामरेड र केपी कामरेडलाई नेता बनाएर जाने सिलसिलामा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का धेरै लिडर र कार्यकर्ताले जिम्मेवारी पाएनन् । जिम्मेवारी नपाए पनि पार्टी ठूलो बनोस्, विशाल बनोस्, राम्रो बनोस्, नेपाली जनताका निम्ति हितको काम होस्, समृद्ध नेपाल बनोस् भन्ने जनआकाङ्क्षा थियो । सोहीअनुसार समर्थन गर्ने र यसलाई थप बलियो बनाउने हिसाबले हिँडियो ।
तर, कम्युनिष्ट पार्टीका लिडर भएर मात्रै पनि हुँदैन रहेछ । कम्युनिष्ट पार्टीका कार्यकर्तालाई हेर्नुस् त गोरु जोत्दै छ, गाईं चराउँदै छ, बाख्रा चराउँदैछ, तर कम्युनष्टि पार्टीको कार्यकर्ता छ । सूर्यमा भोट हालेको छ । कम्युनिष्ट पार्टीलाई मानेको छ । माक्र्सवादको ज्ञान लिएर कम्युनिष्ट बनेको होइन ऊ । खेतमा आली लाउँदैछ, भोट हाल्दैछ । गिट्टी कुट्दैछ, भोट हाल्दैछ । खलासीको जीवन बिताएको छ, हेल्परको जीवन बिताएको छ, ड्राइभरको जीवन बिताएको छ, कम्युनिष्ट पार्टीमा भोट हालेको छ । जनता नै जबरजस्त कम्युनिष्ट हुन् ।
सुख होस्, राम्रो होस्, उन्नति होस्, सहुलियत होस्, सबै जनताका छोराछोरी पढ्न लेख्न पाइयोस्, बिरामी पर्दा उपचार पाइयोस्, भन्ने जनताको आकाङ्क्षा हो । तर, नेताहरूमा त्यो देखिएन ।
जब कमरेड केपी ओली प्रधानमन्त्री बन्नुभयो, प्रधानमन्त्री बनेको केही समयदेखि नै उहाँलाई खेदो गर्ने काम भयो । आधाआधा प्रधानमन्त्री हुनुपर्ने, अध्यक्षबाट तुरुन्तै निस्किनु पर्ने, माधव कामरेड चुनावमा हार्नुभएको, उहाँलाई पनि अध्यक्ष बनिहाल्नु पर्ने । यस्ता विविध कुरा आए बजारमा ।
नेताहरू आम जनता र कार्यकर्ता जत्तिको पाकेका रहेनछन् । नपाक्नुका पछाडि यिनीहरूले नबुझेका होइनन्, बुझीबुझी बुझ पचाएका हुन् । यिनीहरु लोभी, लालची भएका हुन् । हिजो अध्यक्ष हुँदा हाइफाइ थियो । जुन मान आदि–इत्यादि थियो, त्यो तुरुन्त चाहियो । पर्खनै नसक्ने ।
कमरेड प्रचण्ड, माधव, झलनाथ लगायतका कामरेडहरू हिजो प्रधानमन्त्री हुनुभयो । पार्टीकै प्रमुख नेतृत्व भएका मान्छेले यस्तो गतिविधि गर्नु हुँदैनथ्यो । आम जनताले यो कुरा मानेनन् ।
बहुमतको नाममा राष्ट्रपतिलाई महाअभियोग लगाएर निकाल्ने, आफ्नै प्रधानमन्त्रीमाथि अविश्वासको प्रस्ताव हालेर निकाल्ने । यसै कारणले पनि प्रतिनिधि सभा विघटन गर्नुपर्ने कमरेड केपी ओलीलाई बाध्यता आयो ।
प्रधानमन्त्रीले पटक–पटक सर्वसाधारण जनताले पनि देख्ने गरी, सुन्ने गरी, बुझ्ने गरी भन्नुभएको थियो, ‘म अध्यक्ष छाडिदिन्छु तर, अहिले कहाँ छाड्नु ? बाटोमा त छाड्नु भएन, त्यसकारण ‘अर्ली अधिवेशन’ मा जाऔं न त, ‘अर्ली अधिवेशन’ भनेको विशेष अधिवेशन । दुई महिनाभित्र तयारी गरेर सकौं । त्यो अधिवेशनले नेतृत्वको मात्र छलफल गरे टुङ्ग्याऔं । समायावधि पुगेपछि महाधिवेशन गरेर नीति, विचारका सम्बन्धमा पास गरौं ।’ तर, त्यो पनि भएन । अहिले तत्काल छोड्नै पर्ने रे ।
दुवै पार्टीभित्र एक–अर्काको नेतृत्व स्वीकार गर्ने विषयमा भावनात्मक एकता बाँकी नै थियो । तलतलसम्म एउटा संयोजक र सचिवले पार्टी चलाउनु पर्ने अवस्था थियो । यस्तो अवस्थामा प्रधानमन्त्रीले पार्टीले भनेको नमानेको हो र ? अध्यादेश ल्याउनुभयो, फिर्ता गर्नुभयो । प्रचण्ड, माधव कामरेडका तर्फबाट पनि मन्त्री बनाउने सम्बन्धमा छलफल गरेरै गर्नुभयो । अनि केपी कामरेडले नमानेको कुरा के देखियो र ?
झलनाथ, प्रचण्ड, माधव कामरेडदेखि बाबुराम भट्टराईसम्म जति पनि प्रधानमन्त्रीहरू भए, ती प्रधानमन्त्रीको कार्यकाल र केपी ओलीको कार्यकालमा आकाश–जमिनको फरक छ । मैले बारम्बार भन्ने गरेको छु । पञ्चायती व्यवस्थाका मरिचमानसिंह श्रेष्ठ, सूर्यबहादुर थापाहरू सिंहदरबारबाट फर्किंदाको समय र यो २०४६ पछि वा लोकतन्त्र प्राप्तिपछि सिंहदरबारबाट फर्किने प्रधानमन्त्रीहरूको कार्यकालमा त अन्तर हुनुप¥यो नि । खै अन्तर ?
गिरिजाप्रसाद कोइरालाको स्टाइल र शेरबहादुर देउवाको स्टाइल, झलनाथ कामरेडको स्टाइल त उस्तै त रह्यो नि ? यिनीहरूले के चाहिँ गरेर फर्किए त ? जनताको सम्झनामा के चाहिँ छ ? यो चाहिँ नेपाली जनताले महसुस गर्नुप¥यो नि त ?
तर, कामरेड केपी ओली पछिल्लो समय पनि सिंहदरबारबाट कसरी फर्कनु भयो भन्ने सबै नेपाली जनताले बुझेका छन् । भारतीय नाकाबन्दीको सम्बन्धमा जुधेर फर्कनु भयो । यही कारणले उहाँले राजीनामा समेत दिनुपर्ने भयो ।
हामीलाई पनि जीवनको उत्तराद्र्धमा पुगेपछि थाहा भयो, लिपुलेक, कालापानी, लिम्पियाधुरा त नेपाली भू–भाग रहेछ । झलनाथ कामरेडको आँखामा किन परेन ? माधव कामरेडले किन देख्नुभएन, प्रचण्ड, बाबुरामले किन देख्नुभएन ?
केपी कामरेडले त्यो राष्ट्रवादी निर्णय गर्नुभयो । राष्ट्र, राष्ट्रियता, राष्ट्रिय अखण्डता, सार्वभौमसत्ताका विषयमा केपी कामरेड अडिग रहनुभयो । उहाँले भारतलाई सोध्नुभयो, ‘सत्यमेव जयते भनेर तिम्रा ढोकाढोकामा लेखेका छन्, तिमी सत्यमेव जयते हो कि होइन ? दुनियाँले देखेका छन्, हाम्रो कालापानी, लिपुलेक, लिम्पियाधुरालाई के गर्न खोजेको ? लिपुलेक भएर बाटो किन बनाएको ? त्यो त नेपाल राज्यको हो नि ?’
केपीले ‘तिमी सिंहमेव जयते हो कि ?’ सत्यमेव जयते ?’ भनेर प्रश्न गर्नुभयो । ‘यदि तिमी सत्यमेव जयते हो भने त्यहाँबाट तुरुन्त फर्क ।’
कमरेड केपी ओलीको अभिव्यक्ति बच्चाबच्चाले बुझेका छन् । उहाँको सुखी नेपाली, समृद्ध नेपालको चाहना, राष्ट्रियताको पक्षमा दृढतापूर्वक सतिसाल झैं उभिएको व्यक्तित्व आम सर्वसाधारणलाई थाहा भएको छ । माधव कामरेड, झलनाथ कामरेडहरूलाई चाहिँ यस्तो कुरा गरेबापत केपी कामरेडसँग रिस उठेको जस्तो न बुझियो । केपी कामरेडको अर्को गल्ती के भयो त ?
प्रधानमन्त्री हुने बित्तिकै एकैचोटी फ्याट्ट रेल आई नै त हाल्दैन । सुरुङ मार्ग पनि स्वाट्ट भइहाल्ने होइन । काम भइरहेको छ । मेलम्ची त काठमाडौंमा आइहाल्यो । उहाँहरु सबैलाई थाहा भएकै छ । यी विकास हुन् कि होइनन् ? राजनेताहरूले गर्न नसकेको काम कामरेड केपीले गर्नुभयो । अन्तर्राष्ट्रिस्तरमा उहाँको त्याग तपस्या देखिएको छ । लोभ, लालच नभएको नेताका रूपमा विश्वमा आफ्नो पहिचान कामरेड केपीले बनाउनुभएको छ । कामरेड केपीले भन्नुभयो, ‘मेरो जति पनि सम्पत्ति छन्, ती सबै नेपाल राज्यको हुनेछ ।’ सबैले सुन्ने, बुझ्ने गरी भन्नुभएको छ, उहाँले लेखेरै दिनुभएको छ ।
यो कुरा माधव कामरेड, झलनाथ कामरेडलाई थाहा छैन होला त ? अनि केपी कामरेड कसरी बेठीक ? पार्टीको सदस्य भएको नाताले, अध्यक्ष भएको नाताले, जिल्लाको नेता भएको नाताले कामरेड केपी ओलीलाई बुझ पचाएर गलत भन्लान् तर, नेपाली जनताले कहिल्यै पनि भन्ने छैनन् ।
कुनै पार्टीको नेता र पदमा बसेको मान्छेभन्दा यो समयमा नेपाली जनता नजान्ने, अबुझ हुनसक्छ ? कदापी सक्दैन । जनता सय विषयमा जानकार भएर बसेका छन् । अमेरिकी पोलिटिक्स कस्तो छ ? नेपालका राजनेता कस्ता छन्, सबै कुरामा जनता जानकार छन् । तर, नेपाली जनता व्यापार गरेर बसेका छन् । पेशा गरेर बसेका छन् । राजनीति गरेर हिंड्न भ्याउँदैनन् जनता । तर, ‘तिमी कति पानीमा छौ’ भन्ने कुरा नेपाली जनताले बुझेका छन् ।
माधव कामरेडले उठाएका विषय कस्ता छन् र केपी कामरेडले उठाएका विषय कस्ता छन् भनेर जनताले खुट्याउन सक्छन् । माथिका लिडरभन्दा तलका कार्यकर्ता हिजैदेखि अगाडि छन् । केहीकेही विषयमा ठूला भनाउँदा नेताहरुको अभिव्यक्ति सुन्नुस् त कति हाँस्यासपद छन् । टपक्क टिपेर राखिदिएको जस्तो ।
धरानकै सन्दर्भमा, नेपाल कम्युनिष्ट पार्टी एमालेका मान्छेले मनमोहन अधिकारीलाई पनि जिताएकै हो । लीलादेवी श्रेष्ठ, मनोजकुमार मेन्याङ्बो, ध्यानबहादुर राई, कुन्ता शर्मा, कृष्णकुमार राई सबैलाई बनाउने यही धराने जनता हुन् ।
२०६४ सालमा र पछिल्लो उपनिर्वाचनमा भने फरक नतिजा आयो । समय खहरे, भूमरीजस्तो भएर कहिलेकाहीँ आउँछ । पूर्वबाट आएजस्तो पनि देखिँदैन, पश्चिमतिर पनि देखिँदैन, सबै सखाप पारेर लान्छ । कहिलेकाहीँ समय कालखण्डमा यस्तो बेला पनि आउँछ ।
नेपाली जनता रिसाएका छन् । नेपाली जनताले यो एकतालाई भावनात्मक रूपमा लिएनन् र यो एकतालाई ठीक पनि मानेनन् । उहाँहरूको नियत खराब देखियो । हामीले नेता मान्दामान्दै पनि उहाँहरुले नेता नबन्ने बरव्यवहार देखाउनु भयो । तर, हामीले भन्दा पनि जनताले बुझेका रहेछन् ।
हामीलाई जनताले बारम्बार भनिरहेका थिए, खबरदारी गरिरहेका थिए । वास्तवमा यो एकता जरुरी नै थिएन । एउटा शान्तिपूर्ण आन्दोलनमा असल र इमान्दार भएर देखाउने एउटा तहको लिडरसँग केही–केही अपहरण गरेको मान्छे, चन्दा आतङ्क मच्चाएको मान्छेलाई नेता मान्नुपर्दा ठीक भएन । पार्टीले के गर्न सक्ला भन्ने जनताले प्रश्न उठाएका थिए ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) भनेको २० पाथी दूध पुग्नलाई एक चम्ची अपुग भएको अवस्था हो । तर, हामीले २० पाथी कम्युनिष्ट पु¥याउन एक चम्ची थप्न खोज्यौं । त्यो अमिलो रहेछ, सबै बिग्रियो । तथ्याङ्कले त्यस्तै बताएन र ?
सबै जित्दै, जित्दै आयौं, अब त झन् एकीकृत भएको, २० पाथी पुगेको अवस्था छ भन्नेमा थियौं तर, किन हारियो त ? कारण त्यही एक चम्ची अमिलो रहेछ ।
अझै पनि हामीले एकताका साथ अगाडि जाने हिजोको कुरालाई बिर्सिने भनेका थियौं । सबै शुद्ध भएर अगाडि जाने, हिजो एक समयमा बिग्रिनुभएको थियो, बेठीक भएको थियो, त्यो एक सयम कालखण्ड थियो । अब राम्रो भएर जाने एकताका साथ जाने भनिएको थियो तर, अदालतले मानेन ।
अदालतको निर्णयपछि हिजोदेखि जिम्मेवारी बहन गरेको मान्छे, संगठित मान्छे भन्दा पनि नेपाल कम्युनिष्ट पार्टी एमालेलाई अगाध स्नेह गर्ने, सूर्यलाई माया गर्ने मान्छे खुलेर आए ।
धरान हिजोको अवस्थामा भीम आचार्य, रमेश बस्नेतहरूको वर्चस्व भएको ठाउँ हो । उनीहरूले नेतृत्व गरेको भन्ने अर्थ लगाइन्थ्यो । कार्यकर्ता तहकाहरू आउँदैनन् कि ?, माधव कामरेड, भीम आचार्य, रमेश बस्नेत कामरेडहरू उता हुनुहुन्छ, खुलेर आउँदैनन् कि भन्ने थियो । तर, आम जनतालाई कामरेड केपी ओलीको विचार हामीले भन्नै परेन । पढाउनै परेन । हामीले सुनाउनै परेन ।
जनता गिट्टी कुट्दैछन्, बालुवा चाल्दैछन्, पर्खाल बनाउँदैछन्, तर कामरेड केपी ओलीका विचारले प्रेरित छन् । देशको अवस्था र माधव कामरेडहरूका कुरा सबै सुनिरहेका छन्, बुझिरहेका छन् । हामीले भन्दा पनि जनताले धेरै बुझेका छन् ।
हामीले धरानमा कमिटी निर्माण गर्ने क्रममा ५० जनाको कमिटी बनाउन खोज्दा २ सय बढी मान्छेले कमिटीमा आफ्नो उपस्थिति खोजिरहेका छन् । ‘हामी त कमिटीमा बस्ने हो’ भन्छन्, नेतृत्व दिनुप¥यो भन्छन् ।
हाम्रै मान्छेहरू सूर्य चिह्न के–कता हो ? भनेर अल्मलिएर पनि बस्नुभएको छ । तर, नयाँ नेतृत्व तीव्र गतिमा आइरहेको छ । यस कारण नेपाल कम्युनिष्ट पार्टी (एमाले) केपी ओलीको नामबाट होइन, कामबाट र विचारबाट निर्माण हुँदैछ ।
उहाँ ७० वर्ष पुगेको मान्छे । न छोराछोरी न परिवार न आफ्नै सम्पत्ति, बढाउने पक्षमा जानुभएको छ । उहाँ त नेपाली सुखी होउन्, समृद्ध होउन् भन्ने ढङ्गबाट अगाडि जानुभएको देखियो । विकास निर्माणलगायतका हरेक कुरा हेरौं । ०७२ सालमा देश लथालिङ्ग भएको थियो । ढलेको धरहरा नउठ्ला, धस्सिएको रानी पोखरी नबन्ला भन्ने थियो । तर, सबै बन्यो । प्रधानमन्त्रीका रूपमा कामरेड केपी ओलीले लिनुभएको प्रण पूरा भयो, हुँदैछ ।
केपी कामरेडको कामप्रति नेपाली जनता विश्वस्त छन् । लोभ, लालचबाट मुक्त भएको, राष्ट्रवादी नेताका रूपमा अन्तर्राष्ट्रिय समुदायमा परिचित भएको नेता हो उहाँ । लामो समय चाहिँदैन, मान्छेले जतिञ्जेल समय पाउँछ, सफेद काम गर्नु नै सबैभन्दा महŒवपूर्ण हुन्छ ।
पटक–पटक प्रधानमन्त्री हुनेहरूले उहाँको जस्तो केही काम गरे त ? कसैको सर्पकाण्ड, कसैको गधा काण्ड, कोहीको बाख्रा काण्ड, मूर्ति, हीरा, ललिता काण्ड । काण्डैकाण्ड । सबै पूर्व प्रधानमन्त्रीका वरिपरि अख्तियारले केपी कामरेडलाई राखेर खोजी गरोस् । केही खोट देखाउन सक्छ ? हामी च्यालेञ्ज गर्छौं । केपीले आफूसँग भएको त राज्यलाई दिन्छु भन्नुभएको छ । किन दुई नम्बरी गर्नु प¥यो ? केपी कुन ठाउँमा चुक्नुभएको छ ? छैन । ७ लाख सङ्गठित सदस्यबाहेक पनि आम सर्वसाधारण अहिले उहाँका कुरामा सहमत र खुसी हुनुहुन्छ ।
अब दुई पार्टी भइहाल्यो । प्रचण्ड कामरेडहरूले पनि पुराना कुरा बिर्सिएर आफ्नो पार्टीलाई सङ्गठित र सशक्त बनाएर जानु नै उत्तम हुन्छ । कुनै समय र कालखण्डमा कम्युनिष्ट पार्टीहरूबीच साँच्चीकै भावनात्मक एकता गर्ने गरी तयारी गर्दा राम्रो हुन्छ ।
माधव कामरेडहरू, झलनाथ कामरेडहरू हिजोको अवस्थामा हाम्रो लिडर हो । कुनै कालखण्डमा नेपाली जनताका निमित्त बहुतै देन दिनुभएको छ । कहिलेकाहीँ रक्सी पनि लिमिटमा खायो भने औषधि हुन्छ । हाम्रा बाबुबाजेले निरन्तर खानुभयो, औषधिका रूपमा खानुभयो । तर, धेरै खाएर मातियो भने नालीमा पुगिन्छ । यो राजनीति पनि त्यस्तै रहेछ । मेरो अन्दाजमा राजनीति पनि ठीक ढङ्गले बुझ्यो भने राजनेता भयो । बेठीक ढङ्गले बुझ्यो भने राजनीतिको पनि मात चढ्दो रहेछ । मात चढेपछि नालीको सुताइ पर्छ । उहाँहरूलाई पनि मात चढेको जस्तो देखिन्छ । आम नेपाली जनताले माया गरेका छन् । माया गर्दागर्दै पनि मात चढेर सडकतिर जानुभयो । नालीतिर जानुभयो ।
म साधारण कार्यकर्ताले ठूला नेतालाई होस् नगुमाउनु होस्, सप्रियोस् नै भन्छु । तर, कम्युनिष्ट पार्टीमा हामी सबैको लगानी छ । मैले केपी कामरेडको वकालत गरेको होइन, कामका आधारमा कुरा गरेको हो । उहाँहरूको पनि ठूलो लगानी छ । तर, यतिबेला मात्तिनु भयो । ०४६–४८ पछि खुरुखुरु उहाँहरूको बैङ्क खातामा राज्यको पैसा गएको छ । एक–दुई वर्ष गएन होला । उहाँहरू निरन्तर राज्यको पैसाले राजनीति गरिरहनुभएको छ । उहाँहरूभन्दा दुई–चार वर्ष कम, पछाडि लाग्ने हामीजस्ता मान्छे लाखौं छौं । एक रुपैयाँ राज्यको पैसा आउँदैन तर, कम्युनिष्ट पार्टी निर्माणका लागि कटिबद्ध छौं ।
यसकारण हाम्रो पनि औंला ठड्याएर बोल्ने ठाउँ छ । उहाँहरूलाई प्रधानमन्त्री, अध्यक्ष र निरन्तर नेता बनाउने मान्छे हामी पनि हौं । अहिले केपी कामरेड अध्यक्ष भएको २ वर्षमा फुत्त निस्किहाल्नु पर्छ भन्ने कुरा उठाउनु ठीक हो ? जायज हो ? होइन । उहाँहरूले सोच्नु पर्दैन ? हो, यस्तो दृष्टिकोण चाहिँ मातेको मान्छेले मात्र राख्ला । सज्जनले राख्दै राख्दैन । राजनीतिक मातबाट मुक्त हुनुहोस् ।
माधव नेपाललाई नेतै मानेका छौं । तर, माधव कामरेडलाई टेकेर भीम रावल, सुरेन्द्र पाण्डेहरू आफै नेता बन्न कुदिरहेका छन् । माधव कामरेडलाई देखाउँदै अराजनीतिक ढङ्गले आफ्ना कुराहरू लादेका छन् । गैरजिम्मेवारी ढङ्गले लागेकाहरूको कुरा माधव कामरेडले बुझ्नु पर्छ । अन्त्यमा, आम नेपाली जनताहरू, एमालेका कार्यकर्ताहरूले नेताहरू नमासिउन् भन्ने अपेक्षा राखेका छन् । हिजोको कुरालाई कोट्याएरै पनि भएन केपी कामरेडले उहाँहरूलाई धसाउँछु भन्ने विचार पक्कै राख्नुहुन्न । यदि उहाँले पनि त्यस्तो विचार राख्नुहुन्छ भने नराम्रो कुरा हो । अब फनक्क फर्किएर एक ठाउँ भएर अगाडि बढ्नु पर्छ । योभन्दा राम्रो कुरा नेपाली जनताका लागि हुँदैन । यति बिघ्न समस्याका बावजुद पनि कामरेड केपी ओलीको नेतृत्वमा मुलुक बनिरहेको छ, बन्नेछ । फेरि हिजोको कमी कमजोरीलाई परिपूर्ति गर्दै अगाडि बढौं, तपाईंहरू हिजो पनि लिडर हो, भोलि पनि लिडर बन्नु हुनेछ ।
यहीँका नेताहरूलाई पनि भन्छु, भीम आचार्यको वरिपरि घुमेका बेला नेता भयौं, अब हुँदैनौं भन्ने विचार नराख्नुस्, मान्छेको क्षमता, योग्यतालाई हेरिन्छ । तर, जनताको चाहना, आकाङ्क्षा विपरीत गइयो भने नेतृत्व लिन सकिन्न । अल्टर बनिएन भने लिडर बनिन्छ । यहाँहरू पनि तासे, जुवाडे, भ्रष्टाचारी होइन । हिजो पनि कम्युनिष्ट पार्टीको काम गर्नुभएको हो, कालखण्डले कहीँ कतै पु¥याए पनि ती सबै बिर्सिएर अगाडि बढौं । जनताले जिम्मेवार नेताको खोजी गरिरहेका छन् ।
(नवराज विष्टसँगको कुराकानीमा आधारित)