किरात राई जातिको आस्थाको केन्द्र, मुन्धुमी शक्ति केन्द्र कोशी नदीमा अवस्थित ‘खुवालुङ’ संरक्षणका लागि मुख्यमन्त्री शेरधन राईले पहलकदमी लिएका छन् ।

‘खुवालुङ’ को संरक्षणका  लागि प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले मंगलबार अवलोकन र निरीक्षण गर्ने कार्यक्रम रहेको छ । अवलोकनका क्रममा मुख्यमन्त्री राईले त्यहाँका आदिवासी जनजातिहरु र खुवालुङका विषयमा प्रदेश सरकारको धारणा प्रष्ट रुपमा राख्ने कार्यक्रम रहेको मुख्यमन्त्रीको सचिवालयले जानकारी दिएको छ । 

आदिम संस्कृति, सभ्यता र पुरातात्विक वस्तुको संरक्षण र प्रवद्र्धनमा मुख्यमन्त्री राईको नेतृत्वमा रहेको प्रदेश सरकार दृढतापूर्वक उभिएकाले किरात सभ्यताको प्रतीक र आस्थाको धरोहर ‘खुवालुङ’ को विशिष्ट संरक्षण हुने मुख्यमन्त्रीको सचिवालयले जनाएको छ । 

‘खुवालुङ’ का विषयमा संघीय सरकार, प्रदेश सरकारको भूमिकालाई  अतिरञ्जित हुने गरी अनावश्यक टिक्काटिप्पणी भइरहेको मुख्यमन्त्री निकट स्रोतले जनाएको छ । सचिवालयका एक सदस्यले भने, ‘खुवालुङलाई लिएर अनावश्यक राजनीतिकरण भइरहेकाले मुख्यमन्त्रीले सोही ठाउँमा पुगेर स्थानीयलाई सम्बोधन गर्दै प्रदेश सरकारको स्पष्ट धारणा र खुवालुङ संरक्षणको अभिभाराबारे बोल्नु हुनेछ ।’

मुख्यमन्त्रीका प्रेस संयोजक ध्रुव सुवेदीले कार्यक्रम आज १२ः३० मा ‘खुवालुङ’ अवस्थित क्षेत्रमा आयोजना गरिएको बताए ।

के हो ‘खुवालुङ’

‘खुवालुङ’ कोशी नदीको बीच भागमा रहेको प्राचीन, प्रागैतिहासिक ढुङ्गा हो । सुनसरीको वराहक्षेत्रदेखि उत्तरपट्टी कोशी नदीको बीचमा यसको अवस्थिति छ । सुनसरी, उदयपुर र भोजपुर जिल्लाको सिमानालाई छोएर बग्ने अरूण नदीको मिलनबिन्दुमा पर्ने त्रिवेणी भन्ने स्थानमा ‘खुवालुङ’ रहेको छ । 

बहुभाषिक किरात राईहरुले यसलाई विभिन्न नामले पुकार्ने गरेका छन् । खुवालुङ, खोक्वालुङ, वालुङ, सायालुङ, माङलुङ भनेर सम्बोधन गरिने किरात राई अभियानताहरु बताउँछन् । ‘खुवा’ ‘वा’ को शाब्दिक अर्थ ‘पानी’ र ‘लुङ’ शब्दले ‘ढुंगा’ जनाउँछ । यसैगरी ‘साया’ भनेको पवित्रता र  ‘माङ’ भनेको ‘देवता’ । तसर्थ यो ढुङ्गा प्राचीन, पवित्र र पूज्य रहेको विश्वास गरिन्छ ।