(सम्पादकीय )
पार्टी बीच एकता के कति आवश्यक छ भन्नेमा पार्टी नेताहरुलाई थाहा भए तापनि एक हुन नसक्ता जनता अन्योलमा छ । शोषित पीडित जनताको आस्था केन्द
कम्युनष्टि पार्टी नै रहेको छ तर कम्युनष्टि पार्टी विभिन्न चिरामा विभाजित हुनु र एकताको आवाज उठिरहेको अवस्थामा अर्को कम्युनटि पार्टी बन्नु कम आश्चर्य नहोला ।
३० वर्षको पञ्चायती अन्धकार उकुसमुकुस र क्रुर अत्याचारबाट नेपाली जनताले आफूलाई मूक्त भएको अनुभव गर्न थालेको छ । प्रजातन्त्र प्राप्त भएपछि सर्वत्र व्याप्त षडयन्त्र, कुटिलता, पार्टीबीच हानाथाप हुँदा नवोदित प्रजातन्त्रलाई नै निल्ने मौका प्रतिगामी तत्वले पाएको छ ।
नेपालमा जसरी हुन्छ कम्युनिष्टलाई खतम गर्न राष्ट्रिय र अन्तर्राष्ट्रिय शक्ति सक्रिय रहेको छ । यस्तो गहनतम समयमा पनि एकीकृत कम्युनष्टि पार्टी निम्ति ठोस कदम चाल्न नसक्नु दुःख लाग्दो छ ।
नेपाली कम्युनिष्ट एकता प्रवर्धन मञ्चद्वारा आयोजित गोष्ठी र परिचयात्मक कार्यक्रममा पनि एकताको लागि दबाव दिनु पर्ने आवाज उठेको छ । मञ्चको कार्यकर्ता विभिन्न जिल्लामा भ्रमण गर्दा जिल्लास्तरीय पार्टी कार्यकर्ताको भेलाले कम्युनष्टि पार्टी एक हुनुपर्ने प्रस्ताव समेत केन्द्रमा पठाएको जानकारीमा आएको छ । पार्टी नेताहरुले पनि कम्युनिष्टहरुबीच एकता कायम गर्नुपर्दछ र कम्युनिष्टहरु फुटेमा प्रजातन्त्र विरोधीले अवसर पाउने भाषण गर्दछन् तर व्यवहारमा एकता निम्ति गहकिलो कदम चाल्न सकेको छैन ।
आपसी तनाव, आन्तरिक द्वन्द्व र सैद्धान्तिक आडमा फजुलको कलहले प्रतिगामी तत्वलाई नै सघाउ पुर्याएको छ । केही तत्व वामहरुलाई खुलेआम विभिन्न आक्षेप र निन्दा गर्न पनि पछि परेको छैन । यस्तो स्थितिमा वाम एकता नभएमा अस्तित्वको नै खतरा हुने वास्तविकतालाई बुझ्न जरुरी छ । कम्युनष्टि पार्टीको फुटले जनतामा नैराश्य छाएको छ । कुन कम्युनिष्ट पार्टी ठीक छ बुझ्न जनता अन्योलमा छ । वैचारिक र कार्यशैलीमा खास भिन्नता नभएको कम्युनिष्ट पार्टी बीच एकता हुन आज आवश्यकता छ अन्यथा भावी संविधानअनुरुप चुनावमा ५ प्रतिशत पनि मत पाउन नसक्ने स्थिति पुगेमा टुक्रिएको पार्टी स्वतः विलिन हुनुपर्ने छ ।
तसर्थ जनताको पवित्र मनोभावना र चाहनालाई कदर गर्दै वाममोर्चाको अध्यक्ष र पार्टी नेताहरुले अहम्को भावना नलिई पार्टी एकीकरण गर्ने दिशातर्फ इमान्दारिताका साथ कदम चाल्नु जरुरी छ । नेपाली जनमानसकै एउटै आवाज छ कि कम्युनिष्ट पार्टी एक नभएमा ०१७ साल दोहोरिएर पाएको प्रजातन्त्र पनि खोसिने छ । त्यसैले आज विभिन्न चिरामा विभाजित कम्युनिष्ट पार्टीहरुबीच हुन सके यौटै ढिको पार्टी, हुन नसके वैचारिक र कार्यशैली मिल्दो पार्टीहरुमा तीनवटा कम्युनिष्ट पार्टी हुनुपर्ने भन्ने जनचित्कारलाई वेवास्ता गरेमा नेताहरुलाई जनताले सरापने छ र जनताबाट नै उपेक्षित हुनु पर्ने छ ।
उपर्युक्त आलेख २०४७ सालमा प्रकाशित एकता बुलेटिनबाट लिएको हो । नेपाली कम्युनिष्ट एकता प्रवर्धन मञ्चले प्रकाशित गरेको यो बुलेटिनको मिसन तत्कालीन वाम एकता गर्नुथियो । आनन्ददेव भट्ट, शंकर लयाल, शिवप्रसाद भट्टराई, ईश्वर रिजाल, कृष्णप्रसाद आचार्यलगायतको सम्पादनमण्डलले बुलेटिन प्रकाशित गरेको थियो ।
प्रकाशन मितिः वर्ष १ अंक ३/४ संयुक्त २०४७ श्रावण, भाद्र, आश्विन