प्रतिनिधि सभा पुनस्थापनापछि आज पहिलो पटक आज संसद् बैठक बस्ने भएको छ ।  

मन्त्रिपरिषदको फागुन १७ को बैठकको निर्णय र सिफारिसअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले आजका लागि संसदको हिउँदे अधिवेशन बोलाएकी छन् ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आधिकारिकताका विषयमा विवाद भएपछि  दुुवै पक्षले आ–आफ्ना संसदीय दलका नेता र प्रमुख सचेत घोषणा गरेका छन् । राजनीतिक दल र आम जनताले आजको बैठकलाई निकै चासोका साथ हेरेका छन् । 

नेकपा प्रचण्ड–माधव समूहका नेताहरु प्रधानमन्त्रीको राजीनामा दिए हुने भन्ने मनसायमा छन् । प्रधानमन्त्रीले राजीनामा नदिए अविश्वासको प्रस्ताव अगाडि बढाउने  समूहको तयारी छ । ओली पक्ष भने राजीनामा नदिने र अविश्वास प्रस्ताव आए सामना गर्ने तयारीमा रहेको देखिन्छ ।

बैठकमा सभामुखसहित २७० सांसद सहभागी हुुने छन् । विधेयक अधिवेशनका रुपमा रहने यो हिउँदे अधिवेशनले प्रतिनिधिसभामा विचाराधीन रहेका ३८ विधेयकलाई अघि बढाउन सक्ने कार्यदेश छ ।

अधिवेशन सञ्चालन गर्न अपनाउनुुुपर्ने स्वास्थ्य मापदण्ड, प्राविधिक तथा भौतिक पूर्वाधार व्यवस्थापनको पूूर्ण तयारी पूरा भएको संसद सचिवालयका प्रवक्ता डा रोजनाथ पाण्डेले जानकारी दिए । सचिवालयले गत पुुसमै अधिवेशनका लागि आवश्यक तयारी गरिसकेकाले अहिले सामान्य सरसफाइ र कोभिड–१९ निःसंक्रमणको व्यवस्थापन गरिएको उनले बताए ।

सर्वाेच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापनाको आदेश गरेपछि प्रतिनिधिसभाको सातौं अधिवेशन बस्न लागेको हो । यसअघि नेकपाभित्रको विवाद तीव्र भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुुस ५ गते प्रतिनिधिसभा भङ्ग गरी निर्वाचनको घोषणा गरेका थिए ।

संघीय संसद्को वर्षे र हिउँदे अधिवेशनबीच ६ महिनाभन्दा बढी समय अन्तराल हुुन नहुने संवैधानिक व्यवस्था छ । प्रतिनिधिसभाको छैटौं अधिवेशन गत असार १७ गते अन्त्य भएको थियो । राष्ट्रियसभाको सातौं अधिवेशन भने पुुस १७ गते नै आह्वान भई केही दिन चलेपछि अन्त्य भएको थियो ।