धरान/ नेपाली फिल्म क्षेत्रमा आफ्नो समयका चर्चित अभिनेता शिव श्रेष्ठले अभिनय गर्न थालेको ४० वर्ष नाघिसक्यो । तर अहिले पनि उनको जोस जाँगर उत्तिकै छ । फिल्म निर्माण र अभिनयमा सक्रिय बनिरहेका शिव भन्छन् ‘फिल्म जीवन रहेसम्म छाड्दिन ।’

सन् १९५४ मा काठमाडौंमा जन्मिएका शिवसुन्दर श्रेष्ठ अध्ययनका क्रममा विराटनगर आइपुगेका थिए । उनको रुचि खेलकुदमा थियो । फुटबल, भलिबलदेखि कुस्तीका प्रतियोगिताहरूमा धेरै पटक भिडेका उनको विराटनगरमा आफ्नै सान थियो । शिवको क्यारामबोर्ड खेल्ने अड्डा विराटनगरको फिल्महल छेउमै थियो ।

एकदिन उनी क्यारामबोर्ड खेलिरहेका बेला नजिकैको फिल्महलमा चलिरहेको चलचित्र ‘सिन्दुर’ का निर्देशक प्रकाश थापा आइपुगे । साथीको लहैलहैमा शिव पनि प्रकाशलाई भेट्न पुगे । पहिलो भेटमै निर्देशक थापाले शिवलाई अभिनयको प्रस्ताव गरे ।

सन् १९८० मा प्रकाशको फिल्म ‘जीवन रेखा’ को ‘हिरो’ बने शिव । त्यो नै उनको पहिलो फिल्म थियो । आफूले अभिनय गरेको पहिलो फिल्म हेर्दा शिव अचम्ममा परे, किनकि उनले फिल्ममा आफ्नो नाम देखेनछन् । ‘फिल्ममा आफूले गरेको अभिनय त जोडदार लाग्यो तर आफ्नो नामै नदेख्दा खल्लो लागेको थियो ।’ उनी त्यसबेलाको रमाइलो सम्झिन्छन्, ‘निर्देशकले त मेरो नामबाट सुन्दर हटाइदिनु भएछ ।’

त्यही फिल्मपछि शिवसुन्दर श्रेष्ठबाट उनी ‘शिव श्रेष्ठ’ का रूपमा चिनिए । फिल्म हिट भयो शिव सुपरहिट भए । निर्देशक प्रकाश थापाले उनको नामबाट त सुन्दर हटाइदिए तर उनको जीवन यात्रा भने अझै सुन्दर भयो, एउटा सफल अभिनेताका रूपमा । त्यसपछिका दिनमा उनको परिचय सानदार बन्यो । नेपाली फिल्मजगत्का एक हस्ति शिव आफूलाई विराटनगरले अभिनेता बनाएको मान्छन् । उनले सुनाए, ‘म विराटनगरमा नआएको भए प्रकाश थापासँग भेट हुन्थ्यो, हुन्नथ्यो । फिल्ममा आउने योजनै थिएन । बरु कुस्तीवाज बन्थे होला ।’

शिवले नेपाली फिल्ममा जीवनदेखा, ट्रक ड्राइभर, ठुल्दाइलगायतका धेरै फिल्ममा अभिनय गरे । नेपाली मात्र होइन उनले पाकिस्तानी उर्दु फिल्ममा पनि काम गरे । एक समय उनी पाकिस्तानमै लामो समय बसे । पाकिस्तानमा पनि उनको बेग्लै पहिचान बनिसकेको थियो । उतै स्टारडम कमाइरहेका बेला तत्कालीन राजा वीरेन्द्रले आफ्नै देशमा फर्किन आग्रह गरेपछि आफू फर्किएको उनी बताउँछन् । त्यसयता भने उनी लगातार फिल्ममै काम गरिरहेका छन् । चार दशकमा उनले डेढ सयभन्दा बढी फिल्ममा काम गरिसकेका छन् । अहिले पनि उनी चलचित्रकर्ममा सक्रिय छन् । शिव भन्छन्, ‘त्यसबेला राजा वीरेन्द्रसँग भेट नभएको भए म उतै स्थापित भएर बस्थे होला । तर आफ्नै देशमा फर्किएर काम गर्न पाउँदा खुसी छु ।’

शिवले फिल्म अभिनयका क्रममा जीवनमा धेरै अवार्डहरू जितेका छन् । सन् २०१४ मा हङ्कङमा भएको इन्टरनेशनल नेपाल फिल्म अवार्ड (इन्फा) मा शिवलाई ‘सर्वश्रेष्ठ नायक’ को उपाधिसहित विशेष सम्मान प्रदान गरिएको थियो । हङ्कङको यो यात्रा उनलाई जीवनको अविष्मरणीय मध्ये एक लाग्छ । उनी भन्छन्, ‘हामी एउटै प्लेनमा ७१ जनाको टिम आएका थियौं । प्लेनभरि सबै चिनजानका कलाकार र अन्य व्यक्ति हुँदा बेग्लै रमाइलो लाग्यो । धरानका युवा व्यवसायी सम्राट श्रेष्ठका कारण हङ्कङमा पनि घुमघाम, भेटघाट र समग्र यात्रा रमाइलो भयो । त्यो क्षण मेरो दिमागबाट अहिल्यै मेटिँदैन ।’

शिव आफैले कथा लेखेको र अभिनय गरेको फिल्म ‘एउटा यस्तो प्रेम कहानी’ गत महिना रिजिल भयो । उनी जत्तिकै फिल्म क्षेत्र बुझेको व्यक्तिले बनाएको फिल्मबाट दर्शकहरूले भने अपेक्षाअनुरूपको सन्तुष्टि पाउन सकेनन् । तर पनि कोरोना महामारीले बन्द रहेका नेपालका फिल्महलहरू यही फिल्मले खोलिदियो । शिवले नेपाली फिल्म क्षेत्रमा बिताएको उर्जाशील समय र अहिलेको समय आकाश पातालकै फरक छ । फिल्मका दर्शकहरूका स्वाद फेरिएका छन् । अझ भनौं निर्माता, अभिनेताभन्दा दर्शक चलाख भइरहेका छन् । यस्तो अवस्थामा पुरानै शैलीका फिल्म बनाउँदा दर्शकले मन पराउँदैनन् । जे भए पनि चार दशकसम्म एउटै क्षेत्रमा सक्रिय बन्न सक्नु चानचुने होइन ।