विराटनगर/ मोरङका कटहरी गाउँपालिका–२ कदमगछियाका धर्मलाल सिंहले ९ बिघा क्षेत्रफलमा खेती गर्दै आएका छन् । उनले ५ बिघामा मकै र ४ बिघामा गहँु लगाएका छन् । उनलाई अहिले उत्पादन घट्ने चिन्ताले सताएको छ । रोपाइँ गर्ने बेलादेखि मलको अभाव झेलेकाले उनलाई यसपटक खाद्यान्न उत्पादनमा गिरावट आउने चिन्ताले सताएको बताए । 

उनले गहुँ छर्ने र मकै गोडमेल गर्नुपर्ने बेलामा मल नपाएको गुनासो गरे । ‘अहिलेको जस्तो दुःख त कहिल्यै भएन’ उनले भने, ‘रोप्ने बेलामा पनि मल थिएन, गोडमेल गर्ने बेलामा पनि मल छैन ।’ खेतीको सिजनमा मल नपाएपछि कटहरी गाउँपालिकाभित्रका किसानहरू भेला भएर बुधबार विरोध प्रदर्शन गरेका छन् । उनीहरूले राज्यले किसानलाई खेतीको बेला सहज रूपमा मलखाद र बिउविजन उपलब्ध गराउनुपर्ने माग राख्दै विरोध प्रदर्शन गरेका हुन् ।

विरोध प्रदर्शनको नेतृत्व ग्रामीण नागरिक विकास समाज कटहरी–२ का अध्यक्ष निजाम खानले गरेका थिए । राज्यले खेतीको बेलामा मलखाद उपलब्ध गराउन नसक्दा किसानको उत्पादन घट्ने भएकोले आगामी दिनमा सहज रूपमा मलखाद र बिउविजन उपलब्ध गराउन माग राखे । ‘खेतीको सिजनको बेला मलखादको चरम अभाव हुने गरेको छ’ उनले भने, ‘राज्यले बेलैमा किसानको मागको सुनुवाइ गरिनु पर्दछ । बेलैमा किसानलाई आवश्यक पर्ने मल स्टक गरी राखिदिनुपर्दछ । चाहिएको बेलामा किसानलाई मल र बिउविजन दिनुपर्छ ।’ 

कार्यक्रममा कटहरी–२ का कृषक सत्यनारायण सिंहले तीन तहको सरकारले कृषिबजार व्यवस्थापन नगरिदिँदा सस्तोमा कृषिउपज बिक्रीवितरण गर्नुपरेको गुनासो गरे । कृषक सिंहले २ बिघा क्षेत्रफलमा तरकारी खेती गर्दै आएका छन् ।

स्थानीय सरकारले कृषि बजारलाई व्यवस्थापन नगर्दा बिचौलियाले बोलेको भाउमा तरकारी बिक्री गर्नुपरेको गुनासो सुनाए । ‘१६ कठ्ठा क्षेत्रफलमा बन्दाकोपीको खेती गर्दै आएको छु’ उनले सुनाए, ‘अहिले कटहरी बजारमा व्यवस्थित कृषिबजार सञ्चालनमा नआउँदा ५ रुपैयाँ केजीमा बन्दाकोपी बिक्री गर्नुपरेको छ ।’ व्यवस्थित रूपमा कृषिबजार भएको भए स्थानीय उत्पादन कृषिबजारमा लगेर बिक्री गर्न पाउने उनले बताए । कटहरीका अर्का कृषक धर्मलाल सिंहले वास्तविक किसानले अनुदान र कर्जा नपाउने गरेको गुनासो पोखे ।

‘अहिले वास्तविक किसानले राज्यले दिने अनुदान र कृषि कर्जा पनि नपाउने गरेको समस्या रहेको छ’ उनले भने, ‘बैङ्कमा कृषि कर्जा लिन जाँदा धेरै झन्झट र थुपै्र बाधा अड्चनहरू रहेको छ । यसमा नेपाल राष्ट्र बैङ्कले समन्वयकारी भूमिका खेलिदिनुपर्छ ।’ किसानले पाउने कृषि कर्जा सहज रूपमा उपलब्ध गराएर कृषकको लगानीको सुरक्षा राज्यले गरिदिनुपर्ने उनले बताए । 

कार्यक्रममा कटहरी गाउँपालिकाका अध्यक्ष रामकुमार कामतले किसानले उत्पादन गरको खाद्यवस्तुको बजारीकरणको लागि स्थानीय सरकारले पहल गर्ने बताए । उनले आधुनिक खेती प्रणालीमा जोड दिँदै कटहरी गाउँपालिकाभित्रका कृषकहरूलाई बिउविजन पनि दिँदै आएको बताए । कार्यक्रममा सगरमाथा युवा क्लबका अध्यक्ष प्रकाश मण्डलले राज्यले किसानले उत्पादन गरेको कृषिजन्य वस्तुको बिक्री वितरणको लागि बजारीकरणको भूमिका खेलिदिनुपर्ने बताए ।