विजयपुर/ भोजपुरको टेम्के मैयुङ गाउँपालिका–८ धाइपाका कमल भट्टराई विगत ३ वर्षदेखि बाख्रापालन व्यवसायमा लागेका छन् । ३ वर्षअगाडि ६० हजारको लगानीमा ९ वटा बाख्रा किनेर व्यवसाय शुरुवात गरेका थिए ।

३ वर्षदेखि उनी बिहानै उठेर बाख्राको खोरमा पुग्छन् । बाख्राहरूको हेरचाह गर्छन् । उनको दैनिकी नै यसरी बित्ने सुनाए । उनले बाख्रा ७० वटासम्म पालेका थिए । उनीसँग अहिले १७ वटा माउ बाख्रासहित ३६ वटा बाख्रा रहेका छन् । उनी भन्छन्, ‘बाख्रालगायत पशुपालन गर्न चरनको अभाव रहेको छ ।’ चरनको अभाव भएका कारणले ५०–६० रोपनी जग्गा चरनको लागि भाडामा लिएका छन् । उनको चरनक्षेत्र आफ्नो बाख्राको खोर भएको स्थानदेखि करिब ३० मिनेट टाढा रहेको बताउँछन् । उनले सामुदायिक वनमा चराउने ठाउँ भए पनि नपाएको गुनासो गरेका छन् । उनले सामान्य लगानीमा शुरु गरेको व्यवसाय अहिले बढाउँदै लगेका छन् । उनले १ लाख ५० हजारको लगानीमा २० वटा बाख्रा अट्ने आधुनिक बाख्राको खोर बनाउँदै छन् ।

उनको लागि यो पर्याप्त भने होइन । उनले रकम नभएकाले अहिले २० वटा मात्र अट्ने खोर बनाएको बताए । उनले श्रीमती उर्मिला भट्टराईको सहयोगमा व्यवसाय गर्दै आएका छन् । ५० वटाभन्दा बढी बाख्रा भएपछि २ जनाले व्यवस्थापन गर्न नसकिने उनको अनुभव छ । उनकी पत्नी उर्मिला भन्छिन्, ‘अब गरिखानको लागि व्यवसायको विकल्प छैन ।’ उनले वार्षिक ३ लाखको हाराहारीमा कमाउँदै आएका छन् । कमल वैदेशिक रोजगारमा जानुभन्दा स्वदेशमै व्यवसायमा लाग्नु राम्रो रहेको बताउँछन् । कमल भन्छन्, ‘सामान्य तलबमा वैदेशिक रोजगारमा गएर कमाए जति घरमा परिवारसँगै बसेर कमाइरहेको छु ।’

त्यस्तै टेम्के मैयुङ गाउँपालिका–८ सल्लेनीका विनोद भारती ८ वर्ष वैदेशिक रोजगारमा गएर फर्केपछि बाख्रापालनमा लागेका छन् । उनले ऋण लिएर वैदेशिक रोजगारमा जानुभन्दा आफ्नै घरमा व्यवसाय शुरुवात गर्नु राम्रो रहेको बताए । उनले ८ वर्ष विदेशमा काम गर्दा खासै उपलब्धि नभएपछि ३ वर्ष पहिलेबाट बाख्रापालन व्यवसाय शुरु गरेको बताए । उनी भन्छन्, ‘विदेशमा जति यहीँ पनि कमाउन सकिने रहेछ ।’ उनले थपे, ‘परिवारसँग बसेर वार्षिक ३ लाख जति कमाइ हुँदैछ, यो विदेशको जति नै हो ।’

त्यस्तै टेम्के मैयुङ गाउँपालिका–८ गोगनेका तेजप्रसाद फुयाल पनि ६ वर्ष वैदेशिक रोजगार गरेर गाउँ फर्किएका थिए । उनी फेरि वैदेशिक रोजगारीका लागि दुबई जानका लागि २ लाख १ हजार रुपैयाँ लगानी गरेर ठीक परेका थिए । उनले भिसा पनि पाएका थिए । तर, कोरोना भाइरसबाट बच्न सरकारले लगाएको लकडाउनले गर्दा वैदेशिक रोजगारमा जान पाएनन् । उनको २ लाख १३ हजार रुपैयाँ फस्यो । वैदेशिक रोजगारीमा रहेका पनि स्वदेश फर्किन थालेपछि उनले विदेश जाने सपना छोडेर व्यवसाय शुरुवात गरे । उनी भन्छन्, ‘मैले अब विदेश नजाने निर्णय गरेर व्यवसाय शुरुवात गरेँ ।’

उनले ३ लाख लगानी गरेर २८ वटा बाख्रा पाल्न शुरु गरेका छन् । उनले अझै बढाएर व्यवसाय गर्ने इच्छा भए पनि चरनको अभाव रहेको बताए । उनले सरकारबाट पनि केही अनुदान पाइन्छ कि भन्ने आशा गरेको पनि बताए । उनको नजिकमा रहेको सामुदायिक वनमा पनि बाख्रा चराउन नपाउनाले थप समस्या भएको बताए । वनमा चरनबाट बञ्चित गर्नु भनेको सरकारको युवालाई कृषिमा प्रोत्साहन गर्ने रणनीतिको विपरीत भएको उनले दाबी गरे । सरकारबाट पनि केही राहत पाउनु पर्ने उनको माग रहेको छ । खाली जग्गा लिजमा लिएर चरन क्षेत्र बनाउने हो कि भन्ने सोचिरहेको उनले बताए ।

त्यस्तै वडा नं. ६ ओखरबोटेका सीताराम लुइटेलले ४ वर्ष पहिलेदेखि बोइलर कुखुराको फर्म सञ्चालन गर्दै आएका छन् । उनले ५५ हजारको लगानीमा व्यवसाय शुरु गरेका थिए । उनको फर्ममा अहिले पनि १ सय बोइलर कुखुरा रहेका छन् । तर, अहिले बोइलर कुखुराले बजार नपाउँदा समस्या भएको बताए ।

यस विषयमा सोही वडाका अध्यक्ष कृष्णबहादुर बानियाँसँग जिज्ञासा राख्दा वडामा धेरै फर्म भएकाले समस्या भएको बताए । उनले कृषिमा लगानी गर्ने व्यवसायीलाई प्रोत्साहन गर्ने बताए । साथै गाउँपालिकाबाट हुने अनुदानका कार्यक्रममा वास्तविक कृषक वा व्यवसायी छनौट गरेर सिफारिस गर्ने बताए ।

टेम्के मैयुङ गाउपालिका वडा नं.–८ मा चालु आर्थिक वर्षमा मात्र १३ वटा कृषि फलफुल तथा पशुपालन फर्म दर्ता भएको वडा नं.–८ सुचना अधिकारी सिताराम लुइटेलले जानकारी दिएका छन् । यो भन्दा अगाडी यो ८ नं. वडा जम्मा १० वटा मात्रै फर्महरु दर्ता भएको अधिकारी लुइटेलले जानकारी दिए । उनकाअनुसार केहिले व्यवसाय दर्ता मात्रै गरेका छन् भने केहिले व्यवसाय सञ्चालन गरेर आम्दानी गर्न थालेका छन् । व्यवसायी किन ह्वात्तै बढे भन्ने प्रश्नमा अध्यक्ष बानिया कृषिमा अनुदान दिने हुनाले पनि बृद्धि भएको वताउँछन् । उनले भने, ‘आफु कृषि गर्ने र अनुदान पनि पाउने हुनाले आकर्षित भए ।’ साथै कोरोना भाइरसका कारण अन्य पेसा व्यवसायबाट विस्थापित भएपछि कृषिमा लाग्न थालेपछि पनि फर्म दर्ता बढि भएको उनको भनाइ रेहको छ ।