विजयपुर । अरबी पात्रो हिजरी संवतअनुसार नवौँ महिनामा निराहार व्रत गरेका देशभरका मुस्लिम समुदायले विशेष नमाज पाठ गरी ठूलाबडाबाट आशीर्वाद लिएर आज इद उल फित्र पर्व मनाउँदै छन् ।

आज विशेष नमाज पाठ गरेपछि तीन दिनसम्म आफूभन्दा ठूला बडाकहाँ गएर आशीर्वाद लिइन्छ । यस पर्वमा आफूभन्दा सानालाई आशीर्वाद दिने गरिन्छ । आशीर्वाद लिन आउने आफन्तलाई सेवई, खजुर लगायत मीठा खानेकुरा खान दिने चलन छ ।

गरीबलाई बाँडिने भएकाले यो पर्वलाई इद उल फित्र भनिएको हो । अरबी पात्रो अनुसार नवौँ महिनाको अन्तिम दिन चन्द्रमा देखिएपछि इद उल फित्र मनाउने कार्यक्रम तय हुने मुस्लिम धर्मावलम्बी एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य अब्दुल सतारले बताए ।

शनिबार बिहान नेपाली जामे मस्जिद घन्टाघरलगायत देशभरका मस्जिदमा विशेष नमाज पाठ गरिनेछ । त्यसपछि ठूलाबडाकहाँ आशीर्वाद लिने क्रम सुरु हुन्छ । यो पर्वको अर्को उल्लेखनीय पक्ष दीन दुःखी र गरीबलाई दान दिनु हो । यसैगरी घण्टाघरमै रहेको काश्मि मस्जिदलगायत देशभरका मस्जिद र इदगाहमा पनि विशेष कार्यक्रमका साथ नमाज पाठ गरिन्छ ।

यस पर्वमा मुस्लिम धर्मावलम्बीले एक वर्षभित्रको बचतको साढे दुई प्रतिशत नगद वा जिन्सी दान गर्नुपर्ने विधान मुस्लिम धर्मग्रन्थ कुरानमा उल्लेख गरिएको पनि उनको भनाई छ । यसरी दान गरिएको नगद वा जिन्सी दीन दुःखी एवम् गरीबलाई बाँडिन्छ । यसलाई जकात भनिन्छ ।

इद उल फित्रमा प्रत्येक व्यक्तिले आफ्नो गच्छेअनुसार गहुँ वा सो बराबरको नगद दान गर्छन्, जसलाई सत्कार फितर भनिन्छ । यो दान आमाको पेटमा आएको बच्चाको पनि गरिनुपर्छ भन्ने नियम छ । यो दान पनि दीन दुःखी र गरीबलाई नै दिइन्छ ।

आजभन्दा एक महिना अघिदेखि मुस्लिम समुदायको एक महिना लामो ब्रत (रोजा) सुरु भएको थियो । एक वर्षभित्र गरेका पाप कटाउन यो ब्रत गरिनेछ । एक महिनासम्म सूर्योदयदेखि सूर्यास्त नहुने बेलासम्म ब्रत गरेर साँझ चन्द्रमाको पूजा गरिएको थियो ।

यस पर्वका अवसरमा मुस्लिम समुदायले नयाँ कपडा लगाइ साथीभाइकहाँ गएर इदको शुभकामना आदानप्रदान गर्छन् । यस अवसरमा सरकारले सार्वजनिक बिदा दिएको गृह मन्त्रालयले जनाएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले सामाजिक एवं सांस्कृतिक विविधताबीचको एकताले नेपाली राष्ट्रियतालाई सबल र सुदृढ बनाउने बताए । इस्लाम धर्मावलम्बीको महान् चाड ईद (ईद–उल–फित्र) पर्वका अवसरमा शुभकामना दिँदै उनले ईद (ईद उल फित्र) पर्वले मुस्लिम समुदायको मौलिक संस्कृति र परम्पराको संरक्षण, सम्वद्र्धन र विकास गर्न टेवा पुग्ने विश्वास व्यक्त गरे । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले ‘ईद उल फित्र’ पर्वका अवसरमा ‘सभ्य, शान्त, समुन्नत र समृद्ध समाज निर्माणमा थप प्रेरणा प्रदान गर्ने’ शुभकामना व्यक्त गरे । ईद–उल–फित्रले हाम्रो राष्ट्रिय एकता र सांस्कृतिक ऐक्यवद्धतालाई अझ सबल बनाउने अवसर प्रदान गर्ने उनले उल्लेख गरे । रासस