इटहरी/ इटहरीको बूढीगङ्गा जमुना मुक्तिघाटमा दैनिक दर्जन हाराहारीमा लास जल्छन् । त्यहाँ लास जलाउने ‘पेसा’ बनाएर बसेका छन्, सङ्खुवासभाका ३० वर्षीय उमेश कार्की । यसरी लास जलाएर र मसानघाटको रेखदेख गरेर आफ्नो जिन्दगी चलाउँछन् उनी । विगत तीन वर्षदेखि उनको दैनिकी यही घाटको वरिपरि बितिरहेको छ ।

आर्थिक अवस्था कमजोर भएपछि बाल्यकालमै विदेशिएका उनी इटहरी आएको करिब ४ वर्ष भयो । श्रीमती र छोरीसहित अहिले यही मसानघाटको रेखदेख गर्ने पेसामा लागेका कार्की यो पेसाबाट असन्तुष्ट भने छैनन् । उमेश भन्छन्, ‘आफू मात्र भएको भए जे गरेर पनि बाँच्थें, तर मसँग अर्का मान्छेको जीवन पनि थियो ।’ अनि सुरु भएको छ घाट जिन्दगी । घाट परिपरि सरसफाइसँगै रुङ्ने काममा मासिक २० हजार रुपैयाँ कमाउँछन् उनी । उनी घाटमा मान्छे जलाउने कामसमेत गर्छन् । घाट बनाइदिएको १ हजारदेखि १५ सय रुपैयाँ लिन्छन् । अहिले यही पेसाबाट उमेशको जिन्दगी बदलिएको छ ।

हरेक दिन बिहान ३ बजे उठेर मसानघाट सफा गर्छन् । मान्छे मर्नु र जलाइनु पक्कै राम्रो होइन । झन् पेसा नै त्यही बनाउनु कम गाह्रो कुरा थिएन । हरेक समय अरूको लास जलाउने उमेश मसानघाट रुङ्ने गर्छन् । कहिलेकाहीँ मध्यरातसम्म घाटकै सरसफाइ र लास घोच्न व्यस्त हुन्छन् उमेश । कहिले रातको १२ बजेसम्म पनि लासलाई एक्लै जलाएको उनी बताउँछन् ।

केही चौधरीहरूको लास एक्लै मध्यरातमा जलाएको उमेशको कथन छ । उनी भन्छन्, ‘तेह्रथुमकी एक १६ वर्षीया युवतीको लास जलाउँदा भने रातभर तर्साएको उनको भनाइ छ । ‘घाटमा डराउने मान्छेहरूलाई तर्साउँछ’ उनी भन्छन्, ‘मलाई डर लाग्दैन, मसानघाटमा पनि रातभर बस्नु डराउनेहरूको लागि खेलाँची हैन ।’ यो घाटमा ४ जना प्रहरीसमेत बस्छन् । उमेश भन्छन्, ‘प्रहरीहरू धेरै नै डराउँछन् तर, मलाई डर भन्ने पिटिक्कै लाग्दैन ।’ सामान्य रूपमा मान्छे घाट र चिता भनेपछि डराउने गर्छन् । हरेक दिन यही परिवेशमा बाँचिरहेका उमेश घाटसँगको डर नरहेको बताउँछन् । उनलाई लास जलाउने कामको सुरुवातमा केही डर लागे पनि अहिले बानी भएपछि त्यस्तो केही नहुने बताउँछन् । उनी भन्छन्, ‘घाटमा तर्साउने, भूतप्रेत हुने भ्रम मात्र हो, डराएन भने केही हुँदैन, डरायो भने धेरैथोक हुन्छ ।’

दाउरा ठेकेदार
घाटमै बसेर आफ्नै मेहनतमा रमाइरहेका उमेश पछिल्लो समयमा घाटको दाउरा बिक्री पनि आफै गर्छन् । ७ रुपैयाँ प्रतिकेजी दाउरा ल्याएर घाटमा राखेको भाडा मात्र मासिक १ लाख रुपैयाँ तिर्ने गरेको उनी सुनाउँछन् ।

‘काम नगरी खान नपाइने हुँदा जसरी भए पनि काम गरेँ । तर, काम गर्ने बेलामा मलाई कहिल्यै पनि डर लागेन’–उनले भने । घिन र लाज नमानी आफू मसानघाटमा परिश्रम गरेर रमाइरहेको उनको तर्क छ । घिन र लाज मानेर पनि के गर्नु ? आफ्नो जीविकोपार्जनका लागि काम गर्नैपर्ने रहेछ । ‘सुरु–सुरुमा शव जलाउने काम गर्नुपर्दा दुःख लाग्थ्यो । तर, के गर्नु खानका लागि भए पनि काम गर्नु परिहाल्यो’–उनले थपे ।

मासिक ५० हजार कमाइ
घाटमा काम गरेरै आफूले मासिक ५० हजार भन्दा बढी कमाइ गर्ने गरेको उनी बताउँछन् । पहिला तलब मात्र लिँदा परिवार पाल्न समस्या भयो । अहिले लास जलाउनेदेखि जलाउने घाट तयार गरिदिँदा मासिक ५० हजारभन्दा बढी कमाउने गरेको उनी बताउँछन् । काममा खटाइ भने ज्यादै धेरै भएको उनी बताउँछन् । मेहनत धेरै भए पनि आफ्नो कामप्रति सन्तुष्ट रहेको बताउने उमेशको परिवार खुसीसाथ मसानघाट रुङ्ने पेसामा रमाइरहेका छन् ।