विजयपुर/ धरान उपमहानगरको वडा नं. २ रत्नरोडमा विगतका वर्षहरूमा यो समयमा बिहान ४ बजेदेखि नै ट्याकट्याक टुकटुक आवाज सुनिन्थ्यो । पहिलेका वर्षहरूमा त १ महिना अगाडिदेखि नै बिहान ४ बजेदेखि बेलुका १० बजेसम्म चहल–पहल हुन्थ्यो ।

नेपालीहरूको महान् चाडपर्व भित्रिन आँटेपछि सुन–चाँदीका गरगहना बनाउने मजदुरहरूलाई कामको भ्याई नभ्याई हुन्थ्यो । त्यसैले उनीहरू बिहानदेखि रातिसम्म काम गर्दथे । तर, यो वर्ष सुन–चाँदी बजारमा चहल–पहल छैन, मजदुरहरू बेरोजगार बनेका छन् ।

रत्नरोड सुन–चाँदीको सबैभन्दा धेरै खरिद बिक्री र गरगहना निर्माण हुने स्थान हो । पहिले सो स्थानमा कालीगढहरू रातभर काम गर्थे । अहिले भने काम नभएपछि सुनसान जस्तै भएको हो । सुन–चाँदी व्यवसायमा आएको गिरावटले काम नभएपछि सुनसान भएको हो । यो समयमा खाना पनि समयमा नपाउने सुन–चाँदीका मजदुरहरू अहिले समय बिताउन गाह्रो भएको बताउँछन् ।

विगतका वर्षहरूमा कतिपय कालीगढहरू राति सुत्न घर पनि नगई कारखानामै खाना खाएर रातभर बसेर काम गरेको सुनाउँछन् धरान–२ रत्नरोडमा लामो समयदेखि गरगहना बनाउने ज्ञानबहादुर लामीछाने । उनी भन्छन्, ‘अहिले त काम छैन । दिउँसो काम आउँछ कि भनेर बस्छौं । काम नभएपछि बिहान पनि ढिलै आउँछौ र बेलुका पनि बस्दैनौं, छिट्टै घर जान्छौँ ।’

त्यस्तै धरान–२ पुरानो बजारमा गरगहना बनाउने काम गर्ने लालबहादुर शङ्कर पनि काम नभएको बताउँछन् । ‘ग्राहकको क्रयशक्ति नभएपछि माग छैन । माग नभएपछि साहुहरूले पनि हामीलाई काम दिँदैनन्, समस्या भइरहेको छ’ उनी भन्छन्, ‘उपभोक्ताले महामारीको समयमा बिलासी वस्तुभन्दा पनि अत्यावश्यक वस्तु मात्र खरिद गर्छन् ।’

त्यस्तै धरान–२ स्थित सीता मार्केट कारखानामा काम गर्ने प्रकाश बराइली विगत केही वर्ष पहिलेदेखि नै राम्रो काम पाउन छोडेपछि धेरै सुन–चाँदी मजदुरहरू विस्थापित भइसकेको सुनाउँछन् । उनी भन्छन्, ‘महामारीमा त काम हुने भएन नै, तर केही वर्ष पहिलेदेखि नै काम कम भएको हो ।’ उनले थपे, ‘धेरै साथीहरू वैदेशिक रोजगारीतिर लागे, केहीले अर्कै व्यवसाय शुरु गरेका छन् भने केहीले सिटी सफारी, टेम्पो चलाउन थाले ।’

त्यस्तै सोही स्थानको अर्को कारखाना सञ्चालन गर्ने कृष्ण सुन्च्यौरी पनि कालीगढहरू विस्थापित हुन थाल्दा पनि स्थापित गराउन सम्बन्धित पक्ष नलागेको बताउँछन् । उनले यो पेसामा समस्या हुन थालेपछि मजदुरहरूले अन्य पेसा अवलम्बन गर्न थालेको बताए । उनले भने, ‘पहिले राम्रै कमाइ थियो, यही कामबाट परिवार पालेर बचत पनि हुन्थ्यो ।’ उनले विषम परिस्थतिमा विलासी वस्तुको काम नहुने नै भयो । तर, सहज परिस्थितिमा पनि २–३ वर्ष पहिलेदेखि नै काम नभएको बताउँछन् सुन्च्यौरी ।

अर्का सोही स्थानमा अर्काको कारखानामा बसेर काम गर्ने इन्द्र खाती यो महामारीको समयमा काम नहुनु स्वभाविक रहेको बताउँछन् । खाती सामान्य काम चले पनि कम ज्यालामा विदेशी मजदुरले काम गरिदिने भएकोले साहुले नेपाली मजदुरलाई भन्दा विदेशी मजदुरलाई काम दिने भएकोले नेपाली मजदुर थप समस्यामा परेको बताउँछन् । इन्द्र वैदेशिक रोजगारीबाट फर्किएपछि सुन–चाँदी मजदुरको रूपमा काम गर्दै आएका छन् । उनले भने, ‘पहिले राम्रो थियो र यता लागियो, अहिले काम नभएपछि समस्या भयो ।’

सोही कारखानामा काम गर्ने अर्का मजदुर समिर गजमेर सुन–चाँदी व्यवसायीले नेपालीभन्दा पनि विदेशी कामदारलाई प्राथमिकता दिने गरेको बताउँछन् । उनी भन्छन्, ‘विदेशी मजदुरले कामका लागि साहुलाई माछा, रक्सी खुवाउँछन्, हामी सक्दैनौं, त्यसैले साहुले पनि हामीलाई भन्दा विदेशी मजदुरलाई काम दिन्छन् ।’

सुन–चाँदी व्यवसायीहरू पनि व्यवसाय पहिलेदेखि नै ओरालो लागिरहेको बेला लकडाउन भएपछि झन् समस्या परेको बताउँछन् । नेपाल राष्ट्रिय सुन–चाँदी व्यवसायी सङ्घ धरानका अध्यक्ष किसन मास्के व्यापार १० प्रतिशत पनि नभएको बताउँछन् । उनले व्यापार ओरालो लागेपछि व्यवसायी नै विस्थापित हुने अवस्थामा पुग्न लागेको बताए । विदेशी मजदुरहरूलाई भन्दा नेपाली मजदुरलाई नै प्राथमिकता दिने गरेको बताए ।

कोरोना भाइरसको सङ्क्रमणबाट बच्न सरकारले गरेको लकडाउनपछि सम्पूर्ण क्षेत्र बन्द भयो । बन्द भएपछि काम पनि बन्द नै भयो । उपभोक्ताको आम्दानी नभएपछि क्रयशक्ति पनि घट्यो । यसले गर्दा सुन–चाँदी विलासी वस्तु भएकोले व्यवसाय नचल्नु स्वभाविक नै हो । साथै सुनको भाउ उच्च दरमा वृद्धि भएकोले सुन खरिद गर्नभन्दा बिक्री गर्न ग्राहक आउने गरेको व्यवसायीहरू बताउँछन् ।

अन्य सुन–चाँदी व्यवसायीहरूलाई कालीगढहरूको विषयमा बुझ्दा प्रायः व्यवसायीले नेपाली कालीगढहरूलाई नै प्राथमिकता दिएको बताए । उनले नेपाली कालीगढहरूले बनाउन नसक्ने गरगहनामात्र भारतीय कालीगढलाई बनाउन दिने गरेको बताए । यता कालीगढहरूले भने नेपाली कालीगढले बनाउन सक्ने गरगहनाहरू पनि सस्तो ज्यालामा बनाइदिने भएकाले भारतीय कालीगढलाई काम दिने गरेको दाबी गरेका छन् ।