दलित अर्थात् कथित तल्लो जाति वा हामीले मान्दै आएको धर्म त्यसमा पनि हिन्दु धर्म र समाजले निर्माण गरेको वर्गीकरणमा परेका अछुत जाति वा समुदाय अहिले पनि मानसिक, सामाजिक, आर्थिक, न्यायिक, सांस्कृतिक, धार्मिक, राजनीतिक विभेदको शिकार हुनु भनेको मानव सभ्यताकै धज्जी उडाउनु बराबर हो ।

दलितहरूले दान गरेको रगत अरूलाई चल्छ, तिनै दलितले बनाएको औजार चलाउँदा हुन्छ, लत्ताकपडा लगाएर घरभित्र जान हुन्छ, उनीहरूले किनेको गाडीमा यात्रा गर्दा हुन्छ, उनीहरूले सञ्चालन गरेका ठूला होटल वा सुपर मार्केटबाट खाद्य सामग्री किनेर घरभित्र राख्न हुन्छ तर, यतिमात्र कि छोएको चाहिँ चल्दैन ।

आज कथित उच्च जातिकाले दलित बनाएका हाम्रै छरछिमेकका कामी, दमाई, सार्की, पोडेजस्ता कथित दलित वा मधेशी समुदायका दलितहरूलाई अछुत बनाएका छन् ।

यो आधुनिक मानव सभ्यताको लागि लाजमर्दो, हास्यास्पद, सामन्तीशैली, अमानवीयता मात्र होइन, अपराध हो । दलित व्यक्ति मन्दिरमा पस्यो भनेर कथित उच्च जातिकाले अनावश्यक कोकोहोलो मच्चाउनु जङ्गली युगको अवतार पाए सरह हो । अर्थात् कुनै दलित व्यक्ति आफ्नो घरभित्र पस्यो भनेर के के न पहाड भएजस्तै विकृत मानसिकता बनाउनु पागलपन नै हो ।  

खासमा दलित भन्ने कुरा त जातमा हुँदैन । मानव विकासको अध्ययनले भन्छ– यो संसारमा दलित कोही पनि छैन । न त कथित उच्च जातिका कोही छन् । मान्छे जातले दलित र अदलित हुँदैन ।

आर्थिकरूपमा धनी र गरिब हुनसक्छ । वैचारिक रूपमा कोही काङ्ग्रेस, कोही कम्युनिष्ट हुनसक्छ । बौद्धिक रूपमा कोही अति चलाख, बुद्धिमान र कोही सामान्य बौद्धिकस्तरको हुनसक्छ ।

शारीरिक बनावटको हिसाबमा कोही अग्लो वा होचो हुनसक्छ । नागरिकताको हिसाबमा कोही अमेरिकन, कोही भारतीय वा नेपाली हुनसक्छ । धर्मको हिसाबले कोही हिन्दु वा बौद्ध वा क्रिस्चियन वा युमा आदि धर्मावलम्बी हुनसक्छ ।

तर, छोएको भरमा पानी नै नचल्ने जाति वा मानिस दलित हुनै सक्दैन । दलित कसले बनायो ? के हो दलितको परिभाषा ? उच्च जाति र निचको जाति भनेर कसले बनायो वा निर्धारण गर्यो ? भगवान वा ईश्वर मान्नेका लागि प्रश्न के यो दलित र अदलित भनेर भगवान ब्रह्मा, विष्णु, महेश्वर, इन्द्र आदिले बनाएको हो ? दलित र अदलित भन्ने विषय न वैदिककालमा थियो, न त उत्तरवैदिक कालमा नै थियो ।

जब समाजका धूर्तहरूले आफैमात्र मोजमस्ती र सुखसयलमा रमाउनका लागि ब्राह्मण, क्षेत्री, वैश्य र शूद्र भनेर चार वर्ण बनाए, त्यसपछि दलित र अदलितको विजारोपण भएको हो ।

जातले ठूलो र सानो कोही हुँदैन भनेर त आजभन्दा ७० वर्षअघि नै महाकवि तत्कालीन शिक्षामन्त्री लक्ष्मीप्रसाद देवकोटाले नै भनिसकेका थिए । तैपनि यो डिजिटल जमानामा वा इन्टरनेटको जमानामा आफूलाई दलित हुँ भन्ने भ्रम पालेका र म उच्च जातिको हँु भन्ने भ्रममा बाँचेका २१ औं शताब्दीका मनुवाहरूलाई केही थाहा छैन ।

एउटा गम्भीर विषय, कथित उच्च जातिले आफूले बुझेको जातिमध्ये केहीलाई दलित भनेर बुझिसकेपछि दलित भएको बहानामा विभेद गर्नु कुनै पहाड भत्काउनु परेन तर, तिनै कथित दलितमध्येका विज्ञ, राजनीतिज्ञ, शिक्षित, बौद्धिक, सचेतहरूसमेत आफूलाई दलितको श्रेणीमा उभ्याउन  कुनै हिच्किचाहट छैन ।

सङ्घ–संस्था पनि फलाना ‘दलित’  सङ्घ वा दलित आयोग भनेर स्थापित गरेपछि त्यसमा ओइरिने डलर, रुपैयाँ वा सहानुभूतिले कथित दलित भनिएका आम समुदाय भने आफ्नै संस्थाबाट दलित भएका छन् भन्ने पनि बिर्सनु हुँदैन । कतिपयले आफू दलित हुनुमा गर्व गर्छन् ।

गर्व गरेकै उदाहरण हो, दलित सङ्घ–संस्था खोलिनु र स्थापित हुनु । किन गर्व गर्छन् त कथित दलितहरू सङ्घ–संस्था वा एनजिओ आइएनजिओ खोल्न ? प्रश्नको उत्तर तिनै दलितको नाममा खोलिएका दलित अधिकारको वकालत गर्नेहरूले देलान् ।

यो ‘दलित’ शब्द कसैका लागि मागिखाने भाँडो भएको छ, कसैका लागि सहानुभूति बटुल्ने माध्यम भएको छ र कथित उच्च जातिका लागि दलितलाई हरेक क्षेत्रमा शोषण र दमन गर्ने प्रमाण–पत्र भएको छ ।

जबसम्म मान्छेको जात वा समुदायबाट ‘दलित’ भन्ने शब्द हटाइन्न, तबसम्म यो सिलसिला जारी रहन्छ । यसर्थ मान्छेको जात (जो दलित नै हुँदैन, आफै स्थापित भएको हुन्छ) बाट ‘दलित’ शब्द हटाउने कि ?