विजयपुर/ ‘हाम्रो यातायात’ बसका चालक तुलबहादुर विश्वकर्मा गाडी पालोमा राखेर भानुचोकको बस स्टेण्डमा २ घण्टा बसे । २ घण्टा बस्दा पनि यात्रु आएनन् । उनको पालोको समय सकियो । विश्वकर्मा गाडी लिएर जताबाट आएका थिए उतै फर्किए ।
उनलाई सरकारले दिएको मापदण्डअनुसार गाडीमा जम्मा २० जना यात्रु चाहिएको थियो । उनी २० जना नभएर १०–१२ जना नै यात्रु भएको भएपनि जाने सोचमा थिए । तर, उनको पालोको समय समाप्त हुँदासम्म गाडीमा जम्मा ५ जनामात्र यात्रु भए । विश्वकर्माले त्यसपछि आफ्नो बसमा आएका ५ जना यात्रु अर्को बसलाई दिएर घर फर्के । कारण गाडी गन्तव्यमा पुगेर आउने खर्च नपुग्ने भयो ।
‘शुद्ध देवी’ यातायात नाम गरेको बसका चालक हरि चौधरी भन्छन्, ‘पहिले यो समयमा धेरै यात्रु हुन्थे । अहिले सरकारले ५० प्रतिशत यात्रु बोक्नू भनेको छ । तर, २५ प्रतिशत पनि यात्रु छैनन् । यातायात खर्च उठ्न पनि गाह्रो भएको छ ।’
‘छिन्ताङ देवी’ बसका चालक कुमार राई धरानदेखि वसन्तपुर जाने गाडी चलाउँछन् । उनी सरकारले तोकेअनुसार यात्रु हालेर सोहीअनुसार भाडा उठाउँदा घाटा नहुने तर यात्रु नहुँदा खाना र तेलको लागि मात्र हिँड्नु परेको बताउँछन् । उनी भन्छन्, ‘पहिला त बाटोमा पनि धेरै यात्रु भेटिन्थे तर, अहिले जति यहाँबाट लिएर हिँड्यो, त्यति मात्रै हो । कहिलेकाहीँ त तेल हाल्ने पनि पैसा उठ्दैन ।’
लकडाउन खुलेपछि दोस्रो पटक गाडी चलाउन भानुचोक आएका उनले पहिलो पटक वसन्तपुर जाँदा तेल हाल्न पनि नपुगेको सम्झिएर अहिले पनि यात्रु कम भए नजाने सोचमा रहेको बताए ।
यो त धरानबाट पहाडी जिल्लातिर जाने यातायातका साधनको कुरा भयो । धरानदेखि पूर्व काँकडभिट्टा चल्ने डल्फिन यातायातका चालक हेमन्त चौंलागाईं तराईतिर पनि यस्तै समस्या रहेको सुनाउँछन् । उनका अनुसार अहिले गाडीमा जम्मा १८ जना यात्रु हुनुपर्ने हो । तर, त्यति यात्रु पुग्नै मुस्किल पर्छ । उनले धेरैजसो गाडीलाई तेल हाल्न पनि पैसा नउठ्ने गरेको बताए । उनले भने, ‘पहिले ५ देखि ७ हजार उठ्थ्यो तर, अहिले १७–१८ सय उठ्छ । त्यतिले तेल हाल्न पनि पुग्दैन ।’
त्यही रुटमा कुद्ने पूर्र्वी नेपाल यातायातका चालक कृष्ण सुवेदीले अहिले तेल हाल्न मात्र पुग्ने गरेको बताए । उनका अनुसार धेरैजसो ७–८ जना मात्र यात्रु हुन्छन् । उनको गाडीमा अहिले १७ जना यात्रु चढाउन मिल्छ ।
त्यस्तै धरानबाट विराटनगर गाडी चलाउने श्रीगणेश बसका चालक सूर्य राई पनि यात्रु नहुँदा समस्या भएको बताउँछन् । उनले भने, ‘यात्रु नहुँदा खाली हिँड्नुपर्छ ।’ उनलाई २२ जना यात्रु चाहिन्छ तर, धेरै समय ६–७ जना मात्र हुन्छन् ।
धरानबाट पश्चिम बेल्टार तिर जाने यातायातका साधनको पनि उस्तै समस्या छ । धरानदेखि बेल्टार जाने वराहक्षेत्र दर्शन बसका चालक राजेसश्याम साह खालीखाली नै हिँड्नु परेको बताउँछन् । विगत वर्षहरूमा यो समय यात्रुहरूले निर्धारित भाडाभन्दा पनि बढी तिरेरसमेत यात्रा गर्दथे । यो वर्ष भने सवारी साधन सञ्चालन गर्न यात्रु नै अभाव रहेको छ । यातायात व्यवसायीहरू धेरै मानिस जोखिमका कारणले नहिँड्ने र पहाडतिर पहिले नै बाहिरिएकोले यात्रु नभएको बताउँछन् ।
धरानको भानुचोक पहाडी जिल्लाहरू बाहिरिने मुख्यस्थल हो । विगतका वर्षहरूमा दशैँलगायत नेपालीका ठूला चाडपर्व भित्रिएपछि यात्रुहरू गाडी नपाउने चिन्तामा भानुचोकमै सुत्नेसम्म गर्थे । बिहान १ बज्दा २–४ वटा गाडी बाहिरिइसकेका हुन्थे । विगतका वर्षमा बिहानको १ बजेदेखि सवारी साधन बाहिरिन्थे । दिनमा ४०–४५ वटा गाडीहरू धरानदेखि पहाडी जिल्लाहरूमा बाहिरिने गरेको बताउँछन् पहाडी रुटको टिकट काउण्टरका कर्मचारी सानबहादुर राई । ती गाडीहरूमा दैनिक १५ देखि २० हजार यात्रु बाहिरिने यातायात व्यवसायीहरू बताउँछन् । कर्मचारी राईका अनुसार यो वर्ष मुस्किलले १०–१२ वटा मात्र गाडी बाहिरिने गरेका छन् । राई भन्छन्, ‘आज हुन्छ, भोलि हुन्छ भन्दै बस्यो कहिले हुँदैन । बिजोक छ ।’
लकडाउन हुनुभन्दा पहिले सञ्चालित यातायातका साधनको तुलनामा अहिले ४० प्रतिशत मात्र सञ्चालन भएका छन् । ६० प्रतिशत सवारीसाधन ग्यारेजबाट बाहिर निस्कन सकेका छैनन् । त्यसमध्ये ३० प्रतिशतले त मर्मतसम्भार नै गर्न सकिरहेका छैनन् । नेपाल यातायात राष्ट्रिय व्यवसायी महासङ्घ प्रदेश नं. १ का संयोजक सरोज श्रेष्ठ भन्छन्, ‘सबैभन्दा प्रभावित क्षेत्र यातायात हो ।’ तर, यातायात व्यवसायीहरूलाई नै प्रदेश सरकारले कर छुट नदिएर अन्याय गरेको छ । उनले भने, ‘गाडी मर्मत गर्न नसकेर ग्यारेजमा थन्किएका छन् । कसरी कर तिर्न सक्छन् ।’
उनले सबै स्थानीय तहहरूले अन्य क्षेत्रको कर ७५ प्रतिशतसम्म छुट गरे पनि प्रदेश सरकारले यातायात व्यवसायीलाई कर छुट नदिएर थप मारमा पारेको बताए । उनले भने, ‘हामीलाई छुट नदिएपछि न्याय माग्न अदालत गयौं, अहिले कर नबुझाउन स्टे–अर्डर जारी गरेको छ ।’ उनका अनुसार यो समयमा धरान भएर १० देखि २० हजार यात्रु पहाडी जिल्ला जाने गर्थे । ‘दशैं नजिकिँदै गएपछि ४० हजारसम्म यात्रु धरान भएर बाहिरिने गर्थे’ उनी भन्छन्, ‘अहिले त २–४ सय पनि छैनन् ।’