• पारस काङ्माङ राई

विषय प्रवेशः
नेपालमा मुसलमानहरू तेह्रौं शताब्दीमा पहाडी जिल्लाहरूमा प्रवेश गरेको थियो । त्यही समयमा नै काठमाडौं उपत्यकामा मस्जिदहरू निर्माण भएका थिए । तराई÷मधेशमा भने त्योभन्दा पहिलादेखि नै मुस्लिमहरू बस्दै आएको हो । अनुमानका आधारमा के विश्वास गरेका छन् भने मदरसाहरूको स्थापना मल्लकालमा नै भएको हो । (मोहम्मद जाकिर हुसैन, २०७६, वर्ष २५, अङ्क १० मधुर सन्देश) । (भेटघाट संवाद) २०६२/६३ सालको जनआन्दोलनले राजनीतिक रूप ‘सङ्घीय लोकतान्त्रिक गणतन्त्र’ मा रूपान्तरण गरेको छ । ७ राजनीतिक दल, विभिन्न जातीय, भाषिक, सांस्कृतिक सङ्घ–संस्थाहरूको सो आन्दोलनमा महŒवपूर्ण भूमिका थियो । २०६२/६३ सालको जनआन्दोलनमा मुस्लिम समुदायको सक्रिय भूमिका र उपस्थिति राष्ट्रव्यापीरूपमा रहेको थियो भने धरानमा पनि सहभागिता र भूमिका रहेको बताउँछन् परवेज आलम । नेकपाको जनसङ्गठन राष्ट्रिय युवा सङ्घका नेता फिरोज अलीका अनुसार उनीलगायत उनका बाजे, बाबा धरानमा बस्दै आएको ५५ वर्ष भइसकेको छ । अली भन्छन्, ‘धरानमा मुस्लिमहरू धेरै पहिलादेखि नै बस्दै आएका हुन् ।’ नेपालमा मुस्लिम समुदायको जनसङ्ख्या १३ लाख २० हजारको हाराहारीमा रहेको छ । जसको प्रतिशत सङ्ख्या ४.४ हुन आउँदछ । महम्मद सागिरका अनुसार ५ हजारदेखि ७ हजारसम्म धरानमा मुस्लिमहरूको जनसङ्ख्या रहेको छ । मुस्लिम समुदायको व्यापार–व्यवसायमा राम्रै अवस्था भए पनि शिक्षा र राजनीतिक चेतनाको अभाव छ । राज्यले पनि मुस्लिम समुदायको विकासमा अहम् भूमिका खेल्न सकेको छैन । समावेशी लोकतन्त्रमा सबैको अधिकार समान हुन्छ तर पनि मुस्लिमहरूको पहुँच राज्यको निकायमा सम्मानजनक नभएको बताउँछन् गुल्वाहार महम्मद । (२०७७ साउन ४ गते भेटवार्तामा भएको संवाद)

नेपालमा मुस्लिम मदरसा शिक्षाः
तेह्रौं शताब्दीमा काठमाडौंमा मुस्लिमहरू पसेका हुन् । त्यही समयमा उपत्यकाभित्र मस्जिदको निर्माण गरी मुसलमानहरूले आफ्ना बालबालिकाहरूलाई आधारभूत इस्लामी शिक्षा दिन थाले । त्यहाँ धार्मिक शिक्षा दिइन्थ्यो । दाबी छ तेह्रांै शताब्दी पहिले नै मल्लाकालीन समयमा तराई÷मधेसमा मुस्लिमहरू आएका हुन् । भारतको लखनाउ रामपुरमा मदरसा शिक्षा पढाइ भएकाले त्यसको प्रभाव नेपालमा पनि पर्न गयो (मोहम्मद जाकिर हुसैन) । राणाकालमा शिक्षा क्षेत्रमा भएको हस्तक्षेपले मदरसाहरूमा पनि प्रभाव प¥यो । त्यतिबेला जनताका छोरा–छोरीले पढ्न नपाउने भएकाले भारतको कोलकत्तामा पढ्न जान्थे । पञ्चायतीकालमा मदरसाहरू सयौं अस्तित्वमा आए । तिनीहरूलाई पञ्चायतले राम्रै अवसर दिएको बताइन्छ । २०४६ सालको राजनीतिक परिवर्तनपछि  मुस्लिम समुदायमा पनि राजनीतिक चेतना र शिक्षाको चेतना पलायो । मदरसाको सङ्ख्यामा उल्लेख्य वृद्धि भयो । २०५२ मा मदरसा आयोग र २०६३ मा मदरसा दर्ताको प्रावधान सरकारले ल्यायो ।

सरकारी आँकडाअनुसार ११९७ मदरसा दर्ता भएको पाइन्छ । यसरी मदरसा शिक्षामा मुस्लिम समुदायको चेतना उठे पनि सरकारी र गैरसरकारी विद्यालयहरूमा उचित शिक्षा नलिँदा राजनीतिक, सामाजिक, शैक्षिक चेतनाको विकास हुन सकेको छैन । तर यो आधिकारिक तथ्याङ्क भने होइन । अझै पनि मुस्लिम महिलाहरूको चेतना उक्सिन सकेको बताइन्छ । महम्मद सागिरका अनुसार महिलाहरू घरभित्र रहने, घर व्यवहार चलाउने भएकाले शिक्षामा अगाडि बढ्न सकेनन् । उनी भन्छन्, ‘अरू समुदायको महिलामा चेतना अलिक अगाडि नै आयो उनीहरू अघि बढे तर मुस्लिम समुदायका महिलाहरूमा अलिक ढिलो गरी चेतना आउँदैछ’ (२०७७÷०४÷०४ गते भेटघाट संवाद) । हुन त नेपालमा महिलाहरूको अवस्था राजनीतिक क्षेत्रमा पितृसत्ताको कारण माथि उठिसकेको छैन । फिरोज अली भन्छन्, ‘जस्तो देश छ, त्यसैको आधारमा हामी हिँड्छौं’ (०७७ साउन ११, समय १ः५७ बजे मोबाइल संवाद) । अर्थात् मुस्लिम समुदायमा पनि महिला अधिकारको विषय उठ्ने गरेको छ र त्यहीअनुसार महिलालाई सम्मान पनि गरेको बताउँछन् ।

मुस्लिम समुदाय र नेकपा
मुस्लिम समुदायमा राजनीतिक स्वतन्त्रता अरू समुदायमा जस्तै रहेको छ । राजनीतिक रूपमा विभिन्न पार्टीमा आबद्ध रहेका छन् । खासगरी धरानमा राजनीतिकरूपमा मुस्लिमहरू काङ्ग्रेस पार्टीमा बढी आस्था राख्दथे । तर परिवर्तनशील समयले राजनीतिमा हरेक उथलपुथल हुने गर्दछ । यो विज्ञानसँग आधारित पनि छ । नेकपाका कार्यकर्ता तथा धरान औषधि व्यवसायी सङ्घका नगर सचिव परवेज आलम २२ वर्ष नेकपा (एमाले) मा काम गरेका बताउँछन् । उनका अनुसार धरानमा मुस्लिमहरूको मतदाता नामावली २ हजारदेखि २३ सयसम्म रहेको छ । उनी भन्छन्, ‘९० प्रतिशत मतदाताले सूर्य चिन्हमा मतदान गरेका छन्’ (संवादमा आधारित) । उनी तत्कालीन एमालेको ०५४ सालको सङ्गठित सदस्य हुन् । सैद्धान्तिक रूपमा काङ्ग्रेससँग सम्बन्ध नसुध्रिएपछि २०६८ सालमा तत्कालीन (एमाले) मा करिब ३ सय ५० जना प्रवेश गरेसँगै नेकपानिकट मुस्लिम सङ्गठन गठन भएको थियो । फिरोज अलीले बताएअनुसार सो सङ्गठनका अध्यक्ष सेख बुसक अली हुन् भने २१ सदस्यीय कमिटी रहेको छ । पेशागत आधारमा टेलर, कस्मेटिक सामान र मिस्त्रीवर्गमा पर्ने मुस्लिमहरू आफ्नो अधिकारको लागि नेकपाले लड्न सक्ने बताउँछन् । महिलाको सङ्ख्या धरानमा करिब ४० प्रतिशत र पुरुषको सङ्ख्या ६० प्रतिशत रहेको बताइन्छ । मुस्लिमहरू पहिले–पहिले घर नहुँदा भाडामा बसेका र घरधनीले साह्रै हेपाहा प्रवृत्ति देखाएर मनपरी ढङ्गले भाडा वृद्धि गरिदिन्थे । तर अहिले त्यस्तो नरहेको बताउँछन् । २०६८ सालमा तत्कालीन नेकपा (एमाले) जिल्ला कमिटीका सदस्य भीम राई ‘ज्वाला’ सँग पहिलो पटक पार्टी प्रवेश गर्ने विषयमा कुरा भएको बताउँछन्  जागीर । त्यस्तैगरी  विनोद राई, रमेश लिम्बू र राजेन्द्र राईसँग पनि कुरा भएको बताउँछन् ।

यसलाई पुष्टि गर्ने आधारका बारेमचा फिरोज अली भन्छन्, ‘हाम्रो भेटघाट एउटा घटनाले जोडिएको थियो ।’ साविक नेकपा (एमाले) का १ नम्बर निर्वाचन क्षेत्रीय कमिटीका सदस्य एवम् युवा इञ्चार्ज रमेश लिम्बूका अनुसार धरानका दुई युवती राजविराज घुम्न गएका थिए । फर्कदा गाडी पाएनन् । नेपाल–भारत बोर्डर भएकाले ती युवतीहरूमाथि त्यहाँका स्थानीयले नराम्रो व्यवहार गर्ने चिन्ताले एक मुस्लिम मोजम नामका युवालाई सतायो । उदारवादी भावना भएका ती युवाले एकजना मोटरसाइकल भएको युवा बोलाएर आफ्नो मोटरसाइकल सहित २ जनाले ती युवतीहरूको उद्धार गरी धरानसम्म ल्याइदिए । तर ती युवाले धरानमा उल्टै कुटाइ खाए । त्यो घटनामा तत्कालीन युवासङ्घ नेपालका क्षेत्रीय समितिका अध्यक्ष विनोद राई, धरान नगर अध्यक्ष राजेन्द्र राई र मैले नेतृत्व ग¥यौं । सो कुटाइ खाने युवालाई बिनाकारण कुटेकाले सम्बन्धित व्यक्तिहरूले माफी मागी, भत्किएको मोटरसाइकलको क्षतिपूर्तिसमेत दिए । त्यसपछि मुस्लिम समुदाय तत्कालीन नेकपा (एमाले) मा ठूलो सङ्ख्यामा प्रवेश गरेको हो । विनोद राई भन्छन्, ‘मुस्लिमहरूको पार्टी प्रवेशले तत्कालीन एमालेलाई चुनाव जित्न निकै नै सहज बनायो ।’ पार्टीमा प्रवेश गरेपछि तत्कालीन एमालेका सचिवालय सदस्य तथा मुस्लिम इञ्चार्ज राजेन्द्र राईका अनुसार मुस्लिम समुदायको अगाध माया पार्टीले पाएको छ । उनी भन्छन्, ‘पार्टी प्रवेश गरेपछि मुस्लिमहरू पार्टीभित्र इमान्दारीपूर्वक लागे ।’ (२०७७ साउन ५ गतेको भेटघाट संवाद) । तत्कालीन युवासङ्घ नेपालको केन्द्रीय सदस्य हिमाल लिम्बू, मजदुर नेता  शम्शेर बर्देवा, युवा नेताहरू दिवस राई, रतन लिम्बू, हेमन्त राई र ज्ञानदीप लिम्बूले पनि उनीहरूको प्रवेशमा योगदान गरेको बताउँछन् । यसअर्थम मुस्लिम समुदायको जुन आस्था, विश्वास नेकपामा छ, त्यसलाई सही मूल्याङ्कन गर्दै मुस्लिम समुदायको विकासमा महŒवपूर्ण भूमिका खेल्नु पर्नेछ ।

राष्ट्रिय राजनीतिमा प्रतिनिधित्व र धरानका मुस्लिम समुदाय
नेकपाको एकीकरणपछि केन्द्रीय कमिटीमा लपुज आलम, सिराज थारुकी, सैयद हुसेन र मोहम्मद जाकिर हुसैन सदस्य रहेको बताउँछन् फिरोज अली । संसद्मा समानुपातिक २ जना महिलाहरू करिना वेगम र समिला हसैन रहेको छ । यसअर्थमा राष्ट्रिय राजनीतिको केन्द्र विन्दुमा थोरै सङ्ख्यामा मात्र मुस्लिम समुदायको नेकपामा प्रतिनिधित्व रहेको देख्न सकिन्छ । धरानमा महिलाहरूको पार्टीमा उपस्थिति दयनीय देखिन्छ भने पार्टी उपमहानगर कमिटीमा अब्बास अन्सारी र नेकपाको जनसङ्गठन राष्ट्रिय युवासङ्घमा फिरोज अली सदस्य रहेका छन् । तत्कालीन नेकपा (एमाले) संवाद नेपाल कपडा तथा सिलाइ व्यवसायी सङ्घ ०६७ मा सुनसरी जिल्लामा गठन भएको थियो । जसका संस्थापक सदस्य फिरोज अली र जफरी अली लगायतका थिए । अहिले एकीकरणपछि नेपाल कपडा तथा सिलाइ व्यवसायी महासङ्घ भएको छ । हाल यो महासङ्घका केन्द्रीय उपाध्यक्ष फिरोज अली हुन् ।

मुस्लिम समुदायलाई सहयोग
धरानमा नेकपाबाट विजयी भएका सङ्घीय सांसद् माननीयहरू र प्रदेश सरकारका माननीयहरूबाट मुस्लिमहरूलाई पटक–पटक सहयोगसमेत गरेको बताउँछन् फिरोज अली । जसमा पहिलो बजेट तत्कालीन सांसद् कृष्णकुमार राईले संसद् विकास कोषबाट रु. २ लाख, वर्तमान सङ्घीय संसद्का माननीय जयकुमार राईबाट १० लाख र प्रदेश सरकारका माननीय सभाप्रमुख प्रदीप भण्डारीको पहलमा ६ लाख बजेट परेको थियो । यसले मुस्लिम समुदायको मृत्युसंस्कारलाई व्यवस्थित बनाउन सहज बनाइदिएको सागिर बताउँ छन् ।
निष्कर्षमा
सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा उत्पीडनमा परेका जाति, वर्गका समुदायहरूको विकास गर्दै जानु सरकार र सम्बन्धित निकायको जिम्मेवारी हो । उनीहरूको मानसिक, शारीरिक, बौद्धिक, वैचारिक, शैक्षिक, सामाजिक विकासमा ठोस कार्यक्रमहरू ल्याउनु पर्दछ । त्यसका लागि शिक्षा, स्वास्थ्य क्षेत्रमा लगानी बढाउनु पर्दछ । उत्पीडित लिङ्गको आधारमा गरिने भेदभाव, शोषण, दमनको अन्त्य गर्न चेतनामूलक, रोजगारीमूलक कार्यक्रमलाई व्यवहारमा उतार्न पर्दछ । राज्य र राजनीतिक दलको हरेक निकायमा मुस्लिमहरूलाई समावेश गर्नु पर्दछ । तब मात्र मुस्लिम समुदायको विकास र आर्थिक समृद्धिमा टेवा पुग्नेछ । सबैजाति, भाषा, संस्कृतिको विकास गर्दै समृद्ध आर्थिक सम्मुन्नत नेपाल बनाउन सकिन्छ । पुँजीवादले निर्माण गरेको भौतिक संरचनालाई नै टेकेर समाजवाद आउने हो । त्यही समाजवाद प्राप्तिको आन्दोलनमा मुस्लिम समुदायको पनि महŒवपूर्ण जिम्मेवारी र भूमिका रहँदै आएको छ । यद्यपि सबै मुस्लिम समुदाय आफ्नै मौलिक अधिकारमा राजनीतिक दलप्रतिको आस्था राख्ने गर्दछ ।