धरान । झापाको बिर्तामोड नगरपालिका–२ रामचोकस्थित पूर्वपश्चिम राजमार्गमा हायसको ठक्कर दिँदा बिहीबार एक पैदलयात्रीको निधन भएको छ ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार सप्तरी सुरुङ्गा नगरपालिका–१ का ३८ वर्षीय रामबहादुर भुजेलको बा.५ ख ६८०३ नम्बरको हायसको ठक्करबाट निधन भएको हो । तीव्र गतिका कारण हायसले पैदलयात्री भुजेललाई ठक्कर दिन पुगेको थियो । ठक्कर दिएपश्चात् घाइतेलाई त्यसै छाडी भागेको थियो । इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको टोलीले रामचौकमा ती युबालाई गम्भीर अवस्थामा फेला पारेको थियो । तत्कालै उनलाई बिर्तामोडस्थित बिर्तासिटी अस्पतालमा पठाइएकोमा चिकित्सकले मृत घोषित गरेका थिए ।
उनलाई के कुन सवारीले ठक्कर दिएको भन्ने नखुलेपछि सिसी टिभीको फुटेज जाँच गर्दा हायसले ठक्कर दिई गम्भीर घाइते बनाएको देखिएकाले हायसको खोजी गरिएको प्रहरीले जनाएको छ । ठक्कर दिएपश्चात् भागेको हायस तथा चालक मकवानपुर थाहा नगरपालिका–७ का रोशन तामाङलाई नियन्त्रणमा लिएको छ । उनलाई काँकरभिट्टा बसपार्कबाट नियन्त्रणमा लिई अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय अनारमनीमा राखिएको छ । घटनास्थल जिल्ला ट्राफिक प्रहरी कार्यालयभन्दा अन्दाजी दुई किलोमिटर पश्चिममा रहेको जनाएको छ ।
यस्तै उदयपुरको चौदण्डीगढी नगरपालिका–७ भुल्केस्थित मदन भण्डारी लोकमार्गमा बेल्टारबाट रामपुरतर्फ जाँदै गरेको कारको ठक्करबाट साइकलयात्री घाइते भएका छन् । बा.५ च ९९८८ नम्बरको कारले सोही दिशातर्फ जाँदै गरेको साइकलयात्री चौदण्डीगढी नगरपालिका–४ मगरडाँडाका अन्दाजी ६० वष्र्षीय जितबहादुर बस्नेत गम्भीर घाइते भएका हुन् । उनको टाउकोमा चोट लागेकाले बोल्न नसक्ने अवस्था रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
ठक्कर दिने सवारी तथा चालक चौदण्डीगढी नगरपालिका–९ हडिया बस्ने ३६ वर्षीय युवराज खत्रीलाई इलाका प्रहरी कार्यालय बेल्टारले नियन्त्रणमा लिएको छ । घटनास्थल ट्राफिक प्रहरी पोस्ट बेल्टारबाट अन्दाजी दुई किलोमिटर पूर्व पर्ने जनाएको छ । दुवै घटना तीव्र गतिका कारण भएको जनाइएको छ ।