• भोजराज श्रेष्ठ/धरान

सन् १९४७, मार्च महिना । एक दिन । मोरङको विराटनगरमा ट्रेड युनियन बनाउन पाउने अधिकारको माग गर्दै मिल मजदुरहरूले हड्ताल गरे । त्यसको नेतृत्व मिल मजदुर गिरिजाप्रसाद कोइरालाले गरेका थिए ।

त्यहाँ नेपाली राष्ट्रिय काङ्ग्रेसलाई निमन्त्रणा गरियो । जुन १९४७ को जनवरी २५ तारिखका दिन मात्रै सङ्गठित भएको थियो । मिल मालिकविरुद्धको त्यो हड्ताल राजनैतिक अधिकारका लागि थियो, जहाँ नेपाली राष्ट्रिय काङ्ग्रेसले साथ दिएको थियो । झण्डै ५–७ हजार मजदुर हड्तालमा सहभागी थिए । त्यसको प्रभाव गाउँगाउँसम्म फैलिएको थियो । जसले गर्दा राणा शासनको जग हल्लिएको थियो । पहिलो पटक भएको त्यो किसिमको हड्तालले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूप लिएको थियो । त्यो हड्ताल नियन्त्रण गर्न पद्मशमशेरले सेनाको टुकडी नै पठाएको थियो । विराटनगरमा राणाको प्रतिनिधिका रूपमा रामशमशेर बडाहाकिम थिए ।

राष्टि्य काङ्ग्रेसले समर्थन गरेका हिसाबले बीपी कोइराला पनि आन्दोलनमा सहभागी भएका थिए । उनलाई बोलावट भएको थियो । गिरिजा त हड्तालको नेतृत्व नै गरिरहेका थिए, साथमा मजदुरका तर्फबाट तारिणीप्रसाद कोइराला, मनमोहन अधिकारीलगायत थिए । आन्दोनल दबाउनका लागि राणा प्रधानमन्त्री पद्मशमशेरले सेनालाई खटाएको थियो । सेनाले हड्ताल नियन्त्रण गर्ने क्रममा तारिणी, गिरिजा, र बीपी कोइरालालाई एक पछि अर्को गर्दै समात्यो ।

‘सबभन्दा पहिले तारिणीलाई समात्यो, गिरिजालाई समात्यो, अनि म समातिएँ’ तत्कालीन समयको चित्रण गर्दै बीपी कोइरालाको आत्मवृतान्तमा उल्लेख छ, ‘त्यही दिन बिहान म त्यो जूट मिलको मुख्यद्वारमा पिकेटिङमा जाने भएको थिएँ ।’ समातिए लगत्तै बडाहाकिम रामशमशेरकहाँ पु¥याइयो, तर बडाहाकिम आएनन् । समातिएका छ जनालाई नै सशस्त्र सिपाहीहरूले विराटनगर, इटहरी हुँदै धरानको फुस्रे ल्याएर राख्यो । जहाँ नेपाली सेनाको एउटा टुकडी बस्थ्यो । त्यो टुकडी हाल धरान–२० मा पर्ने ओशो आश्रम आसपास थियो ।

त्यहाँ सानो–सानो बजार लाग्ने गरेको अग्रज पत्रकार भवानी बराल बताउँछन् (२०७७ असार २४ गते बरालसँग भएको अनौपचारिक कुराकानी) । उनी भन्छन्, ‘त्यो बेला फुस्रेको आर्मी क्याम्प पारिपट्टि थियो । सर्दु खोलाले दुःख दिन थालेपछि वारि अहिले भएको ठाउँमा सारिएको हो ।’ विराटगनरबाट धरानको फुस्रेमा एक रात ल्याएर राखेपछि त्यहाँबाट धनकुटा रवाना गरिएको बीपी कोइरालाको आत्मवृतान्तमा उल्लेख छ । जहाँबाट बीपी कोइरालासहित अन्यलाई २० दिन हिँडाएर काठमाडौं पु¥याइएको थियो ।

त्यही कारण नै केही वर्ष अघिदेखि नेपाली काङ्ग्रेस धरान नगर समितिले बीपी कोइराला पार्क बनाउने अभियान थालेको छ । अहिले बीपी पार्क निर्माणको अन्तिम चरणमा छ । जहाँ बीपी कोइरालाको पूर्ण कदको प्रतिमा राखिन लागिएको छ । बीपीको पूर्ण कदको प्रतिमा कलाकार महेन्द्र राईले निर्माण गरेका छन् । प्रतिमा राख्ने स्थलको प्रदेश सांसद् चन्द्रप्रसाद श्रेष्ठ र धरान उपमहानगरका प्रमुख तिलक राईले संयुक्त रूपमा असार ११ गते शिलान्यास गरिसकेका छन् ।

पार्क निर्माणका लागि बीपी स्मृति पार्क निर्माण उपभोक्ता समिति समेत बनेको छ । पार्कका लागि प्रदेश सरकारको ३० लाख र सङ्घीय संसद् कोषबाट २० लाख रुपैयाँ बजेट विनियोजन भइसकेको छ । जसबाट सर्दु खोला संरक्षणको लागि रिटेनिङ वाल निर्माण भइरहेको छ । यता धरान उपमहानगरले पनि ३० लाख रुपैयाँ बजेट विनियोजन गरिदिएको छ । जसले ड्रेन र आरसीसी ढलाइको काम भइरहेको छ । जनसहभागिताबाट ७ लाख १७ हजार रुपैयाँ सङ्कलन भएको छ ।

त्यसो त बीपी पार्कको शिलान्यास भने २०७१ भदौ २ गते काङ्ग्रेस सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेलले संयुक्त रूपमा बिरुवा रोपेर गरिसकेका छन् । पछिल्लो समय फ्लावर ब्रिजका कारण चर्चामा रहेको यो स्थानलाई जैविक विविधता पार्कको रूपमा पनि चिनिने गरिएको छ । आइयुसिनले सर्दु जलाधारको विषयमा प्रकाशित गरेको पुस्तकमा ४ सयभन्दा बढी प्रजातिका वनस्पति पाइने उल्लेख गरेकाे छ । पछिल्लो पटक जीप फ्लाइङको परीक्षण पनि गरिएको थियो । पार्क निर्माण गरिएकाले पछिल्लो समय मानवीय गतिविधि बढ्दो छ । जसले गर्दा खानेपानीको मुहान सुक्ला कि भन्ने चिन्ता पनि उतिकै छ ।