दमक/ झापाको शिवसताक्षी नगरपालिका वडा नं. १० स्थित कन्काई नदीको पुलदेखि उत्तरतर्फ कन्काईमा आएको बाढी बस्तीतिर पसेपछि यहाँका करिब १० घरपरिवारको उठीबास भएको छ । स्थानीयले रातारात आफ्नो थातथलो छोडेर हिँड्नु प¥यो । कमाइ गर्दै आएको जमिनमा हेर्दाहेर्दै कन्काई नदी बग्न थाल्यो । उनीहरूको न बस्ने घर रह्यो, न त अर्को घर बनाएर बस्ने एक चिम्टी माटो नै बाँकी राखिदियो ।
कन्काई नदीमा आएको बाढीले एगमाया उप्रेतीलाई एकै रातमा घर छोड्न बाध्य बनायो । उनको ३ बिगाहा खेतमा अहिले नदी बगिरहेको छ । अहिले उनी छिमेकीको घरमा शरण लिएर बसेकी छन् । छिमेकी भीमाकुमारी थपलियाको घरमा शरण लिएर बसेकी एगमायाले ब्लाष्टसँगको कुराकानीमा भनिन्, ‘कन्काईको भेलले न बस्न दियो, न त गरिखान नै दियो । उठीबास बनायो ।’
३ वर्षको काखको छोरी च्यापेर भूपाल चौधरी अहिले खोला बगिरहेको स्थानदेखि करिब २ सय मिटर पश्चिमको टिक घारीमा आएर बस्न थालेका छन् । उनको घर खेत सबै कन्काईको भेलसँगै बग्यो । जोगाउन सकेका र बचेका केही थान सामान बोकेर उनी अहिले टिक घारीमा एउटा झुप्रो बनाएर बसिरहेका छन् । यो ठाउँसम्म पनि खोला नआउला भन्न सकिन्न । अहिले बसेको ठाउँमा पनि बाढी आयो भने भागेर र बाँचेर जाने ठाउँ कहीँ नभएको चौधरीले दुःखेसो पोखे ।
कन्काईको भेलले लाल ऋषिदेवको घर पनि बगाउन लागेको छ । घरमा भएका लालाबाला लिएर कहाँ जाने उनलाई चिन्ता छ । तत्काल घर माया मारेर जाने ठाउँ कहीँ नभएका कारण उनी जे पर्ला त्यही टर्ला भनेर बसिरहेका छन् । तर कन्काईको कटान उनको घरको आँगनमै आइसकेको छ । कन्काई नदीमै बालुवा चालेर जीविकोपार्जन गर्ने उनी अहिले कन्काईकै त्रासका कारण विस्थापित बन्ने डरमा छन् ।
केही दिनयताको झरीका कारण झापाका खोला नदीहरूमा पानीको सतह बढेपछि झापामा आइतबारसम्ममा २ जनाको मृत्यु भइसकेको छ भने विभिन्न स्थानका सर्वसाधारण विस्थापित भएका छन् । झापाका कन्काई, बिरिङ, मेची, रतुवा र निन्दा नदीले वर्षायाममा क्षति पु¥याउने गरेको छ । यस्तै पश्चिमी सिमानामा रहेको मावा खोलाको कटानका कारण समेत क्षति पुग्ने गरेको छ । यस वर्ष वर्षा शुरुवात भएलगत्तै डुबान र कटानबाट क्षति हुन थालिसकेको छ ।
शिवसताक्षी नगरपालिकाको वडा नं. ८ को सुकुम्बासी बस्तीका १२ परिवार विस्थापित भइसकेका छन् । झापाका राजमार्ग दक्षिण र केही आसपासका पालिकाहरूमा बाढीको उच्च जोखिम रहेको छ । जिल्ला विपद् व्यवस्थापन समितिले पूर्व–पश्चिम राजमार्ग दक्षिणका अधिकांश क्षेत्रलाई उच्च जोखिमको सूचीमा राखेको छ । जसअनुसार कचनकवल, बाह्रदशी, गौरीगञ्ज र झापा गाउँपालिका जिल्लाका सबैभन्दा धेरै जोखिम रहेका क्षेत्र हुन् ।
विपद् व्यवस्थापन समितिका सदस्यसमेत रहेका नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालका अनुसार यी चार स्थानीय तहसँगै गौरादह, शिवसताक्षी, भद्रपुर नगरपालिका र कमल गाउँपालिकाको आधा भाग पनि उच्च जोखिमयुक्त क्षेत्र हो । निरन्तर पानी परिरहेकाले पानीको बहाव बढ्न सक्ने र तटीय क्षेत्रमा सतर्कता अपनाउन स्थानीय तहहरूलाई जिल्ला विपद् व्यवस्थापन समितिले आह्वान गरेको छ ।
जिम्मेवारी स्थानीय तहमा
विपद् व्यवस्थापन ऐनले हरेक स्थानीय तहले विपद् व्यवस्थापनको जिम्मेवारी लिनुपर्ने व्यवस्था गरेको छ । जसअनुसार सबै स्थानीय तहलाई सतर्कता अपनाउन र सजगताका साथ उद्धार र राहतका लागि तयारी अवस्थामा राखिएको छ । झापा गाउँपालिकाका अध्यक्ष जयनारायण साहका अनुसार गाउँपालिकाले २ सय जना जतिलाई सुरक्षित स्थानमा राख्ने गरी विभिन्न सामुदायिक विद्यालयको तय भइसकेको छ ।
खानाका लागि न्यूनतम् राहतका प्याकेज बनाइएको छ । आधारभूत स्वास्थ्य सुविधाका लागि स्वास्थ्य शाखाका कर्मचारीहरू तयारी अवस्थामा राखिएको छ । तत्कालका लागि केही औषधि पनि तयारी अवस्थामै राखिएको अध्यक्ष साहले बताए । त्यसैगरी गौरीगञ्ज गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठले विशेष गरेर वडा नं. १ मा पालिकाको ध्यान केन्द्रित रहेको बताए । त्यहाँको हुक्लाबारी गाउँ बढी जोखिममा रहेकाले तत्कालै उद्धार गरेर व्यवस्थापन गर्नका लागि स्थानको तय गरिसकेको र उद्धारका लागि आवश्यक पर्ने सामग्रीहरू पनि खरिद गरेर प्रहरी र रेडक्रसलाई दिइसकेको अध्यक्ष श्रेष्ठले जानकारी दिए ।
१० वर्षमा ७६ किलोमिटर तटबन्ध
झापामा नदी नियन्त्रणका लागि आवश्यक पर्ने तटबन्ध निर्माण हुँदै नभएको भने होइन । जिल्लाका प्रमुख ५ वटा नदीमा तटबन्ध निर्माण गर्ने जिम्मा पाएको जनताको तटबन्ध फिल्ड कार्यालय गैँडे झापाले १० वर्षको अवधिमा ७६ किलोमिटर पक्की तटबन्ध निर्माण भइसकेको जनाएको छ । कार्यालयका प्रमुख कैलाश श्रेष्ठका अनुसार ५ वटा नदीमा ३ सय ३ किलोमिटर पक्की तटबन्ध निर्माण गर्नुपर्नेमा अहिलेसम्म जम्मा कामको २४ प्रतिशत मात्र काम हुन सकेको छ । जसमध्ये ५ वटै नदीमा गरी यो वर्ष ६ देखि ७ किलोमिटर पक्की तटबन्ध निर्माण गरिएको छ । सीमित स्रोत साधनको कारण काम दु्रत गतिमा हुन नसकेको कार्यालयका प्रमुख श्रेष्ठको स्पष्टोक्ति छ ।
के छ सुरक्षाको उपाय ?
झापामा साना–ठूला गरी २८ वटा नदी रहेका छन् । सबै नदीले कहीँ न कहीँ केही न केही क्षति पु¥याइरहेका छन् । मुख्य गरेर झापाका ८ वटा नदीले हरेक वर्ष यहाँका सयौं बस्ती विस्थापित गराउने गरेको छ भने हजारौं हेक्टर जमिन बालुवामा परिणत गर्ने गरेको छ । झापाको मावा, रतुवा, कमल, कन्काई, बिरिङ, मेचीलगायत नदीको कटानका कारण यहाँका नागरिकले सास्ती भोग्दै आएका छन् । यो वर्ष पनि निरन्तर वर्षा भइरहेकोले नदीमा पानीको बहाव दिन प्रतिदिन बढिरहेको छ ।
जसले गर्दा नदी आसपासका गाउँहरूमा क्षति पु¥याउन थालिसकेको छ । गाउँमा नदी पसेपछि स्थानीय त्रासमा छन् । तर जोखिम न्यूनीकरणका लागि काम गरिरहेका निकायहरूले तयारी अवस्थामा रहेको र त्यसका लागि आवश्यक पर्ने सामग्री पनि उपलब्ध रहेको दाबी गरिरहेका छन् । विपद् न्यूनीकरणको क्षेत्रमा काम गर्ने जलस्रोत तथा सिुंचाइ विकास डिभिजन कार्यालय झापाका डिभिजन प्रमुख कृष्णप्रसाद राजवंशीका अनुसार आवश्यक पर्ने तार जाली, बोरालगायतका अन्य अति आवश्यकीय सामग्री तयारी अवस्थामा रहेको बताउँछन् ।
जिल्लामा बाढीको जोखिम बढी छ । १५ वटै स्थानीय तहमा कुनै न कुनै रूपको क्षति पुग्ने सम्भावना छ । त्यसैले त्यहाँ हुने क्षति न्यूनीकरणको प्रमुख जिम्मेवारी स्थानीय तहको नै हो । जिल्लाका १५ वटै स्थानीय तहका प्रमुख तथा उपप्रमुखलाई जोखिम न्यूनीकरणका लागि बजेटको व्यवस्था गर्न र आवश्यक उद्धार सामग्री खरिद गरेर तयारी अवस्थामा रहन अनुरोध गरिसकेको र सबै पालिकाहरूले त्यो काम पनि गरिसकेको प्रमुख जिल्ला अधिकारी उदय राना मगरले बताए । जोखिम न्यूनीकरण गर्न प्रदेश नं. १ मा एउटा हेलिकप्टरको समेत व्यवस्था गरिएको र जिल्लामा रहेका नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना तीन तहकै सुरक्षा निकायलाई पनि २४ घण्टा नै आवश्यक स्थानमा जान तयारी अवस्थामा राखिएको प्रमुख जिल्ला अधिकारी रानाको भनाइ छ ।
ठूला नदी तथा खोलाहरूमा मात्र ध्यान दिइरहँदा जिल्लामा रहेका अन्य खहरे र शहरभित्रका खहरे खोलाले जोखिम ननिम्त्याउला भन्न सकिन्न । अचेल शहरमा हुने विकास निर्माणले कतै विनाश पनि निम्त्याइरहेको छ कि भन्ने कुराको हेक्का निकै कमले मात्र राखेका छन् ।
झापामा तीन वर्षअघि आएको बाढी हालसम्मकै विनाशकारी मानिन्छ । २०७४ सालमा आएको बाढीका कारण झापामा १६ जनाको मृत्यु भएको थियो भने ३ जना बेपत्ताको अवस्था अझै अज्ञात छ । झापामा एक दर्जनभन्दा बढी साना–ठूला खोलाहरूको जोखिम भएकाले विगतबाट पाठ सिकेर तयारी अवस्थामा रहन आवश्यक छ । तीन वर्षअघि जिल्लाका ३५ हजार नागरिक विस्थापित भएकाले पनि झापा उच्च जोखिममा रहेको पुष्टि गर्दछ । त्यसैले हरेक स्थानीय तहले वडा र टोलसम्म विपद् व्यवस्थापनको सञ्जाल चुस्त बनाउन आवश्यक देखिएको छ ।