धरान/ कोभिड–१९ को महामारीपछि सरकारले लकडाउन गर्दा पूर्वको पर्यटकीयस्थल चैत ११ गतेदेखि सुनसान बनेको छ । पर्यटकीयस्थल भेडेटार सुनसान बनेसँगै आन्तरिक र बाह्य पर्यटकहरूलाई लक्षित गरेर सञ्चालित होटल र पर्यटन व्यवसाय चौपट बनेको छ ।

उनीहरूको व्यवसाय चौपट भएसँगै भेडेटारका ६० भन्दा बढी होटल र पर्यटन व्यवसायमा गरिएको लगानी, त्यहाँ कार्यरत करिब २ हजार कर्मचारीको अवस्था नाजुक रहेको होटल एशोसिएसन भेडेटारले जनाएको छ । सरकारले गत जेठ ३२ गतेदेखि लकडाउन खुकुलो बनाउने नयाँ मोडालिटी सार्वजनिक गरेपछि चहल–पहल बढे पनि होटल र पर्यटनसँग सम्बन्धित क्षेत्र सञ्चालन गर्ने विषयमा कुनै विकल्प नदिएपछि निराश हुनुपरेको होटल एशोसिएसन भेडेटारका अध्यक्ष जितेन्द्र रुम्दालीको भनाइ छ ।

उनले जेठ ३२ गते सरकारले केही नयाँ विकल्पसहितको घोषणा गर्ला भनेर पर्खे पनि होटल र पर्यटन क्षेत्रको विषयमा केही नबोलेकाले ठप्प भएको व्यवसाय असार पहिलो सातादेखि सञ्चालनमा ल्याउन दबाव दिइरहेको बताए ।

उनले भने, ‘निजी लगानीमा सञ्चालित होटल र पर्यटन व्यवसाय लामो समयसम्म लकडाउनका कारण धरासायी बनेका छन् । सरकारले न राहत प्याकेज नै व्यवस्था गरेको छ, न त अरू विकल्प नै दिएको छ । यस्तो अवस्थामा बैङ्कबाट लिएको ऋणको ब्याज बढेर आकासिएको छ ।’

उनले अब पनि सरकारले निश्चित मापदण्ड तयार गरेर भेडेटारजस्तो पर्यटकीयस्थलमा होटल तथा पर्यटन व्यवसाय सञ्चालन गर्न नदिए आफै सञ्चालन गर्ने बताए । कोरोना महामारीको बीचमा कसरी होटल र पर्यटन व्यवसायलाई पुनर्जीवन दिने भनेर सरोकारवाला, स्थानीय प्रशासन, जनप्रतिनिधि, साँगुरी गढी गाउँपालिकाका पदाधिकारीहरूसँग आन्तरिक छलफल भइरहेको अध्यक्ष रुम्दालीले बताए ।

भेडेटार होटल एशोसिएसनका पूर्वअध्यक्षसमेत रहेका प्रदेश १ का होटल व्यवसायी महासङ्घका महासचिव लीलाराज लावतीले लकडाउनका कारण पर्यटन तथा होटल व्यवसायीहरू मारमा परेकाले सरकारले छुट्टै राहतको प्याकेज दिनुपर्ने बताए । उनले भने, ‘पछिल्लो समयमा भेडेटारमा होटल व्यवसाय र पर्यटन व्यवसायमा अर्बौं रुपैयाँको लगानी भएको छ । तर यसरी नै ठप्प भइरहने हो भने ऋणको भारले थिचिएर फेरि उकासिन मुस्किल हुनेछ ।’ भेडेटारमा लकडाउनअघि दैनिक सात हजार बढी आन्तरिक र वाह्य पर्यटकहरू घुमफिर गर्न पुग्ने गरेका थिए ।

यसैबीच व्यवसायीहरूले आफू पनि सुरक्षित हुने र कर्मचारीलाई पनि सुरक्षित राख्न समय–समयमा पिसिआर जाँच गराउने, अनिवार्य मास्क, पञ्जा, टोपी आदि लगाएर सेवा दिने, होटल प्रवेशद्वारमा अनिवार्य साबुनपानीले हात धुने वा सेनिटाइजर प्रयोग गर्ने, एकभन्दा बढी ग्राहक आएमा सामाजिक दूरी कायम गराएर सेवा दिने, ग्राहक पाहुनाहरूले कोठा छोडेपछि २– ३ घण्टापछि मात्र सफा गर्न लगाउने र पूरा सेनिटाइज गरेर मात्र पुनः प्रयोग गर्ने प्रस्ताव राखेर साँगुरीगढी गाउँपालिकामा मङ्गलबार वार्ताका लागि डेलिगेसन जाने बताएका छन् ।