पाँचथर/याक्थुङ कल्चरल ग्रुपले पहिलोपल्ट विश्वब्यापी अनलाइन पालाम् गायन प्रतियोगिताको आयोजना गरेको छ । यतिबेला विश्व समुदायसँगै सिङ्गो मुलुक कोरोना–कहरमा डुबेको छ । सरकारले गरेको बन्दाबन्दीको समयलाई सिर्जनशील बनाउन प्रतियोगिता आयोजना गरिएको आयोजक संस्थाले जनाएको छ । यसले साँस्कृतिक पुनर्जागणमा समेत सहयोग पुग्ने आयोजकको विश्वास छ ।

प्रतियोगितामा अनलाइन माध्यम मार्फत् सहभागिता जनाउन सकिनेछ । प्रतियोगिताका लागि २२२ वटा पालाम् प्राप्त भएको आयोजक समितिका संयोजक सीता तुम्खेवाले फेसबुक लाइभ मार्फत् बताइन् । उनका अनुसार प्रतियोगिताका लागि पालाम् प्राप्त हुने क्रम जारी छ । प्रतियोगिहरुको उत्साहजनक सहभागिताले थप उर्जा प्रदान गरेको तुम्खेवाले बताइन् । यहिं ३२ जेठसम्म प्रतियोगितामा सहभागि हुन पालाम्को भिडियो पठाउन सकिने आयोजकको भनाई छ । प्रतियोगितामा सहभागि हुन चाहनेले ६ मिनेटसम्मको मौलिक पालाम् गाएको भिडियो पठाउनुपर्नेछ ।

प्रतियोगितामा प्रथम हुनेले नगद ५० हजार रुपैंयाँ प्राप्त गर्नेछ । त्यस्तै निशुल्क पालाम् रेकर्डको अवशर समेत दिइनेछ । द्वितीय हुनेले नगद ४० हजार रुपैंयाँ र त्रितीय हुनेले नगद ३० हजार रुपैंयाँ प्राप्त गर्नेछ । नगद पुरस्कार बाहेक अन्य अकार्षक पुरस्कारको समेत ब्यवस्था गरेको याक्थुङ कल्चरल ग्रुपका सदस्य हाङ्सेम केरुङले बताए । प्राप्त प्रतियोगिहरुमध्येबाट पालाम्का जानकार यासेली योङहाङ, रैथाने संगीत समूहकी झुमा लिम्बू, वरिष्ठ पालाम् गायीका मनु नेम्बाङ लगायतको निर्णायक मण्डलले प्रथम, द्वितीय र त्रित्रिय छान्नेछन् ।

याक्थुङ (लिम्बू) जातिको बसोबास रहेको १ नं. प्रदेशको ताप्लेजुङ, पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी, धनकुटा, तेह्रथुम र संखुवासभा लगायतका जिल्लामा धान नाच्दै पालाम् गाउने प्रचलन छ । पश्चिमा संस्कृतिको प्रभाव र अन्य अनेकौं कारणले पालाम् हराउदै गएको प्रतियोगिताका सल्लाहकार समेत रहेका प्राज्ञ अमर तुम्याहाङ बताउछन् । त्यसैले अनलाइन पालाम् प्रतियोगिताले जनजिब्रोबाट लोप हुँदै गएको पालाम्को महिमा र महत्वलाई पुनर्जाग्रित गर्ने काम गर्ने तुम्याहाङको भनाई छ ।

के हो पालाम् ?

याक्थुङ (लिम्बू) समाजमा नाता सम्बन्ध नलाग्ने युवा–युवतीबीच एकापसमा हात समाएर धान नाच्ने प्रचलन छ । यो नाचलाई लिम्बू भाषामा ‘याःलाङ्’ भनिन्छ । धान नाचको क्रममा केटा पक्ष र केटी पक्षबीच सवाल जवाफमा एक किसिमको छन्दोबद्ध गीत गाइन्छ । धान नाच्दा ‘पालाम्’ गाउनु अनिबार्य छ । त्यसैले पालाम्लाई धान नाचको मुटु मानिन्छ । धान नाचको क्रममा गाइने यहिं छन्दोबद्ध गीत नै पालाम् हो । पालाम् याक्थुङ् (लिम्बू) जातिको मौलिक लोकलय हो ।

‘पालाम्’ शब्दको अर्थ भने ‘बोल्ने बाटो’ भन्ने हुने लिम्बू साँस्कृतिक परिषदका उपाध्यक्ष सागर केरुङ बताउछन् । पालाम्मा सृष्टिको उत्पति, मानव सभ्यताको बिकासक्रमदेखि लिएर मायाप्रीतिसम्मका कुरा गरिन्छ । संगीतकार तथा पालाम्बारे जानकार बुद्धराज लिम्बूका अनुसार पालाम्मा प्रत्येक दुई हरफको एक पाउँ (श्लोक) हुन्छ । प्रत्येक पाउँको दुबै हरफ समान ‘तीन–दुई–चार’ गरी नौ शब्दको हुन्छ । पालाम् चरण–चरण गरेर सवाल जवाफमा गाइन्छ । त्यसैले धान नाचमा सहभागि युवा–युवतीहरु अनुसार पालाम् छोंटो या धेरै लामो पनि गाउन सकिन्छ ।

पालाम्को उत्पति

पालाम्को उत्पतिको शन्दर्भ या?लाङ् अर्थात् धान नाचसँग जोडिन्छ । याक्थुङ (लिम्बू) जातिको धर्मशास्त्र मुन्धुममा पालाम्को उत्पतिबारे रमाइलो प्रशंग वर्णन गरिएको छ । मुन्धुम अनुसार जङ्गली जीवजन्तुको सिकार खेल्दै, कन्दमुल खोजि खाँदै फिरन्त जीवन बाँच्दै आएका मानव जाति ‘फाङ्भङ्ना’ नामको चराले धपाउन नपाउने सर्तमा घैया धानको बिउ ल्याएर दिएपछि कृषि युगमा प्रवेश गरे ।

तर उनीहरुले फलाएको धान दिनकादिन चारहरु आएर खाइदिन थाले । सर्त अनुसार मानिसले धान खान आउने चराहरुलाई धपाउन पाएनन् । त्यसैले उनीहरुले एउटा उपाय निकाले । फलाएको अन्न खला बनाइ एकै ठाउँमा जम्मा गरे । र, एकापसमा हातमा हात समाएर ‘छुई हा ... हा ...’ भन्दै धान कुल्चन, माड्न थाले । तब धान खान आउने चराहरु पर–पर भाग्न थाले । त्यहिं या?लाक् आर्थत् धान कुल्चनु नै कालान्तरमा या?लाङ् धान नाचको रुपमा बिकसित भएको र चरा धपाउन उच्चारण गरिएको ‘छुई हा ... हा ...’ बाट पालाम्को उत्पति भएको मुन्धुमका जानकारहरु बताउछन् ।