धरान । दुईतिर टिनले छाएका बाक्लै घर । मध्य भागमा सडक । सडकमा ढुङ्गालाई मसिनो पार्दै स्थानीय । लकडाउनपछि धरान–१६ नौलो बस्तीबासीको यस्तै छ दिनचर्या ।

गिट्टी मसिनो पार्ने काममा जुटेका राजकुमार विक पनि नौलो बस्तीकै एक उपभोक्ता हुन् । ढेड दशकदेखि त्यो सडकसँग उनको प्रत्यक्ष साइनो गाँसिएको छ । त्यही सडक आरपार भएर उनी धरान बजारसम्म आइपुग्छन् । उनी पहिलाे पटक नौलो बस्ती टेक्दा गोरेटो थियो । हेर्दाहेर्दै सडकले रूप फेर्दै गयो । उनी, उनको परिवारले पनि शहर आएपछि केही रूप फेरे । हेर्दाहेर्दै बस्ती पनि बाक्लियो । घरहरू थपिए ।

एक घरबाट अर्को घरको दूरी टाढा रहेन । एउटा भित्तो अर्को भित्तोसँग टाँसिँदै गयो । मानौं, नौलो बस्ती सामुहिकतामा बाँच्न सिक्दै छ । हरेक घरबाट जवानहरू बिहान निस्कन्छन् कामको खोजीमा । साँझ परेपछि फर्किन्छन् । चराको जीवनशैलीझैँ छ, नौलो बस्ती । आहाराको खोजीमा बिहान निस्केको चरा साँझमा आफ्नै गुँडमा फर्किएझैँ त्यहाँका जवानहरू पनि साँझ परेपछि उसैगरी फर्किन्छन् ।

त्यहाँ बिहान र साँझ जवानहरूको ताँती हेर्न लायक हुन्छ तर, चैत ११ गतेदेखि सरकारले कोरोना भाइरसका कारण गरिदिएको लकडाउनले नौलोबस्तीको जीवनशैली पनि फेरिदिएको छ । साँझबिहान मात्रै भेटिने जवानहरू घर अगाडिको सडकमा भेटिन्छन् । अझ बूढापाका पनि त्यही सडकमा ठ्याङ–ठ्याङ गर्दै ढुङ्गागिट्टी कुटिरहेका हुन्छन् । बलबूताले भ्याएसम्म परिश्रम गर्छन् तर, त्यो परिश्रमको मोल आउँदैन र पनि उनीहरू ढुङ्गा कुट्न तल्लीन छन् ।

यही वर्ष नौलो बस्तीमा ३ सय मिटर सडकका लागि कालो पत्रे बनाउने योजना परेको थियो । संघीय सांसद् जयकुमार राईले ३० लाख रुपैयाँ विनियोजन गरिदिएका थिए । त्यो बजेटबाट घर अगाडिको सडक बन्ने भएपछि स्थानीय अहिले जनश्रमदानमा जुटेका छन् । त्यहीँ कारण उनीहरू सडकमा ढुङ्गा कुटेकाे मोल लिँदैनन् । तीन सय मिटरको लागि बजेट विनियोजन गरिदिए पनि अहिले जनश्रमदानका कारणले ५० मिटर कालोपत्रे थपिने भएको छ ।

noulo basti

३५० मिटर कालोपत्रे बनाउने ध्याउन्नमा राजकुमारहरू जुटेका हुन् । ‘जनश्रमदान गर्नुपर्छ भनेर भनियो, हाम्रै बाटो हो, किन राम्रो नबनाउने भनेर दुई पटक कुटिसक्यौं’ गिट्टी कुट्दै गरेका राजकुमारले मुख खोले । उनका अनुसार सुरुमा कुटेको गिट्टी ठूलो भएकाले फेरि दोस्रो पटक आआफ्नो क्षेत्रमा कुट्दै छौं । नौलो बस्ती बाटो निर्माण उपभोक्ता समितिका सचिव अमर सुवेदीका अनुसार संघीय सांसद्को ३० लाख र २५ प्रतिशत जनसहभागितामा रकम संकलन गर्नुपर्ने थियो तर यहाँका जनताले रकम तिर्न सक्ने सामर्थ्य नभएकाले २५ प्रतिशत बराबरको जनश्रमदान गरिरहेका छन् ।

असार मसान्तसम्म त्यो सडककाे रूप फरक हुने छ । स्थानीय उपभोक्ता समितिले नै सडक निर्माणमा जुटेको छ । जनसहभागिताको नमूना शहर धरानमा यसरी नै सडकहरू बनिरहेका छन्, याे सबैभन्दा पछिल्लाे उदाहरण हाे । ‘असारसम्म कालोपत्रे गर्छौ’ सचिव सुवेदीले भने, ‘योजनामा आएको ३ सय मिटर मात्रै हो तर जनश्रमदानका कारणले ५० मिटर बढ्ने भएको छ ।’ सडक जोडिएको तीन सय मिटरभित्र करिब २५० घरधुरी छन् ।

लकडाउनको अवधिमा हरेक घरधुरीबाट एक–एक जना खटिएका छन् । नौलो बस्तीमा बन्ने सडक धरान उपमहानगरको सुकुम्बासी बस्तीकै नमूना सडक हुनेमा नेपाल बसोबास बस्ती संरक्षण समाजका केन्द्रीय महासचिव कुमार कार्की विश्वस्त छन् । ‘बस्तीबासीले नै यतिधेरै मेहनत गरेको सडक यहीँ होला’ उनले भने, ‘आफ्नो बाटो भनेर लागी परेका छन् ।’

गोरेटो सडक ढेड दशकको हाराहारीमा कालो पत्रेमा परिणत हुँदै छ तर, अहिले सर्दु करिडोरको कुराले नौलो बस्तीका राजकुमारहरू त्रसित छन् । राजकुमार जस्ताका टिनका घरहरूले कालोपत्रे पाएकाे उल्लास साट्न नपाउँदै उठिबास पाे हुनु पर्ने हो कि !