• दिनेश सुब्बा

पथरी /  मोरङ कानेपोखरी गाउँपालिका–७, स्थित ग्रामीण सुधार सामुदायिक वन उपभोक्ता समूहको आन्तरिक किचलोको कारण एक करोडको काठ घाटगद्दीमै कुहिन लागेको छ । अर्कोतिर घर निर्माण तथा मर्मत गर्ने उपभोक्ताहरुले भने काठ पाएका छैनन् ।

पटक पट्कको समस्याको कारण दाउरा वितरण गर्न नपाएको समूहको अध्यक्ष नवीन राईले बताए । डिभिजन वन कार्यालय मोरङमा ग्रामिण सुधार सामुदायिक वन उपभोक्ता समूह क्षेत्र नम्बर ३ को संयोजक शेरवहादुर लिम्बुले संस्थाको लेटर प्याडमा उजुरी गरेपछि अनुसन्धान सुरु भएको थियो ।

उजुरीको कारण करिव तीन बर्ष अघिदेखि काठ उपभोक्तालाई वितरण गर्न पाएका छैनन । २०७६ अशोज १० गते भएको १९ औं साधारण सभाबाट निर्वाचित नयाँ समितिले घाटगद्दीमा कुहिन लागेको काठ उपभोक्तालाई वितरण गर्नको लागी प्रक्रिया मिलाउने क्रममा रहेको छ ।

डिभिजन वन कार्यालय मोरङमा क्षेत्र नम्बर ३ का संयोजक लिम्बुले करिब २१ लाख रुपैयाँको ‘फर्जी बिल’ मिलाउन लागेको भन्दै गलत सूचनाको आधारमा उजुरी परेको मूल समितिले पत्रकार सम्मेलन गरि जानकारी गराएको छ । नविन राई अघिल्लो कार्यकालको पनि अध्यक्ष हुन । गत साधारण सभाबाट पुन अध्यक्षमा चुनाव लडेरै निर्वाचित भए । ग्रामिण सुधारमा मूलको मातहतमा तीन वटा क्षेत्रीय समिति र आठ वटा वडा समिति रहेको छ । मूल समितिको १९ औं साधारणसभा दुई पटक साधारण सभा र तीन वटा क्षेत्रीय समितिको समेत चुनाव गराउनु परेको अध्यक्ष राईले बताए ।

मूल र क्षेत्रीय समितिको चुनाबै भएको साधारण सभा, सभा अघि र पछि वनमा काम गर्ने मजदुरको रकम तथा वनको काम गर्दा समिति तथा उपभोक्ताहरुले खाएको खाना, नास्ताको करिव २१ लाख ऋण रहेको लेखा समिती संयोजक बिजयगोपाल गड्तौलाले बताए ।

पुरानो समितिको एकाएक विल, भर्पाइ हेरेर उक्त रकम तिर्नुपर्ने दायित्वमा राखिएको संयोजक गड्तौलाले बताए । सोही हिसाबको फर्जी बिल भन्दै उजुरी परेपछि उपभोक्ताहरुले तत्काल काठ नपाउने अवस्था आएको उनले बताए । यद्यपि डिभिजन वन कार्यालय मोरङको आदेशमा सब डिभिजन वन कार्यालय कानेपोखरीले पठाएको पत्रको जवाफ दिइ सकेको समितिले जनाएको छ ।

पुरानो समितिले बुझाएको सम्पूर्ण हिसाबको बिल भर्पाइ एकाएक हेरेर समितिले निर्णय लेखिएको सचिव शान्ता माझीले बताइन । समितिमा आएको कुन बिल वा भर्पाइमा शंका भएको हो हेरौं र त्यो बिल कहाँबाट आएको हो छलफल गरौं भन्दा पनि नमानि ३ नम्बर क्षेत्रीय अध्यक्ष शेरबहादुर लिम्बूको उजुरीको कारण आम उपभोक्तालाई असर परेको मूल समुहको पूर्ब उपाध्यक्ष तथा वर्तमान सदस्य कृष्ण थामिको भनाई छ ।

नयाँ समिती आएपछि भएको वृक्ष रोपन समेतको खर्च भएको अध्यक्ष नवीन राईको भनाई छ । समितिलाई काम गर्न नदिन भ्रम फैलाउनुको साथै समूहकै बद्नाम गर्ने मनसायले प्रचार भइरहेकोले झुटा हल्लामा नलाग्न उपभोक्ताहरुलाई बिज्ञाप्ति मार्फत अनुरोध गरेको छ ।

बिज्ञप्तिमा अध्यक्ष नवीन राई, सचिव शान्ता माझी, कोषाध्यक्ष देबेन्द्र थापा, लेखा समिती संयोजक बिजयगोपाल गड्तौला, १ नम्बर क्षेत्रीय समिती संयोजक केदार राई, २ को दीपक लिम्बू, ३ नम्बर क्षेत्रको सहसंयोजक जितबहादुर राईको हस्ताक्षर रहेको छ ।

ग्रामिण सुधार ८३९.२२ हेक्टर क्षेत्रफल रहेको छ । यो मोरङ जिल्लामै सबभन्दा ठ्लो वन हो । क, ख र ग वर्ग गरि ६ हजार उपभोक्ता रहेको छ । आर्थिक बर्ष २०७४/०७५ मा ३२ हजार किबि साललगायतको काठ काटेर घाटगद्दीमा राखिएको थियो । करिव ११ हजार उपभोक्तालाई वितरण भएपछि किचलो सुरु भयो । अहिले करिव २१ हजार किबि काठ लामो समयदेखि घाटगद्दीमै रहेको छ । काठ जति राख्यो उति गुणस्तर खस्किन्दै जान्छ ।