प्रहरी मेरो साथी भन्ने नारा सुनेको निकै लामो समय भयो । तर लाग्छ साथीको परिभाषा राम्ररी नखुट्याइ नारा बनाइएको हाे कि भन्ने भ्रम पर्न थालेकाे छ । साथी भनेको के हो ? एउटा साथीले अर्को साथीलाई कस्तो रूपमा हेर्छ, कस्तो काममा मद्दत गर्छ त्यो बुझ्न जरुरी छ । तर मजस्ता धेरै नेपालीले महसुस गरेको के हो भने हाम्रो प्रहरीले सर्बसाधारणलाई साथीको रूपमा हेरेका छैनन् । त्यो महसुससमेत गर्ने गरी प्रहरीले पनि काम गरेकाे छैन । 
 
यहाँ थोरै आफ्नै भोगाइ राख्ने अनुमति चाहे । देशब्यापी लकडाउन भइरहेको समयमै छोरी बिरामी परिन् । औषधिको खोजीमा हतारमा चोकतिर लम्किदै थिएँ, रोडको छेउमा लामो डन्डीसहित जनताको सेवामा खटिएका प्रहरी जवानले परैबाट लठ्ठी घुमाए अनि जताबाट आएको उतै फर्किन संकेत गरे । आफ्नो समस्या अलिक जटिल भएकोले गति केही कम गरेर विस्तारै गन्तव्य तिरै लम्किदै थिएँ उनले हप्की शैलीमा भने "जताबाट आएको उतै फर्कि ? भनेको सुनिनस्" म झस्किएँ ।
 
म औषधिको पसलसम्म हिँडेको हजुर बच्चा बिरामी भएर भनेर आफ्नो समस्या दर्साए । "खुरुक्क फर्कने भए फर्किहाल नत्र घाममा ठिङ्ग्राइ दिउला नि दिनभर" । नजिकैको किराना पसल सानो चेपबाट खोलिएको थियो । झन्डै छ दशक उमेर काटेका वृद्ध पसलको छेउमा उभिनु भएको रहेछ । मप्रति श्रद्धाभाव राख्दै उहाँले भन्नुभयो "फर्कनुहोस् बाबु बरू अन्तैबाट जानुहोस् यसले तपाईं हाम्रो पीडा सुन्दैन । मलाई बिहान एक लठ्ठी हान्यो पर पुलनिर अहिलेसम्म दुखिराखेको छ । घरिघरि छेउको झुपडीमा गएर रक्सी पिउँदै आउँछ अनि कुरा नसुनी कुट्छ ।"
 
वृद्ध बाको कुरा सुनेपछि उनीप्रति श्रद्धा जागेर आयो । यति वृद्ध बालाई लकडाउन के हो किन घरभित्रै बस्नु पर्छ भनेर सम्झाउन नसक्ने र सिधै लठ्ठी बजाउने प्रहरीलाई मैले कसरी साथी भनौ ? औषधि जस्तो अत्ति आवश्यक काममा आफ्नो सुरक्षा सतर्कता अपनाएर हिँडेको मलाई कुरै नबुझी लठ्ठी घुमाउने प्रहरीलाई म कसरी साथी भनौ ? हाम्रै प्रहरीसँग सम्बन्धित अर्को प्रसङ्ग पनि राख्न चाहे । देशै लकडाउन भएकोे समयमा सरकारको निर्देशनलाई बेवास्ता गर्नु सिधै नियम कानुनको खिल्ली उडाउनु हो मेरो बुझाइमा । तर आफ्नै गाउँमा महामारी भित्रिएपछि तीव्र गतिमा फैलिने र गाउँ नै सखाप पार्ने त्योभन्दा बढी समुदायमा त्रास बढाउने अवस्था छ ।
 
एकजना गाउँका बुझक्डले त्यसलाई बेवास्ता गरेपछि म टोल विकास, वडा कार्यलय हुँदै जिल्ला प्रहरी सुनसरीसँग जोडिन पुगेँ । जनतालाइ बाँडिएको सजिलो नम्बर १०० मा फोन लगाए र आफ्नो गुनासो सुनाए । मेरो गुनासो सुन्ने ती प्रहरीले मलाई हप्किको शैलीमा भने "अर्काले गरी खाएको तपाईंलाई के आरिस भयो त ?" मैले ती प्रहरी कर्मचारीलाई मेरा गाउँले साँझमा सवारीसाधन लिएर निस्कने र रातभर विभिन्न ठाउँ डुलेर आउने भएकोले समुदायमा संक्रमण फैलने सन्त्रास भएको अनि आफू पनि छिमेकमा भएको हुँदा डराएर बस्नुपरेको गुनासो गरे । उनले मेरा कुरा सुनेनन् उनले तपाईं आफ्नो घरमा बस्नुस न छिमेकमा किन जानुपर्यो भन्ने गैह्र जिम्मेवार जवाफ दिए । यहाँनेर कुरा सन्त्रास मेरो मात्र हुँदै होइन एउटा जिम्मेवार नागरिकको हैसियतले म मेरो टोल छिमेक समुदाय र देशमा भैरहेको नोबल कोरोना भाइरसको संक्रमण र सन्त्रासको कुरा मेरो सुरक्षाको जिम्मा लिएको साथीलाई सुनाउदै थिएँ ।
 
साथीले मेरो जम्मै कुरा नसुनी टेलिफोन सम्पर्क बिच्छेद गरे । उनलेे नसुनेको मेरो कुरा कसलाई सुनाउनु मैले अझै सोच्न सकेको छैन । आपद् विपद्मा साथ दिने देशमा शान्तिसुरक्षा कायम गराउने आपराधिक घटनाको अनुसन्धान गर्ने नेपाल प्रहरीको काम हो । त्याेसँगै जनताको गुनासा सुन्ने र त्यसको समाधान गर्ने काम पनि नेपाल प्रहरीकै हो । जनतासँगै नजिक भएर काम गर्ने र गर्नुपर्ने भएकोले पनि प्रहरीलाई साथीको रूपमा हेर्न र प्रहरीले पनि जनतालाई साथीजस्तै व्यवहार गर्न संगठनले निर्देशन दिएको छ । मुस्कानसहितको सेवा दिन खटिएका मेरा साथीहरूलाई यो महामारीको समयमा मनोबल गिराउने मेरो उद्देश्य पटक्कै होइन । उनीहरूकै मनोबल बढाउन सरकारले खाइपाइ आएको तलब सुबिधामा ८० प्रतिशत जोखिम भत्ता दिने निर्णय गरेको छ ।
 
हेक्का रहोस् त्यो तलब सुबिधा जनताले तिरेको कर हो । आफैँ हप्की तथा कुटाइ खान जनताले कर तिरेका हैनन् । झनै हौसला बढाएर काम गर्नु पर्नेमा आफ्नो लठ्ठीको रवाफ देखाउने प्रहरीलाई के भनौ ? यदि कर्मचारीलाई जनतासामु घुलमिल हुन तालिम पुगेको छैन भने तालिम दिनु पर्यो । देशको विषम परिस्थितिमा जनतासँग घुलमिल भएर काम गर्न हाम्रो प्रहरी प्रसासनले प्रहरी कर्मचारीलाई कस्तो तालिम दिइरहेको छ ? त्यो सोचनीय विषय हो । अहिले देश गृहयुद्दमा फसेकाे छैन ताकि प्रहरीले जताततै बन्दुक तेर्साएर हिँड्न परोस् । अहिलेको माग भनेको ग्राहक सेवा अर्थात कस्टुमर सर्भिस हो । सारा जनता उसका कस्टुमर हुन् । आफ्ना कस्टुमरलाई कस्तो सेवा दिने ? कसरी खुसी पार्ने ? र जनताबाट कसरी सूचना लिने त्यो अहिले नेपाल प्रहरीले सिक्नु पर्छ । तल्लो तहका कर्मचारीलाई सिकाउनु पर्छ अनि मात्र सबैले प्रहरी मेरो साथी भनेर सलाम गर्नेछन् ।
(बञ्जरा ब्लाष्ट टाइम्स दैनिकका पूर्व पत्रकार हुन्)