विजयपुर । सुनसरीको भोक्राहनरसिंह गाउँपालिकास्थित एक परीक्षा केन्द्रबाट नक्कली परीक्षार्थी पक्राउ परेकी छन् ।

मंगलबार भोक्राहनरसिंह गाउँपालिका–४ मा रहेको पृथ्वी माध्यमिक विद्यालय परीक्षा केन्द्रमा सञ्चालन भइरहेको सामाजिक विषयको एसईई परीक्षाका क्रममा अनुगमन गर्दा नक्कली परीक्षार्थी फेला परेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार शिक्षा तथा समन्वय इकाई सुनसरीको टोलीले गरेको अनुगमनका क्रममा उक्त घटना बाहिर आएको हो । जामिआ इस्लामिया विद्यालयमा अध्ययनरत सलमा अजहरको सट्टामा अर्की २० वर्षीया नुसरत बानोले परीक्षा दिइरहेको अवस्थामा फेला परेकी थिइन् । नुसरत बानोलाई प्रहरी चौकी चिरौली चोकबाट खटिएको टोलीले नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय सुनसरीमा ल्याएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।