भनिन्छ, स्वरमा कमान्डिङ्ग गर्ने क्षमता हुनुपर्दछ । कमान्डिङ्ग स्वर भन्नुको अर्थ हो सबै श्रोताको ध्यान आफूतिर आकर्षण गर्ने सामथ्र्य हो । कुनै मानिसको आवाज सानो हुन्छ । कुनै मानिसको आवाज दमदार हुन्छ । कोही मानिस अनकनाउदै बोल्छन् त कोही धारा प्रवाह बोन्न सक्छन् । कसैको आवाज मीठो वा कर्णप्रिय हुन्छ । कसैको आवाज कर्कश वा अप्रिय लाग्ने हुन्छ । कसैले घण्टाैं बोलेको पनि पत्तै हुँदैन । सुनिरहुँ जस्तो लाग्छ । कसैले बोलेको एक छिन पनि सुन्न झर्को लाग्ने हुन्छ । यस्तो किन हुन्छ ? यो सबै तपाईंको आवाजमा भर पर्छ ।

आवज नै मानिसको पहिचान हो

भाषण, उद्घोषण तथा कुनै पनि कुरा प्रस्तुतीकरण गर्दा वक्ताको आवाजले महत्त्वपूर्ण भूमिका राख्छ । शिक्षक, विद्यार्थी, अभिभावक, नेता, हाकिम, व्यापारी, कर्मचारी आदि जो कोहीलाई प्रभावशाली आवाजको आवश्यकता पर्दछ । प्रभावशाली आवाजले मानिसलाई सफल व्यक्ति बनाउन सहयोग गर्दछ । भनिन्छ, तपाईं आफ्नो परिचय नदिनुहोस् । बरु यस्तो ढंगबाट बोल्नुहोस् कि उनीहरू आफैं तपाईंको तीन पुस्ता खोज्दै आउन् । भनाइको मतलव तपाईंको आवाजले श्रोतालाई प्रभावित बनाओस् । र तपाईं को हो ? भनेर तपाईंलाई चिन्ने र परिचय गर्ने चाहना राखून् । हामी भाषण गर्नलाई राम्रो राम्रो शब्द खोजिरहेका हुन्छौँ । तर हामीले बुझ्नु पर्ने कुरा के हो भने प्रस्तुतीकरणमा शब्दभन्दा पनि आवाजको महत्त्वपूर्ण भूमिका हुन्छ । शब्द आफैँले सबै कुरा व्यक्त गर्न सक्दैन । शब्दलाई कसरी उच्चारण गरिन्छ त्यसैले शब्दलाई परिभाषित गर्दछ । शव्द वा वाक्यलाई उच्चारण गर्दा भित्री हृदयबाट भावनात्मक रूपमा उच्चारण गर्नु पर्दछ ।

प्रभावकारी आवाजको लागि विषयबस्तु बारे ज्ञान हुन जरुरी छ

भाषण वा बोली आवाजसंँग मात्र सम्बन्धित छैन । कुनै पनि वक्ताको आवाजलाई धेरै कुराले प्रभावित बनाएको हुन्छ । जसलाई विषयवस्तुको बारेमा राम्रो ज्ञान छ, उसले निर्धक्क भएर धारा प्रवाहका साथ बोल्न सक्छ । जसलाई बोल्ने विषयवस्तुको बारेमा राम्रो ज्ञान छैन । नर्भस हुन्छ, अतालिन्छ । ऊ अड्किएर बोल्छ । त्यसैले तपाईंको आवाज तपाईंले बोल्ने विषयवस्तुको बारे ज्ञानमा पनि भर पर्दछ । त्यसैले वक्ताले प्रभावशाली आवाजको लागि विषयवस्तुबारे राम्रो अध्ययन गरेर राम्रो ज्ञान राख्नु पर्छ । लजाउने र दर्शकहरूसँग डराउने कुराले पनि वक्ताको स्वरमा प्रभाव पार्दछ । शुरुशुरुमा दर्शकसामु उभिएर बोल्दा नर्भस हुने, जानेको कुरा पनि बिर्सने हुन्छ । कतिले त अगाडि अन्धकार देख्छ रे । तब उनको आवाज प्रभावकारी हुने त कुरै आएन । आवाज नै उच्चारण गर्न सक्दैन । भनौँ बोल्नै सक्दैन । यसका लागि बारम्बार अभ्यास गरिरहरनु पर्छ । पहिलो पटक बोल्दा जो कसैलाई पनि यस्तै हुन्छ । तर निरन्तर अभ्यास गर्दै जाँदा र्दशकसामु बोल्दा धक मान्ने कुरा हराएर जान्छ । त्यसकारण पटक पटक बोल्ने अवसर लिनु पर्छ ।

शब्दभन्दा स्वर वा आवाज शक्तिशाली हुन्छ

प्रस्तुतीकरणलाई प्रभावकारी बनाउन शब्दको ७ प्रतिशत भूमिका हुन्छ भने स्वरको ३८ प्रतिशत भूमिका हुन्छ । प्रस्तुतीकरणलाई प्रभाकारी बनाउन बाँकी ५५ प्रतिशत भूमिका आँखा सम्पर्क, अनुहारको भाव, शारीरिक हाउभाउ, प्रकाश, वरिपरिको वातावरण आदि तत्त्वहरूले खेलेको हुन्छ । स्वरलाई प्रभाकारी बनाउन पहिलो कुरा सबैले सुन्ने र बुझ्ने आवाज हुनु पर्दछ । धेरै ठूलो पनि हुनु हुँदैन र धेरै सानो पनि हुनु हुँदैन । सुन्दा कानलाई झन्झट लाग्ने हुनु हुँदैन । अनि शब्द छिटो छिटो पनि बोल्नु हुँदैन र साह्रै ढिलो गरेर पनि बोल्नु हुँदैन । हुन त प्रस्तुतीकरणलाई प्रभावकारी बनाउन स्वर सँगसँगै अन्य तत्वहरुको पनि उत्तिकै महत्त्वपूर्ण भूमिका रहेको हुन्छ । तर यहाँ हामीले स्वरको बारेमा कुरा गरिरहेका छौ ।

आवाज औषधि पनि हो

कतिपयले आवजलाई औषधिको रूपमा पनि लिने गर्दछन् । भनिन्छ नि आधा रोग त डाक्टरको बोलीले नै निको बनायो । एउटाले त्यही कुरा भन्दा नराम्रो लाग्छ । अर्कोले त्यही कुरा भन्दा राम्रो लाग्छ । जब हामी बिरामी हुन्छौ त्याेबेला आफसेआफ हाम्रो मुखबाट विभिन्न किसिमको आवाज आइरहेको हुन्छ । अहहह....उहुुहुहु ....एयायाया....... आदि । यसले हामी भित्रको पीडा वा दुखाइलाई कम गर्ने काम गरिरहेको हुन्छ रे । एक जनाले आवाज औषधि हो भन्ने कुरा पत्याउदैनन् । तब उसलाई विभिन्न रिस उढ्ने कुरा गरिदिन्छन् । तब उ रिसाएर आगो हुन्छ । स्वर ठूलोठूलो हुन्छ । अनुहार रातो हुन्छ । शरीरको तापक्रम बढेर माथी पुग्छ । तब साथीलाई सम्झाउदै भन्छ, यही मेरो कुरा वा आवाजले तिम्राे शरीरको तापक्रम बढायो अथवा तिमीलाई क्षण भरमा नै बिरामी बनायो । यस आवजले तिमीलाई जसरी बिरामी बनायो त्यसरी नै कुनै बिरामीलाई निको पनि बनाउन सक्छ । तव साथीले चित्त बुझायो ।

आत्मविश्वास भए आवाज पनि प्रभावकारी हुन्छ

स्वरलाई प्रभावकारी बनाउन आफूभित्र विश्वास जगाउनु पर्दछ । आवाज वा स्वर प्रभावकारी नहुनुको पछाडि शारीरिक तत्त्वले कम प्रभाव पारेको हुन्छ भने मनोवैज्ञानिक तत्त्वहरूले धेरै प्रभाव पारेको हुन्छ । धेरै मानिसहरूको आवाज यसकारण दबिएको हुन्छ किनकि उसलाई आफूमाथि नै विश्वास हुँदैन । त्यसकारण यदि उनीहरूभित्र आत्मविश्वास जगाउन सकियो भने उसको आवाजमा सुधार ल्याउन सकिन्छ । यसको लागि विभिन्न किसिमको अभ्यास गर्न सकिन्छ । कतिपय शब्द यस्तो हुन्छ कि जसलाई हामी शुद्ध उच्चारण नै गर्न सक्दैनाैं । जुन हामीले पहिलाे पटक बोलेका हुन्छौं । हाम्रो जिब्रोको लागि पनि त्यो शब्द उच्चारण गर्न कठिन हुन्छ । हामी त्यस शब्दसँग परिचित हुँदैनौँ । अनि हाम्रो जिब्रो फड्कारिँदैन । प्रष्ट उच्चारण हुँदैन । यहाँनिर फड्कारिँदैन भन्ने शब्द यदि कसैको लागि नयाँ वा पहिलो पटक बोल्दै गरेको हो भने यस शब्दलाई शुद्ध उच्चारण गर्न गाह्रो हुन्छ । हो यही बेला हाम्रो स्वर सानो वा धेरै छिट्टो हुन्छ । जुन श्रोताले प्रष्ट बुझ्न नै सक्दैन । त्यसकारण नयाँ शब्द बोल्नु पर्ने भए पटक पटक उच्चारण गर्ने अभ्यास गर्नु पर्छ, वा त्यस्तो शब्द बोल्नु नै हुँदैन । त्यसको सट्टा त्यस्तै अर्थ लाग्ने अर्को समान अर्थ लाग्ने शब्द राखेर वाक्य पूरा गर्न सकिन्छ ।

अभ्यासबाट आवाजमा सुधार ल्याउन सकिन्छ

जसरी गायकहरुले रियाज गर्दछन् । त्यसरी नै वक्ताहरूले पनि स्वर प्रभावकारी बनाउन रियाज गर्नु आवश्यक हुन्छ । यसका लागि निम्न कुरा गर्न सकिन्छ ।

१. अनुक्रमाणात्मक शब्दहरू पटकपटक उच्चारण गर्ने, जस्तो

खोला कसरी बग्छ ? .......कलललल....। हावा कसरी चल्छ ? ......सररररर .....। मेघ कसरी गर्जन्छ ? ......गड्याङ्ग गुडुङ्ग...। मोटर साईकल कसरी कराउछ ? गाडीको हर्न कसरी बज्छ ? गाई कसरी कराउँछ ? बाख्रो कसरी कराउँछ ? कुकुर कसरी भुक्छ ? बिरालो कसरी कराउँछ ? सुँगाले कसरी बोल्छ ? हो यस्तो शब्दहरूको उच्चारण गरिरहनाले पनि स्वरमा सुधार आउँछ । आवाज प्रभावकारी हुन्छ ।

२. १ देखि १० सम्म गन्ती गर्नुहोस् । यसलाई विस्तारै शुरु गर्नुहोस् र क्रमशः आवाज बढाउँदै लैजानुहोस् । एकपटक विस्तारै र अर्को पटक जोडले गन्नुहोस् । कहिले लामो लेघ्रो तानेर र कहिले छोटो उच्चारण गर्नुहोस् ।

३. उच्चारणको समयमा पेटबाट आवाज निकाल्नुहोस् । स्वर काम्नु वा च्यातिनु हुँदैन ।

४. एकोहोरो बोलेको बोलै नगर्नुहोस् । केही क्षण बोेलेपछि आराम लिनुहोस् । त्यस समयमा लामो लामो श्वास लिनुहोस् । समय भए पानीको चुस्की पनि लिन सक्नु हुन्छ । किनकि हाम्रो गलाको लागि पानीले गाडीको चक्का घुम्नका लागि ग्रीज र इन्जिनको लागि मोबिलको काम गरे जस्तै काम गर्दछ ।

५. पिरो, अमिलो, धेरै तातो, धेरै चिसो खानेकुरा नखानुहोस् । बोजो, अदुवा, जेठी मधु मुखमा राख्नुहोस् ।

कुनै पनि प्रस्तुतीकरण प्रभावकारी बनाउन वक्ताको आवाजको महत्त्वपूर्ण हुन्छ । आवाज राम्रो बनाउन पूर्व तयारी राम्रो गर्नु पर्दछ । राम्रो पूर्व तयारी गर्ने क्रममा बारम्बार अभ्यास गर्नु पर्दछ । हामी जति बढी अभ्यास गर्दछौ । त्यति नै बढी आत्मबल बढ्छ । जब आत्मबल बढ्छ तब गरिएको प्रस्तुति प्रभावकारी हुन्छ । आवाजलाई मिठासपूर्ण र प्रभावकारी बनाउन पनि अभ्यासको आवश्यकता पर्दछ । नियमित अभ्यास गर्नुहोस् आवाजलाई प्रभावकारी बनाउनुहोस् ।