प्रदेश १ मा ४ वटा साझेदारी वन छन् । ती चारैवटा मोरङमै रहेका छन् त्यसमध्ये मोरङमा पुर्वपश्चिम राजमार्गको उत्तरतर्फ चारकोसे झाडी वन क्षेत्रमा १ हजार ६४६.७३ हेक्टरमा फैलिएको छ बेलवारी चिसाङ साझेदारी वन । वनबाट टाढा रहेर वन पैदावार उपभोक्ताबाट बञ्चित रहेका उपभोक्ताहरूलाई समेत वनमाथि पहुँच स्थापित गर्नका लागि नेपाल सरकारको साझेदारी वनको अवधारणा अनुरूप जिल्लामा रहेका साविकको ३ वटा नगरपालिका र १४ वटा गाविसका १४४ वडाहरुको ३५ हजार ९ सय ९७ घरधुरीबाट गठन भएको यस साझेदारी वन छोटो समयमा नै उपभोक्ताहरू बीच लोकप्रिय बन्दै गएको छ । कोरोना भाइरसको महामारीका कारण सरकारले गरेको लकडाउनमा पनि उत्तिकै सक्रिय यो साझेदारी वनले कस्ता गतिविधि गरिरहेको छ भन्ने विषयमा बेलबारी–चिसाङ साझेदारी वनका संयोजक दिनेश गिरीसँग ब्लाष्टकर्मी विवेक मिश्रले गरेको कुराकानीः

साझेदारी वनको मुख्य लक्ष्य के हो ?

वनको दीगो एवम् वैज्ञानिक व्यवस्थापनद्वारा पारिस्थितिकीय सन्तुलन कायम राखी साझेदारी वन व्यवस्थापन समूहमा वन पैदावारको सरल एवम् सहज आपूर्ति गरी गरिबी न्यूनीकरण तथा राष्ट्रिय अर्थतन्त्रमा टेवा पु¥याउनु मुख्य लक्ष्य रहेका छ ।

साझेदारी वनको मुख्य उद्देश्य चाहिँ के हो ?

सघन वन व्यवस्थापन पद्दतिबाट वनलाई उत्पादनमूलक बनाउनु नै हाम्रो मुख्य उद्देश्य हो । दक्षिणी भेगका तथा टाढाका उपभोक्ताहरूलाई समेत प्राकृतिक स्रोत साधनमा पहुँच पु¥याउँदै, संघीय वन नीति अनुरूप वन विकासको माध्यमबाट समूहभित्रका विपन्नहरूको जीवनस्तरमा सुधार गर्नुको साथै वन, वन्यजन्तु, वनस्पति तथा वातावरणको संरक्षण गरी जैविक विविधताको संरक्षणमा टेवा पु¥याउनेलगायतका उद्देश्यहरू छन् ।

वैज्ञानिक वन व्यवस्थापन प्रक्रियासँग यस साझेदारी वनको कस्तो सम्बन्ध रहन्छ ?

अवश्य पनि वैज्ञानिक वन व्यवस्थापन प्रक्रियासँग यस साझेदारी वनको सम्बन्ध रहन्छ । त्यही भएर हामीले वैज्ञानिक वन व्यवस्थापन लागू गरेका छौँ । हामीले यस वन क्षेत्रको भूभागलाई ८० टुक्रामा विभाजन गरेका छौँ र ती ८० टुक्राको प्रत्येक एक टुक्रालाई एउटा वर्षमा काट्ने गरी तयार गर्छौ । यस हिसाबले अबको ८० वर्षमा मात्र एक चरणको प्लट सकिन्छ तर त्यो सकिँदा हाल काटिएको ठाँउमा फेरि काट्न मिल्ने रुख उत्पादन भइसकेका हुन्छन् । हाम्रो यहाँको वन भनेको विषेस गरी सखुवा (साल) पाइने क्षेत्र हो र सालको अधिकतम वृद्धि विकास हुने समय अर्थात् बालीचक्र भनेको ८० वर्ष रहेको विज्ञहरूको भनाइ छ ।

काठ दाउरा बिक्री वितरण कसरी गर्ने गर्नुभएको छ ?

साझेदारी वनबाट जति वनपैदावार निस्कन्छ, त्यसलाई घाटगद्दी गरिन्छ । दाउरालाई २०/५ को चट्टा लगाइन्छ र जति जेजे निस्कन्छ त्यस्को ठिक्क आधा दुई भाग लगाइन्छ । यसको आधा भाग नेपाल सरकारको डिभिजन वन कार्यलयमा यसको लगत पठाइन्छ र डिभिजनले आएर चेकजाँच गर्छ त्यहाँबाट क्षेत्रिय वन कार्यालयमा यसको लगत पठाइन्छ र त्यहाँबाट पनि चेकजाँच हुन्छ । सबै प्रक्रिया पु¥याई सकेपछि मात्र बल्ल हामीले रोज्न पाउँछौ । त्यसको मूल्य निर्धारण जिल्लाको डिएफसिसी स्तरको निर्णयबाट हुन्छ र त्यसपछि यहाँबाट बोर्डरसम्मका उपभोक्ताहरूलाई वितरण गरिन्छ ।

वन संरक्षणमा कसरी लाग्नु भएको छ ?

साझेदारी वनक्षेत्रमा चोरी निकासी नियन्त्रण, अवैध वन पैदावारको नियन्त्रण गरी वन संरक्षणको प्रत्याभूति दिलाउन प्रति कम्पार्टमेन्ट २ जनाका दरले जम्मा ८ जना वन हेरालुको व्यवस्था गरिएको छ । लकडाउनको समयमा पनि हाम्रो कार्यालय कहिलै पनि बन्द छैन, सबै कर्मचारीहरू कार्यालय आउनुहुन्छ । संक्रमणबाट हुने जोखिम न्यूनीकरणका लागि माक्स, पञ्जा र सेनिटाइजरको प्रयोग गरेर सामाजिक दूरी कायम गर्दै निरन्तर आफ्नो काममा खटिरहनु भएको छ । वन क्षेत्रमा डढेलो लाग्न नदिन स्थानीय स्तरमा चेतनामूलक गतिविधि गर्नुको साथै डढेलो नियन्त्रणको लागि हामी सबैको सक्रियताको साथ त्यस क्षेत्रमा उपस्थिति रहन्छ ।

धेरै ठाउँमा लकडाउन समयमा चोरीतस्करी बढ्यो भनेका छन् नि यहाँको अवस्था कस्तो छ ?

लकडाउन अवधिमा अन्यत्रको चाहिँ मैले पनि समाचारहरू सुनिरहेको छु तर हाम्रोमा त्यो छैन । हामीले लकडाउनको बेला पनि करिब सयभन्दा बढी साइकल नियन्त्रणमा लिएर कारबाही गरिसकेका छौँ । हामी चौबिसैं घण्टा पालो गर्दै वन हेरिरहेका हुन्छौ । त्यसमा पनि हामीसँग नजिकै इलाका प्रहरी बेलबारी, प्रहरी चौकी भाउन्ने र सशस्त्र प्रहरी लक्ष्मीमार्ग पनि नजिकै छ त्यसैले हाम्रोमा चोरी तस्करी कसैले नचिताए पनि हुन्छ ।