यासोक/ बस्तीको बीचमा सानो घर छ । घर छेउछाउ दुर्गन्ध फैलिएको छ । साँघुरो घरको सिकुवामा खाल्डाखुल्डी र फोहोर छ । घरभित्र साँघुरो कोठा छ । एकापट्टि बाख्रा बाँधिएको छ भने अर्कोपट्टि खाना पकाउने चुलो छ । बाख्राको पिसाबले कोठा नै दुर्गन्धित छ ।

तर त्यही दुर्गन्धित कोठामा ८० वर्षीया वृद्धा देवीमाया बुढाथोकी र उनका ५१ वर्षीय छोरा शेरबहादुर बुढाथोकी बस्दै आएका छन् । फोहोर र दुर्गन्धले देवीमाया लामो समयदेखि बिरामी भएकी छन् । यो कहालीलाग्दो अवस्था पाँचथरको कुम्मायक गाउँपालिका–१ स्थित बुढाथोकी बस्तीको हो ।

जमिनको नाममा खुट्टा टेक्ने ठाउँ नहुँदा पीडितलाई स्थानीयले आश्रय दिएका छन् । थोत्रा र मैला लुगा लगाएर वर्षौंदेखि त्यही कोठामा जीवन काट्दै आएको परिवार मागेर छाक टार्ने गर्छ । सरकारले ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता दिँदै आएको छ । तर देवीमायाले नागरिकता पाएकी छैनन् । एकातिर नागरिकता नहुँदा राज्यको सुविधाबाट बञ्चित हुनुपरेको पीडा छ भने अर्कोतर्फ पीडित परिवारले सुकुम्बासी जीवन बिताउँदै छ ।

खाली जमिनमा थोत्रा कपडा ओढेर रात कटाउने गरेको पीडित देवीमायाले सुनाइन् । उनी भन्छिन्, ‘खानेकुरा खोज्न छोरो जान्छ । कहिले लिएर आउँछ, कहिले खाली हात फर्किन्छ ।’ खानेकुरा नभएपछि धेरै रात भोकै काटेको दुःखेसो बुढाथोकीको छ । ओछ्याउने केही नभएपछि खाली भूइँमा सुत्नुपरेको छोरा शेरबहादुरले बताए ।

‘आमा बिरामी हुनुहुन्छ । उपचार गर्ने पैसा छैन । राति जाडो हुन्छ’ –भूइँमा छरपस्ट च्यातिएका लुगाहरू भेला पार्दै उनले भने । वृद्धा आमालाई चिसोबाट जोगाउन नसकेको उनको गुनासो छ ।

सानै उमेरमा बुढाथोकीको विवाह भएको थियो । तर श्रीमान्ले दोस्रो विवाह गरेर जग्गा–जमिन कान्छी श्रीमतीको नाममा पास गरे । लामो समयपछि श्रीमान्को निधन भयो । श्रीमान्को निधनपछि जग्गा–जमिन कान्छी श्रीमतीको नाममा भएकाले अहिलेसम्म न्याय नपाएको परिवारको गुनासो छ ।

कान्छीआमाका छोराहरू अहिले पनि छन् । तर पीडितले पाउनु पर्ने अधिकार अहिलेसम्म पाउन नसकेको स्थानीय मणिरत्न बुढाथोकीले बताए । ‘नागरिकता भए उनीहरूले पाउने अधिकारको खोजी गर्न सहज हुन्थ्यो । तर नागरिकता नभएपछि समस्या भएको छ’– बुढाथोकीले भने ।