उदयपुर/ ‘जान्नेलाई श्रीखण्ड नजान्नेलाई खुर्पाको बिँड’ भने झैँ उदयपुरका कृषकहरूलाई कफी निल्नु न ओकल्नु भएको छ ।

पहाडी भेगका कृषकहरूले लगाएको कफीले राम्रो उत्पादन दिए पनि बजार नपाएपछि घाँटीको हाड बनेको हो । राम्रो आम्दानीको स्रोत बन्ने आशाले बारीमा लगाएको कफीले बजार नपाएपछि रौतामाई गाउँपालिका–५ का कृषकहरूले कफी फाँड्न थालेका छन् । बजारमा कफी प्रति केजी एक हजार रुपैयाँमा विक्री वितरण हुने सुनेको भए पनि अहिलेसम्म एक रुपैयाँमा पनि विक्री नभएको कृषकहरूले बताएका छन् ।

बारीमा लगाएको कफि खाएर पनि नसकिने र बेच्नको लागि बजार नपाएकाले बोट ढाल्नु बाहेक कुनै उपाए नभएको कृषक असारबहादुर राईले बताए । वयस्क बोटले करिब ५ केजी भन्दा माथि नै उत्पादन दिने भएकाले घरमा खाएर गाउँमा बाँडेर पनि नसकिने भएको उनले बताए ।

गाउँमा प्रायः सबै घरमा एक दुई बोट कफी लगाएको छ । १÷२ मानाले नै वर्ष दिन भरि खान पुग्ने भएकाले अरू गाई वस्तुलाई खोले पकाएर दिन नमिल्ने र अरू केही गरी खान नमिल्ने भएकाले बोट नै ढालिदिएको कृषक राईले बताए । कृषक राईले भने “बजारीकरण भए घुरेन र कोठे बारीमा लगाएको केही बोटले नै राम्रो आम्दानी हुने रहेछ । तर, बारीमा लगाएको कफी विक्री वितरण नभएपछि निल्नु न ओकल्नु भएको छ ।”

उक्त क्षेत्र कफीको लागि उपयुक्त ठाउँ हो । अर्गानिक कफी गाईघाटमा समेत विक्री वितरण नभएको कृषकहरूले बताएका छन् । होटलहरूमा विदेशी बजारको कफी आउने भएकाले पनि गाउँमा उत्पादन भएको कफीले स्थान नपाएको कृषकहरूले बताएका छन् ।

कफी रोपेको करिब दुई अढाई वर्षदेखि नै उत्पादन दिन थाल्ने भएकाले बजारीकरण भए राम्रो आम्दानीको स्रोत हुने स्थानीय युवा सीताराम राईले बताए । अहिले गाउँघरमा चियाको प्रयोग हुँदैन । आफ्नै घरमा उत्पादन भएको कफी खाने र पाहुनालाई पनि दिने गरेको राईले बताए ।

आफैले त्यो पनि गाई, भैँसीको गोबरमा उत्पादन भएको कफी स्वास्थ्यका लागि पनि निकै लाभदायक हुने देखिन्छ । तर, बजारीकरण नहुँदा व्यावसायिक खेती गर्न नसकिएको राईले बताए । खेती गर्न शुरुवात गरेकाहरूले पनि बोट ढाल्न थालेका छन् । घरमा खाने १/२ बोट राखेर बाँकी सबै बोट ढाल्न थालेको उनले बताए ।

नेपालमा उत्पादन भएको कफी महँगो मूल्यमा विदेश विक्री हुने सुनेको भएपनि गाउँमा उत्पादन भएको कफीले बजार पाउन सकेन । सुन्तला, सिन्कौली, बाँस, अम्लिसो जस्तै कफी पनि राम्रो उत्पादन हुने गरेको राईले बताए । सुन्तला र सिन्कौलीले मात्रै बजार पाएको छ । अन्य उत्पादित कृिषजन्य वस्तुले बजार पाउन नसक्दा कृषकहरू निरुत्साहित हुँदै गएको उनले बताए ।

उक्त क्षेत्रमा सबै खाले नगदे बाली हुने भएकाले बजारीकरणको समस्या ठूलो पहाड बनेर रहेको राईले बताए । सुन्तलादेखि रुद्राक्ष र एभोकाडो सम्म राम्रो उत्पादन हुन्छ । तर, उत्पादन भएका कृिषजन्य वस्तुले समेत बजार नपाउँदा कृषकहरूको गलाको हाड भएको उनले बताए । सम्बन्धित निकायले यस्ता उत्पादित कृषिजन्य वस्तुको बजारीकरण गर्न जरुरी छ । उचित मूल्य कायम गर्दै बजारीकरण गर्न सके मात्रै स्थानीय समुदायको आर्थिक स्तर सुधार हुने देखिन्छ ।