२१ औं शताब्दीमा प्रविधि मानव विकासका लागि नङ र मासु जत्तिकै सम्बन्ध छ । प्रविधि भएन भने एक दिन त के एक क्षण पनि कल्पना गर्न सकिदैन । अहिले गाँस, बास र कपास जस्तै अपरिहार्य वस्तु बनिसक्यो प्रविधि । ६० को दशकसम्म नेपालीहरू प्रविधिमा एकदमै पहुँच राख्थे । तर, एक दशकको दर्बियानमा अवस्था कहाँदेखि कहाँ पुग्यो । हरेकको हात–हातमा मोबाइल र प्रविधिका कुनै न कुनै सामग्री देखिन्छन् । छोटो अवधिमै भित्रिएको तीव्र गतिको प्रविधिकै कारण हुनसक्छ, यसका विकृतिहरू पनि समाजमा प्रसस्तै देखिन थालेका छन् । त्यसैको एउटा नमूना उदाहरण बनेको छ मोरङ उर्लाबारीकी एक किशोरीको कथा । कथाअनुसार किशोरी (परिवर्तित नाम निशा धिमाल) सामाजिक सञ्जाल फेसबुकमार्फत् चिनजानका आधारमा मायाप्रेममा परेको देखिन्छ । त्यही मायाप्रेमले उनीहरूभित्रको प्रेम अङ्कुरायो । जसका कारण अहिले उनको विचल्ली बनेको छ । घटनाको प्रकृति सामान्य छ, कुनै समय चिठ्ठीपत्रमार्फत् हुने मायाप्रेम अहिले सामाजिक सञ्जाल अर्थात् प्रविधिमार्फत् हुन थालेको छ । हिजो चिठ्ठीमार्फत् हुन्थ्यो, आजकाल इमेल, इन्टरनेट, तथा सामाजिक सञ्जालमार्फत् प्रकट हुन थालेका छन् । यथार्थमा हेर्ने हो भने रूप मात्रै फरक छ । तर, तथ्याङ्कमा यस्ता घटना भयावह बन्दै गइरहेका छन् ।

तथ्याङ्क अनुसार नेपालमा ९० लाखले फेसबुक, ६० लाखले ट्वीटर र ४० लाखले युट्युव चलाउँछन् अर्थात् उनीहरू प्रविधिको पहुँचमा छन् । गाँस, बास र कपासझैं अपरिहार्य बनेको प्रविधिको सही भन्दा गलत प्रयोग दिनानुदिन बढ्दो छ । यसलाई रोक्न कानूनहरू बनेका छन् । प्रविधिले अपराधहरू पनि बढाइरहेका छन् । ठगीहरू निम्त्याइरहेका छन् । धिमाल किशोरीसँग भएको घटनालाई हेर्ने हो भने कतै न कतै ठगीको वर्गीकरणभित्र पर्न सक्छ । तर, यसलाई कानूनका अध्येताहरूले प्रष्टाउन सक्लान् । भोलि किशोरी निशालाई प्रेमजालमा फसाउने मोरङ बेलबारी–३ का निशान पक्राउ पर्लान् । त्यसपछि कानूनी कारबाही अगाडि बढ्दा अदालतले कुनै न कुनै परिभाषाभित्र राखेर आदेश र फैसला सुनाउँला । यो घटनाले एउटा दृश्यलाई मात्रै देखाउँदैन । यो घटना अपराधलाई पनि डो¥याउने प्रयत्न गरेको छ । मायाप्रेमको मोह जालमा फसाएर जुन गल्ती गरिएको छ त्यो अपराधको सूचक पनि हो । कानूनी उपचार खोज्ने अवस्था पनि हो । प्रविधि दैनानुदिन जीवनका लागि जति अपरिहार्य छ, त्यति नै घातक पनि छ भन्ने कुरा अहिलेको किशोर पुस्ताले बुझ्न पनि जरुरी छ ।

यो घटना केही क्षेत्रका लागि पाठ हुन सक्छ । हाम्रा बच्चाहरूलाई हामी कस्तो शिक्षा दिइरहेका छौं । हो, प्रविधिले बालबालिकाहरूलाई नयाँ ज्ञान अवस्य दिन्छ । तर, उनीहरूले त्यसलाई कसरी प्रयोग गरिरहेका छन् भन्ने जानकारी वा सूचना अभिभावकहरूले राखिरहनुपर्छ । निगरानी गर्नुपर्छ । किनकि निशा कसै न कसैकी छोरी हुन्, चेली हुन् । सयममै निशालाई निगरानी गरिदिएको भए अहिले अवस्था फरक हुन सक्थ्यो । त्यो हेक्का हरेक अभिभावकमा हुनुपर्छ । प्रविधिलाई रचनात्मक ढङ्गले प्रयोग गर्ने वातावरण तयार अभिभावकहरूले गरिदिने हो । त्यो बेला कानून आकर्षित हुन्न । जब अपराध हुन्छ, अनिमात्रै कानून आकर्षित हुन्छ । त्यही कानूनलाई ब्याख्या गरेर अदालतले आदेश र फैसला सुनाउँछ । तर, त्यो घडी आउन नदिन किशोरकिशोरी पनि सचेत हुनुपर्छ । त्योभन्दा बढी अभिभावक सचेत हुनुपर्छ । अनिमात्रै हुनसक्ने सम्भावित घटनालाई निर्मूल पार्न सक्छौं । अपराधलाई निरुत्साहित बनाउन सक्छौं ।