विराटनगर । नेकपा (एमाले) का सांसद तथा प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिकी सभापति ऋषिकेश पोखरेलकी श्रीमती अञ्जला कोइराला जोडिएको उमागौरी कृषि सहकारी प्रकरणको ठगी मुद्दाको पेशी स्थगित भएको छ ।

उच्च अदालतको दुई न्यायाधीशको राय बाझिएपछि बिहीबार न्यायाधीश कृपासुर कार्कीको इजालशमा पेशी तोकिएको थियो । तर, निवेदक ज्योति बास्कोटा निवेदकको कानुन व्यवसायीले बिहीबारको पेशी स्थगित गराइ पाउँ भन्दै निवेदन दिएपछि पेशी स्थगित भएको उच्च अदालत विराटनगरका रजिष्ट्रार जगदिशप्रसाद भट्टले जानकारी दिए ।

‘एउटा स्थगित भएपछि अरू निवेदकहरू अञ्जला कोइराला, सन्तलाल खवास, रोशन राजवंशी, योगिता शर्मा बास्तोलाको पनि लगाएको कारणबाट पेशी स्थगित भएको छ’ रजिष्ट्रार भट्टले भने, ‘अर्को पेशी फेरि आउने बिहीबार जेठ १ गते चढ्ने छ ।’ मोरङ जिल्ला अदालतको आदेशविरुद्ध सरकारी वकिलको कार्यालयले अन्जलासहित ६ जना प्रतिवादीलाई थुनामा राखेर आदेश गरिनुपर्ने माग राख्दै पुनरावेदन गरेका थिए । 

११ वैशाखमा उच्च अदालत विराटनगरका न्यायाधीशद्वय श्रीधराकुमारी पुडासैनी र केशवप्रसाद बास्तोलाको राय बाझियो  । अञ्जलासहित ६ प्रतिवादीको हकमा दुई न्यायाधीशबीच थुनामा पठाउने कि नपठाउने भन्ने सम्बन्धमा होइन, धरौटी रकम बढाउने कि नबढाउने भन्ने विषयमा मात्र राय बाझियो । त्यसपछि तेस्रो न्यायाधीशको इजलासमा बिहीबार पेशी चढेको हो ।

न्यायाधीश केशवप्रसाद बास्तोलाले  प्रतिवादी मध्येका रोशन  राजवंशी, अञ्जला कोइराला, ज्योति बास्कोटा र सन्तलाल खवासको हकमा जनही एक करोड र अन्य प्रतिवादीहरू लक्ष्मीदेवी कार्की राजवंशी, सुमन लोहनी र मनोजकुमार सोनीको हकमा जनही २५ लाख रुपैयाँ धरौटी माग गर्ने राय पेश गरेका थिए । तर न्यायाधीश श्रीधराकुमारी पुडासैनीले जिल्ला अदालत मोरङले गरेको आदेशलाई सदर गरेकी छन् । न्यायाधीश बास्तोलाले सहकारीका अध्यक्ष शम्भुप्रसाद रौनियारलाई जिल्लाको आदेशलाई सदर गर्दै पुर्पक्षमा पठाएको हकमा पनि सहमत भएका छन् ।

जिल्ला अदालतले अञ्जलालाई १० लाख, ज्योतिलाई पाँच लाख, लक्ष्मी देवीलाई ५० हजार, सुमन लोहनीलाई दुई लाख र मनोजकुमार सोनीलाई एक लाख रुपैयाँ धरौटीमा छोड्न आदेश दिएको थियो । सरकारी वकिलको कार्यालयले सहकारी ठगी प्रकरणमा अञ्जलासहित ६ जनालाई जिल्ला अदालत मोरङले गरेको आदेश बदर गरी थुनामै राखेर अनुसन्धान गर्न माग राख्दै उच्च अदालत विराटनगरमा पुनरावेदन गरेको छ ।

मोरङको धनपालथान गाउँपालिका–४ स्थित उमागौरी सहकारी संस्थाको २२ करोड ४८ लाख २७ हजार सात सय रुपैयाँ हिनामिना गरी सहकारीको रकम अपचलन गरेको आरोपमा सहकारी ऐनअन्तर्गत मोरङ अदालतमा मुद्दा दर्ता भएको थियो । तत्कालीन न्यायाधीश उद्धवप्रसाद भट्टराईको इजलासले गत पुस २४ गते कोइरालालाई १० लाख रुपैयाँ धरौटी बुझाएर छोड्न आदेश दिएको थियो ।

गत मङ्सिर २७ गते सहकारीको रकम हिनामिना प्रकरणमा अञ्जलासहित २६ जनालाई प्रतिवादी बनाएर मोरङ अदालतमा मुद्दा दायर गरिएको थियो । अदालतले ३ पुसमा उनीसहित २५ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । सहकारी ठगी मुद्दामा सहकारी अध्यक्ष शम्भुप्रसाद रौनियार र धनपालथान–४ का पूर्व वडाध्यक्ष रोशन राजवंशी थुनामा छन् ।

अन्य धरौटीमा छुटेका छन् भने एक दर्जनभन्दा बढी अभियुक्त अझै फरार रहेका छन् । उमागौरी कृषि सहकारीमा आठ हजार आठ सय ४२ जना शेयर सदस्य थिए । शेयरबापत तीन करोड आठ लाख ९० हजार रकम रहेको थियो । सहकारीमा सात सय सात जना ऋणीहरूका नाममा २४ करोड ३० लाख २२ हजार आठ सय रुपैयाँ ऋण परिचालन भएको उल्लेख छ । हाल सहकारी बन्द छ ।