इटहरी । सुनसरीको दुहबी नगरपालिका–३ स्थित फुटानीचोकमा पिकअप भ्यान दुर्घटना हुँदा त्रियुगा नगरपालिका–८ राजाबास निवासी ३० वर्षीय प्रहरी असइ विरोध खतिवडाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार शनिबार दिउँसो ११ः५० बजे इटहरीबाट विराटनगरतर्फ गइरहेको दाउरा बोकेको प्र.२–०१–००१ च ०२५१ नम्बरको पिकअप भ्यान अनियन्त्रित भई सडकछेउको फलामे रेलिङमा ठोक्किएर दुर्घटना भएको हो । 

उक्त दुर्घटनामा गम्भीर घाइते भएका खतिवडालाई तत्काल उद्धार गरी विराटनगरस्थित विराट टिचिङ अस्पताल पुर्याइएको थियो । उपचारको क्रममा दिउँसो १२ः२१ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए । खतिवडा जिल्ला प्रहरी कार्यालय सुनसरीमा कार्यरत थिए ।

दुर्घटनामा पिकअप भ्यानका चालक उदयपुर चौदण्डीगढी–६ का ३८ वर्षीय सुरेश कार्की र उनकी १४ वर्षीया छोरी रोजिना कार्की पनि सामान्य घाइते भएका छन् । उनीहरूको अवस्था खतरा मुक्त रहेको जनाइएको छ ।