धरान । सुनसरीको वराहक्षेत्र नगरपालिका–५ तीनकुनेमा रहेको एक घरबाट लाखौं रुपैयाँ बराबरको सुनचाँदीका गरगहना र नगद चोरी भएको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीले दिएको जानकारीअनुसार स्थानीय दिलबहादुर श्रेष्ठको एकतले टिनको छानासहितको पक्की घरमा डेरा गरी बस्दै आएकी ४५ वर्र्षीया गङ्गा नेपालीको कोठाबाट अज्ञात व्यक्तिले चोरी गरेको हो ।
उक्त घरमा कोही पनि नभएको मौका छोपेर शुक्रबार राति ८ बजेको समयमा कोठाको ताल्चा फोडी दराज तोडेर चोरले गरगहना र नगद रकम चोरी गरेको पीडित नेपालीले बताएकी छन् ।
उनको कोठाबाट ५ आनाको सुनको औँठी, आधा तोलाको सुनको सिक्री, ३ आनाको सुनको तिलहरी, २ आनाको सुनको चन्द्रमा, ६ आनाको सुनको अनारकली र ३ तोला चाँदीको पाउजुका साथै नगद ३५ हजार चोरी भएको प्रहरीले जनाएको छ ।
चोरी भएका सुनचाँदीको अनुमानित मूल्य ३ लाख २० हजार भएको प्रहरीलेजनाएको छ । हालसम्म चोरी गर्ने व्यक्तिहरूको पहिचान भइनसकेको तर खोजी कार्य भने जारी राखेको प्रहरीले जनाएको छ ।