विराटनगर/ विराटनगर–१८ बुधनगरमा निर्माण सम्पन्न भएको एकीकृत जाँच चौकी (आईसीपी) नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्तरूपमा उद्घाटन गरेका छन् ।

भिडियो कन्फरेन्समार्फत् प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारस्थित निवासबाट र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँदिल्लीस्थित हैदरावाद हाउसको आफ्नो कार्यालयबाट एकैपटक डिजिटल स्विच थिचेर संयुक्तरूपमा मङ्गलबार उद्घाटन गरेका हुन् । अब विराटनगरको रानी भन्सार कार्यालय बुधनगरमा स्थानान्तरण गरी एक साताभित्रमा सञ्चालनमा आउने बताइएको छ ।

जसबाट समयमै सहजरूपमा वस्तु आयात–निर्यात गर्न सकिने र सवारी चापको समस्या पनि हट्ने अपेक्षा गरिएको छ । आईसीपी पूर्ण क्षमतामा सञ्चालनमा आउन अझै एक साता लाग्ने नेपाल इण्टर मोडल यातायात विकास समितिका कार्यकारी निर्देशक एवम् उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव नवराज ढकालले जानकारी दिए । आईसीपीको औपचारिक उद्घाटन मङ्गलबार गरिए पनि मालवस्तुको जाँचपासका लागि आवश्यक पूर्वाधार अझै तयार नभइसकेकाले पूर्ण सञ्चालनमा आउन समय लाग्ने भएको हो ।

१ सय २९ बिघा क्षेत्रफलमा भारत सरकारले आईसीपी बनाइदिएको हो । नेपालतर्फको आईसीपीको निर्माण गर्न २ वर्ष ६ महिनाको समय लागेको छ । भारततर्फको आईसीपी तीन वर्षअघि नै सञ्चालनमा आइसकेको छ । नेपालमा जमिनको मुआब्जा विवादमा समय धेरै लागेकाले जमिन बेलामा हस्तान्तरण हुन नसकेर आईसीपीको निर्माण लम्बिएको हो । आईसीपी निर्माणका लागि भारतको दिनेशचन्द्र आर अग्रवाल इन्फ्राकन प्रालि अहमदावादले सन् २०१६ डिसेम्बरमा १ अर्ब ८३ करोड ३२ लाख ८० हजारमा निर्माणको ठेक्का सम्झौता गरी निर्माण कार्य असोज १५ मा पूरा गरेको हो । निर्माण सम्पन्न भएको चार महिनापछि आईसीपी हस्तान्तरण भई उद्घाटन भएको हो ।

उद्घाटन गरिएको आईसीपीभित्र मुख्य भवन, डिस्पेन्सरी, इलेक्ट्रिकल सवस्टेसन, कस्टम्स् बिल्डिङ, सशस्त्र प्रहरीको सुरक्षा ब्यारेक, मालवाहक सवारीका चालक र सह–चालकका लागि डोरमेटरी र क्वारेन्टाइनका छुट्टा–छुट्टै आठवटा भवन छन् । यसबाहेक चारवटा वाच टावर, दुईवटा वेयर हाउस, दुईवटा इम्पोर्ट एक्स्पोर्ट प्रोसेसिङ सेड र ८० मेट्रिक टन क्षमताका दुईवटा धर्मकाँटा छन् । आईसीपीको क्षेत्रभित्र कालोपत्रे सडकमात्र नौ किलोमिटर बनाइएको छ । आईसीपी र धरान–विराटनगर सडक जोड्न साढे चार किलोमिटरको छुट्टै सडक (लिङ्क रोड) पनि भारतीय सहयोगमा निर्माण गरिएको छ ।

दुई मुलुकबीचको सम्बन्ध उदाहरणः प्रम ओली
बालुवाटारस्थित निवासबाट आईसीपीको उद्घाटनको क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले दुई मुलुकबीचको सम्बन्धको उदाहरण भएको बताए । यसले दुई देशको सम्बन्ध थप उचाइमा पुगेको प्रधानमन्त्री ओलीले बताए । भारतीय समकक्षी नरेन्द्र मोदीसँगै भिडियो कन्फरेन्समार्फत् उद्घाटन गर्दै ओलीले आपसी सम्बन्ध नयाँ उचाइमा पुगेकाले यसका आधारमा आपसी सहमति र साझेदारीका विषयलाई ‘एक्सन’ मा उतार्ने समय आएको बताए ।

ओलीले नेपालले लिएको ‘समृद्ध नेपाल, सुखी नेपाली’ को सोच झैँ भारतीय प्रधानमन्त्री मोदीको ‘सबका साथ, सबका विश्वास’ को नारा रहेको बताए । ‘बाँकी रहेका केही विषयमा पनि दुई देशबीच बसेर समस्या समाधान गर्नुपर्नेछ’ भिडियो कन्फरेन्समा ओलीले भने, ‘त्यसका लागि नेपाल सरकार आतुर छ ।’ भिडियो कन्फरेन्सका क्रममा प्रधानमन्त्री ओलीले भारतीय समकक्षी मोदीलाई नेपाल भ्रमणको निम्तो पनि दिए ।

आगामी दशक स्वर्णिम हुनेछः भारतीय प्रम मोदी
भिडियो कन्फरेन्समै भारतीय प्रधानमन्त्री मोदीले नेपालको आवश्यकता अनुसार सहयोग गर्न भारत तयार रहेको बताए । ‘हाम्रो सम्बन्ध छिमेकी मात्रै होइन, भूगोल र प्रकृतिले पनि जोडेको छ’ उनले भने, ‘दुई मुलुकबीच हुने सञ्जालले दुई देशबीचको आर्थिक विकासमा महŒवपूर्ण भूमिका खेल्नेछ ।’ आईसीपीले दुई देशबीचको व्यापारलाई सहज र सरल बनाउने उनले बताए । ‘प्रधानमन्त्री ओलीले दिनुुभएको निम्तोका लागि धन्यवाद दिन चाहन्छु र यो वर्ष जसरी भए पनि मिलाएर नेपाल आउँछु’ –मोदीले भने ।

मोदीले नयाँ दशक स्वर्णिम दशक बनाउने पनि बताए । ‘नयाँ वर्षको शुरुवातसँगै दुई देशबीचको सम्बन्ध थप सुदृढ हुने र आगामी दशक नेपाल–भारत सम्बन्धका लागि स्वर्णिम दशक हुने विश्वास छ’ –मोदीले भने । उनले पछिल्ला वर्षहरूमा नेपाल र भारतबीचको सम्बन्धमा अभूतपूर्व प्रगति देख्न पाइएको छ र दुई देशबीचको साझेदारी तीव्र हिसाबले अघि बढिरहेको बताए । उनले नेपालको चौतर्फी विकासका लागि नेपालको प्राथमिकताका हिसाबले भारतले एउटा विश्वसनीय साझेदारको भूमिका निभाउँदै आएको समेत बताए । ‘नेपाल र भारतबीचको सम्बन्ध केवल छिमेकीको मात्र नभएर इतिहास, भूगोल, प्रकृति, भाषा, संस्कृति, प्रगतिलगायत कैयन धागाहरूले जोडेको हुँदा दुवै देशबीच राम्रो कनेक्टिभिटीले हाम्रो जीवनलाई अझ नजिक ल्याउँछ र मनलाई जोड्न नयाँ बाटाहरू समेत खोल्छ’ –मोदीले भने ।

‘आईसीपीले प्रदेशका व्यापारीमा उत्साह थपियो’
दुवै देशका प्रधानमन्त्रीले आईसीपीको उद्घाटन गरी सम्बोधन गरेपछि आयोजित कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतीलाल दुगडले आईसीपी निर्माणले नेपाल–भारतको व्यापारिक सम्बन्धमा नयाँ इतिहास कायम गरेको बताए ।
दुई देशबीचको पारस्परिक सम्बन्ध झन् प्रगाढ भएर गएको उनले बताए । उनले एकै स्थानबाट भन्सार जाँचपाससम्बन्धी सबै काम हुने भएपछि यसले प्रदेश १ का उद्योगी व्यवसायीमा उत्साह थपिएको सुनाए । उनले नेपाल–भारतबीचको सम्बन्धको आयाम थप उचाइमा पुग्ने क्रममा रहेको बताए । नेपालतर्फ मालवस्तु लिएर आउने मालवाहक सवारी दुई–दुई हप्तासम्म सीमापारि बाटामा थन्कनु पर्ने अवस्थाको अन्त्य हुने पनि उनले बताए ।

विराटनगर नाकाबाट पैठारी गर्ने व्यवसायीले लजिस्टिक कस्ट धेरै व्यहोर्नु परेको उनले बताए । यस्तै वाणिज्य मन्त्रालयका सह–सचिव नवराज ढकालले भारतको सहयोगमा नाकालाई अपग्रेड गर्ने क्रम निरन्तर भइरहेको बताए । उनले अब आईसीपीको समग्र परिसर र संरचना भन्सार कार्यालयको जिम्मामा रहने बताए ।

नेपालस्थित भारतीय राजदुतावासका प्रथम अर्थ सचिव प्रभजितसिंह गुलाठीले ठूलो मलमा गएर मालसामान खरिद गरेजस्तो आईसीपीमा पनि एकै ठाउँमा सबै सुविधाहरू रहेको बताए । मोरङ व्यापार सङ्घका अध्यक्ष प्रकाश मुन्दडाले पूर्वका व्यापार सहजीकरणका लागि विराटनगरको आईसीपी कोशेढुङ्गा साबित हुने दाबी गरे । ‘पूर्वका आयात–निर्यातकर्ता जोगबनीको साँघुरो बाटोका कारण धेरै वर्षदेखि मारमा छौं’ उनले भने, ‘आईसीपीको छेउमै रेल मार्ग पनि आइसकेको छ । सरकारले अलिकति व्यवस्था गर्न बाँकी छ । रेलमार्गबाट मालवस्तु आउन थालेपछि हामीलाई धेरै सहज हुनेछ ।’