भद्रपुर । तीन तहको निर्वाचनमा झापाका जनप्रतिनिधिले जङ्गली हात्ती नियन्त्रणलाइ हतियार(एजेण्डा) बनाएर विजयी भएको दुइवर्ष वितिसकेपनि हात्तीको विषयमा हालसम्म कुनै सम्बोधन नभएको मतदाताहरुले गुनासो गरेका छन् । झापाको उत्तरी क्षेत्रमा सोलार फेनसिङ्(विद्युतीय तारबार) लगाइसकेपछि केहीवर्ष यताबाट दक्षिण क्षेत्रमा सरेको जङ्ली हात्तीको समूहले जनधन र अन्नबालीमा क्षति पुर्याउदै आइरहेपनि सो समस्या तर्फ कसैको ध्यान नगएको उनीहरुको आरोप छ ।

चन्द्रगढी,भद्रपुर, पृथीवीनगर,वनियानी लगायतका क्षेत्र दैनिक हात्तीको उपद्रोबाट अहिले आक्रान्त बनेका छन् । डिभिजन वन कार्यालयसँग भएको एउटा गस्ती गाडीमा जडित साइरन समेत सवै क्षेत्रमा नपुगेका कारण सो क्षेत्रका स्थानीयको अन्नबालीमा दैनिक क्षति पुर्याउदै आइरहेको छ भने पीडितहरु कुन बेला हात्तीको शिकार बन्ने हो भन्ने यकिन छैन । चुनावको समयमा घर–घर र चोक–चोकमा आएर हात्ती हेर्न चिडियाखाना जानुपर्ने भाषण गर्ने नेताहरु अहिले हात्ती घर–वस्तीमा आइरहेको भद्रपुर ९ का नुतन पौडेलको आरोप छ ।

चुनावी घोषणा पत्रमा मात्र हात्ती नियन्त्रण भएको उनको भनाइ छ । विद्युतीय तारबार(सोलार फेनसिङ् ) का लागि साँसद् विकास कोषबाट दुइजना नेताले ४० लाख रुपैयाँ विनियोजन गरेपनि सो रकम पर्याप्त नहुने उनले बताए ।

हात्तीले मान्छे मार्यो भने केही महिनामा राहत दिएपनि अन्नबालीको चार वर्ष सम्म क्षतिपूर्ति नपाएको उनको गुनासो छ । वडा नम्बर ९ सदस्य समेत रहेका पौडेलले राहत तथा क्षतिपूर्तिको लागि २ सय भन्दा बढी निवेदनको सिफारिस पठाएपनि हालसम्म केही हात्ती पीडितले मात्र पाएको भन्दै उनले आक्रोस पोखे । मङ्सिरमा क्षति पुर्याएको अन्नबाली चार मङ्सिर जादाँ समेत क्षतिपूर्ति नपाउने हो भने यो नाटक किन गरेको उनले भने । हात्तीका कारण भएको क्षति पीडितलाइ राहत हुने गरी तत्काल उपलब्ध गराउने व्यवस्था मिलाउन नेता तथा वन डिभिजनलाइ उनले सुझाव दिए ।

हात्तीले पाँचवर्ष अघि धानमा क्षति पुर्यापछि क्षतिपूर्तिको लागि निवेदन दिएपनि हालसम्म राहत नपाएको ध्रुव कार्कीले बताए । वन कार्यालय धाउँदा –धाउँदा दिक्क भएर जानै छाडेको उनले गुनासो गरे ।
दैनिक हात्तीले उपद्रो मचाएपछि भद्रपुर नगरपालिकासहित ७, ९ र १० वडा र हात्ती पीडितले संयुक्त रुपमा केही दिन अघि जिल्ला प्रशासन कार्यालय मार्फत सङ्घीय र प्रदेश सरकारलाइ जिउधनको सुरक्षाका लागि तत्काल समाधानको माग गर्दै ज्ञापन पत्र समेत पठाएका थिए । भद्रपुर नगर प्रमुख जीवनकुमार श्रेष्ठको नेतृत्वमा गएको टोलीले प्रमुख जिल्ला अधिकारी उदयराना मगर र डिभिजन वन प्रमुख विष्णुलाल घिमिरेलाइ पत्र बुझाएका थिए ।

हल्दीबारी स्थित जलथल जङ्गलमा सोलार फेन्सिङ समेत जडान भै सकेपछि नजिकै रहेको भेलागढी र चारआली जङ्गलबाट हात्ती गाउँपस्न थालेका छन् । आठ या दश ओटाको सङ्ख्यामा रहेका हात्ती मध्ये एउटा अन्धो छ । अन्य हात्ती राती गाउँ छिर्छन् भने अन्धो हात्तीले दिउँसो गाउँ छिरेर आतङ्क मच्चाउँदै आएको छ । हात्तीबाट बच्न सो क्षेत्रका केही स्थानीयले विद्युतीय धराप थापेका छन् । धरापका कारण मानिस तथा हात्तीको समेत अकालमा ज्यान गइसकेको छ । वन कार्यालयले समेत यस्तो गतिविधिमा कुनै नियन्त्रण गरेको छैन । विना अनुमति यसरी धराप राख्नु कानून विपरीत भएपनि वन कार्यालयका कर्मचारी नदेखे झै गरिरहेका छन् ।

यता चालु आर्थिक वर्ष देखी मङ्सिर मसान्तसम्म राहतका लागि एकसय ८० निवेदन परेको वन डिभिजन हात्ती शाखाका कर्मचारी डिल्ली खरेल बताउँछन् । परेका निवेदनमध्ये सभ डिभिजनबाट आएका ५६ ओटा कोशीटपु पठाइसकिएको उनले जनाए । सभ डिभिजनबाट ढिलो आएपछि ढिलो हुदै गएको उनको भनाइ छ । क्षति भएको ३५ दिनभित्र माग निवेदन नआएमा दर्ता नहुने उनले बताए ।

गत आर्थिक वर्ष ०७४ / ७५ सम्म ३ सय ४० जनालाइ ४७ लाख एक हजार ७ सय ४५ रुपैयाँ राहत वितरण गरिसकिएको लेखा शाखाले जनाएको छ । ०७५।७६ को कार्तिक २७ गतेसम्म ३ सय ७३ जनाको लागि ५० लाख ५३ हजार ७ सय ४५ रुपैयाँ राहत रकम आएको उल्लेख छ ।

सङ्घीयताका कारण कार्य विभाजनमा अन्यौल देखिएपछि एक वर्ष ढिलाइले गर्दा त्यसको असर पर्दै गइरहेको सहायक वन अधिकृत देवेन्द्र उप्रेती बताउँछन् । राहत वितरणमा पछिल्लो समय ढिलो नभएको उनले बताए । हात्ती नियन्त्रणको दीर्घकालिन समाधानका लागि जलथल जङ्गल हुदै मागुरमाडी सम्म १ सय ४५ किलो मिटर क्षेत्रमा जैविक मार्ग सोलार फेनसिङका लागि काम शुरु भइसकेको उको भनाइ छ । गत वर्ष सोलार फेनसिङका लागि प्रकृति संरक्षण कोषबाट ६ करोड र चालु आर्थिक वर्षमा २ करोड रुपैयाँ विनियोजन भएको उनले जनाए ।

वि.सं.२०६२ साल यता ०७६ मङ्सिर सम्मकोे तथ्याङ्ले ११ वटा हात्ती मान्छेका कारण मरेका छन् भने ४१ जनाको ज्यान गएको छ । सयौँको घरगोठमा क्षति पुर्याएको छ भने करोड रुपैयाँको नोक्सानी गरेको छ ।