रङ्गेली/ विपन्न समुदायका नागरिकलाई प्रदेश १ सरकारले जनता आवास कार्यक्रमअन्तर्गत सुरक्षित घर निर्माण कार्य सुस्त गतिमा अगाडि बढेको पाइएको छ ।
जनता आवास कार्यक्रममा अघिल्लो आर्थिक वर्षमा सम्पन्न नभए पछि घर निर्माणको काम यसवर्ष पनि सुस्त गतिमा भइरहेको हो । प्रदेश १ सरकारले अघिल्लो आर्थिक वर्षमा प्रत्येक स्थानीय तहमा ५ घर निर्माण गर्ने कार्यक्रम ल्याएको थियो । मोरङका १७ वटा स्थानीय तहमध्ये ५ वटाको सकिएको प्रदेश १ को शहरी विकास तथा भवन कार्यालयले जनाएको छ । यस आर्थिक वर्षमा ३ वटा नगरपालिकासँग सम्झौता भएर काम भइरहको छ । बाँकी ९ वटा स्थानीय तहको निर्णय हुन बाँकी रहेको कार्यालयले जनाएको छ ।
प्रदेश १ को शहरी विकास तथा भवन कार्यालय मोरङले तीनवटा जिल्लामा जनाता आवास कार्यक्रम सञ्चालन गरिरहेको छ । कार्यालयले सुनसरी, मोरङ र उदयपुरमा जनता आवासको काम गरिरहेको छ । प्रदेश सरकारको स्थानीय तहमा ५ भवन अन्तर्गत सुनसरीका १२ स्थानीय तहमध्ये ६ वटामा काम सकिसकेको छ । तीनवटा स्थानीय तहमा यस आर्थिक वर्षमा काम भइरहको छ । बाँकी ३ वटाको निर्णय भएको छैन ।
त्यसैगरी ८ वटा स्थानीय तह रहेको उदयपुरमा प्रदेश सरकारअन्तर्गतको काम सम्पन्न भइसकेको छ । कार्यालयलाई अघिल्लो आर्थिक वर्षमा सङ्घीय सरकारले पनि जनता आवासको कार्यक्रम हस्तान्तरण गरेको थियो । सङ्घीय सरकारबाट मोरङमा ११ सय ६१ वटा घर निर्माणका लागि हस्तान्तरण भइरहेको थियो । जस अन्तर्गत रङ्गेली नगरपालिका, रतुवामाई नगरपालिका, धनपालथान गाउँपालिका ,जहदा गाउँपालिकामा निर्माणको काम भइरहेको इन्जिनियर अंशु गुप्ताले जानकारी दिए ।
सङ्घबाट हस्तान्तरण भएका मध्ये विराटनगर महानगरपालिका–१९मा जग्गा विवादले २० घर निर्माण रोकिएको छ । १९ नम्बर वडाको खापटोलमा १० र मुसहर बस्तीमा १० वटा घर निर्माण गर्नुपर्ने भए पनि जग्गा विवादको कारणले अगाडि बढ्न नसकेको इन्जिनियर गुप्ताले बताए । सुनसरी र उदयपुरमा पनि सङ्घीय सरकारले जनता आवासको घर प्रदेश सरकारलाई हस्तान्तरण गरेको छ । जसमा उदयपुरमा ५ सय वटा घर प्रदेश सरकारले निर्माण गरिदिनु पर्ने छ । त्यसैगरी सुनसरीमा ३ सय ८८ घर निर्माण गर्न बाँकी रहेका छन् । यसरी हस्तान्तरण भएर आएका घर निर्मणको निर्णय हुन नसकेको रोकिइरहेको इन्जिनियर गुप्ताले बताए ।
साढे तीन लाखमा कस्तो घर ?
एउटा परिवारले घर निर्माणको लागि कार्यालय खर्च (कन्टीजेन्सी) सहित ३ लाख ५० हजार पाउने इन्जिनियर गुप्ताले बताए । घर निर्माणको सम्पुर्ण काम सम्पन्न गरेपछि लाभग्राहीले ३ लाख ३२ हजार ५ सय पाउनेछन् । कन्टिजेन्सी बापत १७ हजार ५ सय काटिने इञ्जिनियर गुप्ताले बताए । शुरुको लागत रकमको १० प्रतिशत लाभग्राहीले व्यहोर्नु पर्नेछ । लाभग्राहीले श्रम, निर्माण सामग्री वा रकममा १० प्रतिशत व्यहोर्नुपर्ने उनले बताए ।
उक्त लागतमा २२ फिट लम्बाइ,१३ पिट चौडाइको २ कोठे घर निर्माण लाभग्रहीले पाउने छन् । त्यसमा ५ फिटको बरण्डा पनि हुनेछ । शौचालय अनिवार्य छ । लाभग्राहीलाई ४ किस्तामा रकम उपलब्ध गराइने उनले बताए । पहिलो किस्ता अन्तर्गत २५ प्रतिशत जग उठाउनका लागि दिने गरेको छ भने दोस्रो किस्तामा ३० प्रतिशत गारो लगाउन र तेस्रो किस्ता ३५ प्रतिशत झ्याल, ढोका, टीन र शौचालय बनाउन दिने गरेको छ । अन्तिम किस्ता १० प्रतिशत सम्पूर्ण काम सम्पन्न भएपछि पाउने इञ्जिनियर गुप्ताले बताए ।