विराटनगर/ मेची–महाकाली रेलवे आयोजना अन्तर्गत इनरुवा– काकडभिट्टा र इटहरी-विराटनगरको १२६.७५ किमि आयोजनाको कुल अनुमानित लागत ९० अर्ब २८ करोड २८ लाख ६ हजार २ सय ४० रुपैयाँ लाग्ने भएको छ ।
दोहा इन्जिनियरिङ कम्पनी लि. जेभी कोरिया रेल नेटवर्क अथोरिटी सोसुङ र सिल्ट कन्सल्ट प्रा.लि.ले तयार गरेको वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) प्रतिवेदन अनुसार उक्त आयोजना निर्माण गरिन सो रकम लाग्ने भएको हो । मेचि–महाकाली रेलवे आयोजना अन्तर्गत इनरुवा–काकडभिट्टा र इटहरी–विराटनगर रेलवे लिङ्कको वातवरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन विराटनगरमा आइतबार सार्वजानिक गरिएको छ ।
मेची–महाकाली रेलवे आयोजनाको इनरुवा–काकडभिट्टाको १२६.७५ किमिको ईआईए, सेवा क्षेत्र भित्रका नागरिकबीच सार्वजानिक सुनुवाइमा ल्याइएको हो । परामर्शदाताले तयार पारेको इआइए प्रतिवेदन माथि सुझाव सल्लाह लिन र आगमी दिनमा सुधार गरिने उद्देश्यले सार्वजानिक सुनवाइ कार्यक्रम आयोजना गरिएको वातावरण विज्ञ एवं परामर्शदाता कम्पनीका प्रतिनिधि रिकेश चित्राकारले जानकारी दिए । उनका अनुसार विराटनगरपछि इटहरी, पथरी र झापामा पनि सार्वजानिक सुनवाइ राखिएको बताए । इनरुवा–काकडभिट्टा दूरीको १०६.५९ किलोमिटर र इटहरी–विराटनगर २०.१६ किलोमिटर लिङ्क रेलवे विस्तारका क्रममा वातावरणीय दृष्टिकोणले पार्ने असरहरू प्रतिवेदनमा उल्लेख गरिएको छ ।
इनरुवा–काकडभिट्टा क्षेत्रमा दशवटा रेलवे स्टेसन र इटहरी (खनार) (विराटनगर अन्तर्गत हात्तीमुढामा एउटा रेलवे स्टेसन रहने प्रतिवेदनमा उल्लेख छ । सार्वजनिक भएको इआईएमा २०० किमीप्रतिघण्टा स्पिडमा गुड्ने विद्युतीय रेललाई २५ मिटर दाँयाँ बाँया जग्गा अधिग्रहण गरिने उल्लेख छ । इनरुवा(काकडभिट्टा रेलवेको लिङ्क पूर्व–पश्चिम राजमार्गदेखि दक्षिण र इटहरी–विराटनगरको मोरङको कटहरीदेखि उत्तर हुने प्रतिवेदनमा उल्लेख छ । रेलमार्ग विस्तारका लागि ६३५.७७ हेक्टर जमिन आवश्यक पर्ने साना र ठूला गरी ३४ वटा पुल, २८५ प्रकारका प्राकृतिक नालाको क्रसिङ, पैदल यात्री तथा चौपायाका लागि सुरक्षित तीनसय पासिङ कल्भर्ट निर्माण गरिने उल्लेख छ ।
विस्तार आयोजनाका क्रममा ५१२.६९ हेक्टर खेतियोग्य, ५३.६१ हेक्टर जल क्षेत्र, ३३ हेक्टर वस्ती क्षेत्र, १९.६० हेक्टर वन क्षेत्रमा पर्नेछ । निर्माणका क्रममा २२ करोड ६७ लाख ९हजार ४९ घन मिटर माटो, २ लाख ८७ हजार ४१ घनमिटर बालुवा, १८ लाख २९९ घन मिटर ग्राभेल, तीनलाख, ७६ हजार ७३९ घन मिटर बाउल्डल ढुङ्गा खपत हुने अनुमान गरिएको छ । यसका लागि २३ स्थानमा उत्खनन स्थल राखिने प्रस्ताव गरिएको छ । आयोजना क्षेत्रमा वयस्क र पोल साइजका रुखहरू ८ हजार ४३० को सङ्ख्यामा काटिने वातावरण विज्ञ एवं परामर्शदाता कम्पनीका प्रतिनिधि चित्राकारले जानकारी दिए ।
आयोजना निर्माणका लागि निजी संरचनाका लागि ९८ करोड ७५ लाख छ हजार, प्रसारण लाइनका लागि २० अर्ब ६३ करोड ४० लाख ६९ हजार ७ सय ८२ र १२६ किलोमिटर रेलमार्ग विस्तारका लागि ९० अर्ब, २८ करोड १८ लाख छ हजार २४० अनुमान गरिएको छ । वातावरण, सामाजिक र पुर्नवासका लागि २४ अर्ब रुपैया लाग्ने अनुमान गरिएको छ । सार्वजानिक भएको प्रतिवेदन अनुसार रेलवे लिङ्क सुनसरी, मोरङ र झापाका गरि १८ वटा स्थानीय तहको विभिन्न वडा हुँदै जानेछ । मोरङमा ९, सुनसरीमा तीन र झापाको ६ वटा स्थानीय तहको विभिन्न वडाहरू परियोजनामा पर्दछन् । रेलवेको मार्गरेखाको निर्माणक्रमको २८ हजार ५ सय १३ जना स्थानीयले रोजगारी पाउनेछन् ।