इटहरी/ प्रदेश एकमा इटहरी शहर चम्किँदै छ । अन्य शहरहरूको तुलनामा इटहरी बढ्ने क्रममा छ । चौबाटो भएको कारण पनि प्रदेश एकको अन्य शहरहरू भन्दा इटहरी चम्किँदै गएको छ । दुई मुख्य सहर धरान र विराटनगर माझको इटहरी बजारले फड्को मार्दै छ ।

२०५० पछि माओवादी युद्धकालमा इटहरीलाई सुरक्षित ठाउँको रूपमा मानिसले रुचाए । त्यससँगै २०७२ सालमा आएको महाभूकम्प पछि इटहरीमा पुःन घरहरू थपिने क्रम तीव्र्र छ । २०७१ सालमा एकम्बा,खनार,हाँसपोसा र पकलीलाई मिलाई उपमहानगरपालिका भए सँगै इटहरी पूर्वी पहाडी जिल्लाबाट बसार्इँ सरेर आउने गन्तव्य समेत बन्दै छ ।

२०५३ सालमा इटहरी नगरपालिका घोषित भयो । त्यसको २० वर्ष नपुग्दै खनार, हाँसपोसा, पकली र एकम्बा गाविस समेटेर २० वटा वडासहितको उपमहानगरपालिका बनेको छ । बसाइँ सराइको दरसँगै इटहरीमा व्यक्तिगत घर निर्माण र व्यावसायिक प्रतिष्ठानका घरहरू बन्ने क्रमले तीव्रता पाएको छ । मासिक औसत एक सय भन्दा बढी घरहरू बन्ने गरेको इटहरी उपमहानगरपालिकाकाले जनाएको छ ।

गत आर्थिक वर्षको जेठसम्म १ हजार ७ सय ९६ वटा नक्सा पासको सिफारिस उपमहानगरमा आएको छ । चालु आर्थिक वर्षको अहिले सम्म १ हजार ३ सय २६ घर निर्माण सम्पन्न भइसकेको इटहरी उपमहानगरपालिकाका घरनक्सा पासका इन्जिनियर विकास भट्टराई भन्छन् । २०७२ साल अगाडि वार्षिक करिब हजार घरसम्म बन्ने गरेका भन्दै भट्टराई भन्छन् भूकम्पपछि इटहरीमा घर तीव्र रूपमा बनिरहेको उनी बताउँछन् ।

आर्थिक ०७३ । ०७४ मा चालु आर्थिक वर्षमा २ हजार ४ सय ७२ जनाले घर नक्सापासको रिफारिस गरेका थिए । १ हजार ४६ घर सम्पन्न भएको छ । त्यस्तै भूकम्प पछि आर्थिक वर्ष ०७२।०७३ ३ हजार ४ सय ३५ वटा नक्सा पासको लागि उपमहानगरपालिकामा दर्ता भएको थियो भने २ हजार ७ सय ५ घर एकै वर्षमा निर्माण भएको इन्जिनियर भट्टराई भन्छन् । भएका पुराना काठका घरहरू पनि धमाधम विस्थापित गर्दै नयाँ सुविधा सम्पन्न घरहरू निर्माण हुन थालेका छन्, भट्टराई भन्छन् । सरदर वर्षको १७ सय देखि २ हजार घर थपिंदो छ उनी भन्छन् ।

इटहरीमा ३३ हजार ७९४ घरपरिवार बसोवास गर्दछन् । समुद्र सतहबाट ११६ देखि १६४ मिटरसम्मको उचाइ र कुल चार हजार १७७ हेक्टरमा फैलिएको इटहरी नगरक्षेत्रमा आवास तथा व्यापारिक क्षेत्र ३० हेक्टरभन्दा बढी जमीनमा फैलिएको छ । ब्राहृमण, क्षेत्री, नेवार, राई, लिम्बू, गुरुङ, तामाङ, मुसहर, मुसलमान, चौधरी तथा थारूको मुख्य बसोवास रहेको इटहरी उमहानगर क्षेत्रमा मुख्य भाषाका रूपमा नेपाली, थारू, मैथिली, राई, लिम्बु, तामाङ, सुनुवार र नेवारी भाषा बोलिन्छ ।

वर्षेनी दुई हजार घरको नक्सा पास हुनु र दुई हजार घरको निर्माण हुनुले पनि इटहरीले फड्को मारेको जनप्रतिनिधिहरू बताउँछन् । इटहरीको मुख्य चौक सँगै तरहरा,खनार लगायतका क्षेत्रले पनि मुहार फेर्दै गएको बताउँछन् तरहराका स्थानीय व्यापारी भक्तबहादुर भुजेल । उनी भन्छन् ४ वर्ष अगाडिसम्म गाउँ जस्तो लाग्ने तरहरा बजार अहिले शहर हुँदै छ, उनी भन्छन् । तरहरा क्षेत्रमा खोटाङबाट बसाइँ सरेर आउनेको सङ्ख्या ह्वात्तै बढेको छ, उनी भन्छन् ।

इटहरीमा अहिले पक्की घर, सपिङ मल, व्यावसायिक गृह, रेष्टुरेन्ट, क्याफे र होटेल मात्र देखिन्छ । होटल व्यवसायी सङ्घ इटहरीका उपाध्यक्ष तेजबहादुर पुरी भन्छन् इटहरीले छोटै समयमा ठुलो फड्को मा¥यो । अहिले इटहरीमा दैनिक हजारौं मानिसहरूको आवतजावत हुन्छ उनी भन्छन् । इटहरी हुँदै प्रदेशका सबै जिल्ला सहज पुगिने भएको कारण पनि इटहरीमा बसाइँसराई गरेर इटहरी आउने बढेको उनी बताउँछन् ।