विषय प्रवेश
सबै राजनीतिक दलले चुनावको बेला आफ्नो पिठो विकाउने कोसिस गरिरहेकै हुन्छन् । यसलाई स्वाभाविक रूपमा स्विकार गर्नुपदर्छ । तर, भ्रमको राजनीतिभन्दा वास्तविक रचनात्मक, सैद्धान्तिक, नीतिगत ढङ्गबाट एजेन्डा निर्माण गरेर प्रतिस्पर्धा गर्नुपर्दछ । यही मङ्सिर १४ गते हुने उपनिर्वाचनमा कुल४२ सिट मध्ये तत्कालीन (एमाले) २६ सिट, माओवादी केन्द्र २ सिट र नेपाली काङ्ग्रेसले १४ सिट विजय भएको स्थानमा विभिन्न कारणले खाली भएपछि उपचुनावको तयारी भएको हो । पछिल्लो समयमा एमाले र माओवादी केन्द्र एकीकरण भएर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निर्माण भएपछि २८ सिट नेकपाले विजय गरेको र १४ सिट नेपाली काङ्ग्रेसले विजय गरेको हुन आउँछ भने अन्य दलको कहँी पनि सुरक्षित स्थान छैन । यसकारण यो उपनिर्वाचनमा नेकपाको प्रतिद्वन्दी नेपाली काङ्ग्रेस नै हुनेछ । धरान उपमहानगरपालिकामा पनि नेकपा र कङ्ग्रेसबीचकै प्रतिस्पर्धा हुनेछ । ३० वर्षसम्म लगातार कम्युनिष्ट पार्टीको वर्चस्व रहेको यस क्षेत्रमा राष्ट्रिय तथा अन्तराष्ट्रिय चासो समेत बढेको छ ।

स्थानीय तह निर्वाचन २०७४ मा दलगत खसेको मत
२०७४ मा धरान उपमहानगरपालिकामा सम्पन्न स्थानीय तहको निर्वाचनमा राजनीतिक दलहरूलाई खसेको मत यस्तो रहेको थियो । तत्कालीन एमालेका तारा सुब्बाले २० हजार ९ सय ७५, उनका निकटतम प्रतिद्वन्दी तिलक राई नेपाली काङ्ग्रेसले १६ हजार १ सय २ र माओवादी (केन्द्र) का आइन्द्र बेघाले ११ हजार १ सय ८० मत मेयर पदमा प्राप्त गरेका थिए । माआोवादी (केन्द्र) र सङ्घीय समाजवादी फोरमको मेयर र उपमेयरमा तालमेल थियो भने फोरमले ५ हजार १ सय ८१ मत प्राप्त गरेको थियो । कुलमतदाता सङ्ख्या ७९ हजार २ सय ९० थियो । यो उपनिर्वाचनमा १३ हजार ५ सय ६३ मतदाता थपिएका छन् भने कुलमतदाता ९० हजार ८ सय ५३ पुगेको छ । सो निर्वाचनमा करिब ६० प्रतिशत मत खसेको देखिन्छ । यो निर्वाचनमा पनि यसैको हाराहारीमा मत खस्ने अनुमान गर्न सकिन्छ ।

प्रतिस्पर्धा नेकपा र काँग्रेसविच :–
२०७४ को स्थानीय तहको निर्वाचनमा मेयरमा तत्कालीन (एमाले) का तारा सुब्बाले २० हजार ९ सय ७५ मत ल्याई उनका निकटतम प्रतिद्वन्दी नेपाली काङ्ग्रेसका तिलक राईलाई पराजित गरेका थिए । काङ्ग्रेसका उम्मेदवरले १६,१०२ मत प्राप्त गरेका थिए भने मतमतान्तर ४,८७३ रहेको थियो । ३० वर्षसम्म लगातार कम्युनिष्टहरूले जितेको धरानमा नेकपा एमाले र माओवादी (केन्द्र) एकीकरण भई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गठन भएको छ । तत्कालीन माओवादी (केन्द्र) ले ११ हजार १ सय ८१ मत मेयरमा अइन्द्र बेघाले ल्याएका थिए । यो मतलाई जोड्दा ३२,१५६ मत नेकपाको देखिन्छ । नेकपा र काङ्ग्रेसको मतमतान्तरमा १६ हजार ५४ देखिन्छ । २०१५ सालमा मनमोहन २०१६ मा केदारनाथ खनाल २०१७ सालमा बि.ए. कृष्ण श्रेष्ठ, २०२१ सालमा सूर्यप्रसाद उपाध्याय, २०२५ मा गोविन्द मोक्तान, २०३० मा कृष्णकुमार राई, २०४२ मा वम देवान, २०४८ मा ध्यानबहादुर राई, २०५३ मा मनोज म्यन्याङ्बो र २०७४ मा तारा सुब्बाले जितेको थिए (फणिन्द्र श्रेष्ठ द्दद्द लयख द्दण्ज्ञढ ब्लाष्ट टाइम्स) । यसलाई हेर्दा पनि धरानमा नेकपाको स्थिति मजबुत नै देखिन्छ । तर, चुनाव राजनीतिक अङ्कगणित मात्र होइन । यस कारण नेकपाभित्रका नेता कार्यकर्ता सुस्ताए भने, घात–प्रतिघातको अवस्था आयो भने नेकपालाई धक्का लाग्न सक्छ । नेपाली काङ्ग्रेसमा हुने आन्तरिक झगडा यो उपनिर्वाचनमा खासै बाहिर देखिएको छैन । यही आन्तरिक गुटको लडाइँले सधै हार्नुपर्ने भएको बताउँछन् नेपाली काङ्ग्रेसका नेताहरू ! काङ्ग्रेसको आन्तरिक लडाइँ सडकमै देखिने र घात–प्रतिघात हुँदा पनि पार्टीले कारवाही नगर्ने परम्परा देखिन्छ । तर, कम्युनिष्ट पार्टीमा भने आन्तरिक कलह भए पनि मतदान गर्ने समयमा घात–प्रतिघात नहुने र त्यस्तो भेटिएमा कारवाही समेत हुने गरेको छ ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले प्रकाश राई र नेपाली काङ्ग्रेसले तिलक राईलाई चुनावमा उतारेको छ । स्वभावका आधारमा हेर्ने हो भने प्रकाश राई शालीन, इमान्दार र कुनै पनि भ्रष्टाचार काण्डमा नमुछिएका लामो राजनीतिक इतिहास बोकेको व्यक्तित्वमा पर्दछन् । तिलक राई स्थानीय तहको निर्वाचन २०७४ मा पनि उठेका कारण धेरै जनताले चिनेका छन् । तर, अलिक कडा प्रस्तुतिले विवादमा तानिरहने समेत गरेको छ । नेपाली काङ्ग्रेसले गत स्थानीय तहको निर्वाचनमा भन्दा आफ्नो स्थितिलाई सुधार गरेको विश्लेषण समेत हुँदै आएको छ । नेपाली काङ्ग्रेसका महासमिति सदस्य पर्वत राई भन्छन् “काङ्ग्रेसको जित सुनिश्चित जस्तै छ, किनभने निर्वाचनमा पार्टीभित्रै अन्तर्घात हुने गर्दथ्यो । यो निर्वाचनमा पार्टीभित्र अन्तरघात हुँदैन । ” वास्तवमा यो अवस्थामा सुधार आएको छ भन्न सकिन्छ । तर, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) धरान उपमहानगर समितिका अध्यक्ष नारायणप्रसाद सुवेदीका अनुसार यो उप निर्वाचनमा पनि विगतमा झैं नेकपाले नै विजय हासिल गर्नेछ । सुवेदी भन्छन् “ पहिलो एकीकरण हाम्रो प्रमुख आधार हो, दोस्रो काङ्ग्रेसले सरकार चलाउँदा धरानको विकाश र समृद्धि नचाहेको तथा धरानका सरकारी कार्यालयहरू पनि काङ्ग्रेस सत्तामै रहेको बेला विराटनगर सारिएका हुन् ।” यसकारण नेकपालाई नै यो चुनावमा धरानका जनताले विश्वास गर्ने सुवेदी बताउँछन् ।

समाजवादी, सङ्घीय लिम्बुवान र अन्य दलहरू
२०७४ को स्थानीय तहको निर्वाचनमा तत्कालीन सङ्घीय समाजवादी फोरम नेपालले ५ हजार १ सय ८१ मत प्राप्त गरेको थियो । यो उप निर्वाचनमा गजेन्द्र इस्वो मेयरका उम्मेदवार रहेका छन् । समावेशी लोकतन्त्रको आवाज उठाएका फोरमले जातीय, भाषिक, सांस्कृतिक, धार्मिक, भौगोलिक समुदायको विकाश प्रवद्र्धनका विषय उठाएको भए पनि बाहुन, क्षेत्री विरोधी आवजहरू कडारूपमा उसका कार्यकर्ताले उठाउन थाले । आदिवासी जनजातिभित्रका केही नेताहरूमा आआफ्नो जात ठूलो भन्ने अहङ्कारयुक्त अहम् भावना पलायो । पूर्वमा किराँत कि लिम्बूवान् भन्ने बहसले पार्टीहरूलाई तरङ्गित पार्न थाल्यो । फोरममा देखिएको यो विवाद समाधान नभए निकट भविष्यमा नै अतिजातिवादी भावना विकास भएर जाने सम्भावना रहेको छ । जातीय सहअस्तित्व आजको अनिवार्य आवश्यकता हो तर जुन उद्देश्यको लागि पार्टी गठन भएको थियो, त्यो उद्देश्यभन्दा टाढा रहेका छन् कार्यकर्ताहरू ! काम गर्ने भन्दा भावनात्मक रूपमा चल्ने परिपाटी छँदै छ । पार्टीका वरिष्ठ नेता अशोक राई भन्छन् “माओवादीको जस्तो मुद्दा एमालेको जस्तो सङ्गठन र कार्यकर्ता बनाउन चाहेका थियौँ” ।
गत स्थानीय तहको निर्वाचनमा वडागत रूपमा खसेको मत उपमेयरमा वडा न.ं १५ मा १४८७ मत, १९ न.ं वडामा २९५ मत, १८ न.ं वडामा २०४ मत, १७ नम्बर वडामा ५३५ मत ८ न.ं वडामा ४१६ मत, ७ नम्बर वडामा १४७ मत, ३ नम्वर वडामा करिब १०० मत, ११ न.ं वडामा ६४० मत, ५ न.ं वडामा १५० मत, १२ न.ं वडामा १५५ मत खसेको थियो । सबै वडाहरूमा शुन्य मत थिएन । राष्ट्रिय जनमुक्ति पार्टी उपमेयरमा ४५६ मत, राप्रपाका प्रकाश राईले करिब ५०० सय मत प्राप्त गरेका थिए भने देशभक्त जनवादी गणतान्त्रिक मोर्चाले ५६ मत पाएको थियो । नेकपा क्रान्तिकारी माओवादीले यो पटकको चुनाव बहिष्कार गरेको बताउँछन् पार्टीका नेता पारस सुब्बा ! सुब्बा भन्छन् “ जनगणतन्त्रका लागि, कहिले उपयोग कहिले बहिष्कार” । गत स्थानीय तह निर्वाचन बहिष्कार गरेको सङ्घीय लिम्बूवानले यो उप निर्वाचनमा भने भाग लिएको छ । पार्टीका मेयरका उम्मेदर अमर इजामले लिम्बुवानी पक्षधर जनताले आफूलाई मतदान गर्ने बताए । उनले दाबीका साथ भने ‘समाजवादीलगायत अन्य पार्टीका लिम्बूवानी पक्षधार जनताले आफूलाई मतदान गर्नेछन् ।’ इजमका अनुसार जो लिम्बूवान चाहन्छन् त्यो सेन्ट्रीमेन्टल मत मसँग नजिक बन्छन् । तर, समाजवादी पार्टीका धरान उपमहानगर समितिका अध्यक्ष ताजुब लिम्बूले जनताहरूको चुनावप्रति वितृष्णा रहेको बताए । उनको गुनासो छ,‘राज्यले जनतालाई सुशासन दिन सकेन ।’

युवा, विद्यार्थी मजदुर खेलाडीको आँखामा उप निर्वाचन
यो उप निर्वाचनको सङ्घारमा राजनीतिक दलहरूले आ(आफ्नो पार्टीले जित्ने बताउँदै आएका छन् । राष्ट्रिय युवासंघका नेता राजेन्द्र राईका अनुसार युवाहरू परिवर्तनकामी सोचका हुने भएकाले परिवर्तनकामी राजनीतिक दलप्रति आकर्षित हुनु स्वाभाविक ठान्दछन् । उनी भन्छन् –‘नेकपा परिवर्तनकामी पार्टी हो, त्यसकारण युवाहरूले नेकपालाई मतदान गर्नेछन् ।’ यो भनाइलाई नियाल्ने हो भने काङ्ग्रेसभन्दा सिद्धान्त र नीतिका आधारमा नेकपा प्रगतिशील देशभक्त पार्टी हो । तर, नेपाली काङ्ग्रेसका क्षेत्रीय सदस्य एवं पूर्व तरुणदलका युवा नेता प्रविन राई भन्छन्–‘२०७४ सालको स्थानीय तहको निर्वाचनको माहोल र अहिलेको उप निर्वाचनको माहोल फरक छ । यसपटक जनताको घरदैलोमा जाँदा काङ्ग्रेसप्रति उत्साह जागेको छ ।’ केही स्थानहरूमा अवश्य पनि यस्तो स्थिति भएको विश्लेषणसमेत हुँदै आएको छ । राष्ट्रिय युवा संघका नेता विनोद राइका अनुसार ‘धरानमा वामपन्थीहरूले जित्दै आएकाले नेकपाले नै जित्ने दाबी गर्छन् । विनोद भन्छन् ‘हामीले तुलना गर्ने काङ्ग्रेससँग हो, काङ्ग्रेसभन्दा प्रगतिशील पार्टी नेकपा नै हो ।’ राष्ट्रिय युवासंघका केन्द्रीय सदस्य हिमाल लिम्बू भन्छन् ‘नेकपाको जित निश्चित छ, स्वाभाविक छ, दुईपार्टी एकीकरण भएकाले भारी मतान्तरण हुनेछ । राष्ट्रिय राजनीतिमै दुईतिहाई सरकारको नेतृत्व गरेको नेकपाले धरान उपमहानगरपालिका भित्रका १५ वटा वडामा जित्न सफल भएको छ । साविक अनेरास्ववियूका पूर्व केन्द्रीय सदस्य नवराज राई भन्छन् ‘नेकपाको जित सुनिश्चित छ ।’ टेम्पोमा कर वृद्धि ग¥यो भनेर टेम्पो चालकहरू बिच्किरहेका छन् भन्ने जिज्ञासाको उत्तरमा मजदुर नेता लक्ष्मी बानियाँ भन्छन् “ मजदुरहरूले नेकपालाई नै भोट दिन्छन् किनभने सामाजिक सुरक्षा भत्ता कोष सरकारले लागु गरेको छ । जसअनुसार मजदुरले अवकाश पाएपछि उपदान सुविधाको ग्यारेन्टी गरेको छ ।’ नेपाल ताइकन्दो सङ्घका जिल्ला कोषाध्यक्ष मदन राई धरानको उप(निर्वाचनमा नेकपाको जित सुनिश्चित रहेको बताउँछन् । उनका अनुसार धेरैजसो खेलाडीहरूले सूर्यमा नै मतदान गर्नेछन् ।

व्यवसायीको नजरमा
मङसिर १४ मा हुने उपनिर्वाचनका सन्दर्भमा इडन एकाडेमी कन्सल्टेन्सीका डाइरेक्टर मोहोन तिगेलाका अनुसार यसले वा उसले जित्छ भन्ने बजारमा देखिएको छैन । उनी भन्छन् ‘काङ्ग्रेसले राम्रो गरेको होइन । स्थानीय सरकारले सन्तोष जनक काम नगरेकाले केही जनताको रोष प्रकट भएको देखिन्छ । उनको यो भनाइले अवश्य पनि ०७४ को स्थानीय तहको निर्वाचनपछि जनप्रतिनिधिबाट जनताले जे अपेक्षा गरेका थिए त्यो प्राप्त नहुँदा जनता अलिक निराशा भएको सङ्केत मिल्छ । नेकपा धरान उपमहानगर कमिटीका सदस्य एवं युवा व्यवसायी राजमणी निरौलाका अनुसार पञ्चायतमा पनि वामपन्थीहरूले चुनाव जितेको र २०४६ पछि पनि निरन्तर कम्युनिष्टहरूले चुनाव जित्दै आएका छन् । उनिरौला भन्छन्–‘आदिवासी, जनजाति भएको यस शहरमा प्रकाश राईलाई धराने जनताले जिताउने निश्चित छ ।’

बौद्धिक समुदाय, बुद्धिजीवी, प्राध्यापक र पत्रकारको नजरमा
ब्लाष्ट टाइम्स एवं ब्लाष्ट अनलाइन खबरका पत्रकार देवेन्द्र कार्कीका अनुसार धरान वामपन्थीहरूको गढ हुनाले नेकपाको जित सुनिश्चित छ । उनका अनुसार ‘रिर्पोटिङ्गमा घरदैलो जाँदा वामपन्थीहरूलाई नै मत दिने जनताले बताइरहेका छन् । केही जनतामा असन्तुष्टिको स्वर अवश्य छ तर पनि जित भने नेकपाकै हुने देखिएको छ ।’ महेन्द्र क्याम्पस धरानका प्राध्यापक एवं नेपाल प्रगतिशील प्राध्यापक सङ्घका केन्द्रीय सदस्य गोपी खतिवडा नेकपाको जित निश्चित छ तर मतान्तर कतिको हुन्छ भन्ने एकिन गर्न गाह«ो भएको बताउँछन् । थप गर्दै भन्छन् “तारा सुब्बाको निधनअघि काम शुरु भयो, अढाई वर्षका लागि अर्को दललाई मतदान दिएर ल्याउँदा धरान पछाडि पर्दछ ।” महेन्द्र क्याम्समा लामो समय प्राध्यापन गरेका प्राध्यापक भोलानाथ पोखरेल आफ्नो विश्लेषण सुनाउँदै भन्छन् “अहिले केन्द्र, प्रदेश र स्थानीय तीनै तहको सरकारको नेतृत्व नेकपाको रहेको छ । धरानमा वडागत रूपमा पनि ५ वटा बाहेक १५ वटा वडामा नेकपाकै जित भएको छ । यसरी नेकपाकै बहुमत भएको स्थानीय तहमा मेयर परिवर्तन गरेर धरानको विकाश सम्भव छैन ।” पोखरेल थप गर्छन् –‘कर र पान नम्बर काण्डले बजार क्षेत्रमा केही रुष्ट भएको देखिए पनि वामपन्थीकै पक्षमा मत जाहेर हुने अवस्था देखिन्छ । राजनीतिक विश्लेषक डा.भीम खतिवडा भन्छन् “आवधिक निर्वाचनमा निश्चित समयमा कुनै पनि संस्था वा नेतृत्वको मूल्याङ्कन गरिने भएकाले सामाजिक न्यायका सिद्धान्तको आँखाले हेर्ने हो भने पनि यसमा २ वटा प्रश्न उठ्छन् । तारा सुब्बाको निधनपछि निर्वाचनमा जानुपरेको र तेतृत्व सफल थियो कि असफल थियो भन्ने कुराको आधारमा नभएर हामीले काम कस्तो थालेको थियो, सकारात्मक काम थियो कि थिएन, हरियो बत्ती बलेको थियो कि थिएन, जनताको जनजीविका विकाश निर्माण कला, साहित्य, चेतनाको जातीय सद्भाव बटुल्ने सवालमा मूल्याङ्कन हुनुपर्ने हो । नेकपाको २० वर्षे भिजन छ । दुबैपार्टी मिलेपछि भिजन पनि छ, रिजन पनि छ । ” थप गर्दै भन्छन् व्यक्ति वा नेतृत्व परिवर्तनको कुरा समयले हामीलाई दण्डित गरेको हुँदा तारा सुब्बाको ठाउँमा प्रकाशजीलाई पठायौं भन्ने मात्र हो । व्यक्ति केही होइन नेतृत्व चाहिँ पार्टी वा सङ्गठनले गर्ने हुँदा काम हुनेछ ।” करका विषयमा बढ्ता कुरा आइरहेको बेलामा सो क्षेत्रका विज्ञ र उद्योग बाणिज्य सङ्घसँग छलफल गरी उपयुक्त तवरले निर्धारण गरिनुपर्दछ भनी बताउँछन् । खतिवडाको विश्लेषणमा प्रकाश राईले जित्ने सुनिश्चित भएको घुमाउरो रूपमा प्रकट भएको छ । भाषाविद् डा.टङ्क न्यौपानेका अनुसार गरिब, सुकुम्बासी जनता कम्युनिष्टका पक्षमा रहेका छन् । न्यौपाने भन्छन् –‘चुनाव त प्रकाश राईले जिती हाल्यो नि ।’ थप गर्दै भन्छन्– ‘कम्युनिष्ट वा कम्युनिष्टले समर्थन नगरेका कुनै पनि उम्मेदवारले धरानमा चुनाव जितेको इतिहास छैन ।

अन्तमा
माथिका आधारमा भन्ने हो भने नेकपाले चुनाव जित्छ र काङ्ग्रेस प्रतिपक्ष पार्टीको भूमिकामा आउनेछ । बौद्धिक, बुद्धिजीवी, राजनीतिक विश्लेषक र प्राध्यापकहरू यही कुरा बताउँछन् । राजनीतिक विश्लेषक डा.भीम खतिवडा भन्छन् “तटस्थ विश्लेषण गर्ने हो भने नेकपाले नै चुनाव जित्ने निश्चित छ तर मतमतान्तर कतिको रहन्छ त्यो भन्न सकिन्न ।” अब आउने मेयरका लागि अढाई वर्ष निकै महŒवपूर्ण हुनेछ , किनकी सुशासन, योग्यता, जवाफदेहिता र पारदर्शिता लोकतन्त्रको मूल्य र मान्यता हो । यसप्रति प्रतिबद्ध भई अब आउने मेयरले काम गर्नुपर्नेछ ।