के म नाजायज छोरी हूँ ?

alt
  • मंसिर ७, २०७६
  • १५७ पटक पढिएको
  • सेलिङ केसी

अमरपुर नवमीडाँडा नजिकैको बुढो बर पीपलको फेदमा फलैंचा छ । त्यही मुन्तिर पुरानो कम्बल ओछ्याएर केही हप्तादेखि एउटा अधबैंसे जस्तो लाग्ने मानिस निस्फिक्री लडिरहेको छ । शिशिरयाम भएर होला सायद शरीरमा काँडा पलाइरहेको छ । च्याङ्लो सत्र ठाउँ भ्वाङ पेरको कम्बल आधा आङ छोप्ने गरी ओडेको छ । फागुन चैत्रको महिना भएकोले दिउँसो पारिलो घाम उसको मनभरि लाग्दछ । यसो उठेर तर्याङ मर्याङ गर्छ । अब केही दिनसम्म चाँहि बाँच्छु होला सोच्छ । मझौला जिऊडाल, मैलो र थोत्रो स्विटर, घुँडा फाटेको जिन्सको पइन्ट, कपालहरु दुम्सिकाँडा जस्तो लिसोदार जिङग्रीङ्ङ परेको कोइलो दाह्री जुँगा झ्याप्प आएको यो को हो ठम्याउनै नसकिने ।

विद्यालय जाने मसिनो भुराहरु वरिपरि घेरेर खुब रमिता हेरिरहेका छन् । बटुवाहरुले टाढैबाट केही खानेकुरा फालिदिएको यत्रतत्र छरिएका छन् । त्यही बाटो गरेर विद्यालय आतेजाते गर्ने निलकमला त्यो दृश्य देखेर भावविह्वल हुने गर्छिन् र केही खाने कुरा हातमा राखिदिन्छिन् । केही बोल्न खोज्छिन् यी अधबैंसे मान्छे को हुन् ! आफन्तहरु कहाँ होलान् छोराछोरीहरु छन् या छैनन् यावत कुराहरु मनभरि खेल्छन् । घर पुगिन्जेलसम्म त्यो दृश्य घुमिबस्छ, विद्यालय आतेजातेको सिलसिलामा । उक्त मानिस वर पिपलको रुख मुनिबाट कति पनि विचलित नभईकन वर पिपलको ठूला ठूला नागबेली जराहरुमा सिरानी फेर्दै अड्डी जमाएर बसेको छ ।

दिनदिनै पातलो र दुब्लो मरनच्याँसे हुँदै गइरहेको छ । अब त निलकमलालाई यस्तो हुन थाल्यो कि त्यो अधबैंसे मानिसलाई वरको रुखमुनि देखेन भने केही हराए जस्तो केही समाप्त भए जस्तो कस्तो कस्तो लाग्न थालिसकेको छ । सम्वेदनशील किशोरी भएकैले त्यस्तो दृश्यले कताकता उसलाई दुख्दो हो । कथा हाल्नेहरुले यस्ता घट्नाको कथाहरु धेरै सुनाएका छन् निलकमलालाई । चलचित्रको काहानीहरु पनि सँंगिनीहरुले आमा मावली गएको बेला सुत्न सघाउन आउँदा खुब सुनाएका छन् । हुनसक्छ त्यही कथाहरुले उनको जीवनमा प्रभाव परेको होस् ।

कलिलो गिदीमा यस्तो कथाहरु आँखै अगाडि घुमिबस्छ । अझ श्रवण कुमारको कथा, सुनकेसरी रानी, लैला मजनु, मुना मदनका कथाहरु गाउँमा मेला पात जाँदा खुब भाका हालेर संगिनीहरुले सुनाएको बिर्सिएकी छैन निलकमलाले । हुन पनि यो बेला उत्पट्याङ बेला हो, स्मरण शक्ति केही चतुरो हुन्छ । भरखर १६,१७ मा टेकेकी छिन् निलकमलाले सम्झी। यो बेलामा सबै कुराको उत्सुकता हुन्छ । मनभरि रसहरु पलाउँछन् । शरीरका वास्तविक रुपान्तरणसँग नयाँ नयाँ भावनाको तरङ्ग पनि चुलिंदै जान्छ, झाँगिदै जान्छ ।

बैंसमा स्याल त घोर्ले हुन्छ भने निलकमला त मानवीय सम्वेदना बोकेकी भर्खर बालपन छाडेर किशोरीतर्फ उक्लिएकी किशारी जीवन । यही बेला हो उसले जीवन काबुमा ल्याउनुपर्ने, यस्तो बखत सबै कुराहरु नयाँ हुन्छन् विल्कुल नयाँँ आँखा अगाडि केही प¥यो भने त्यसप्रति मन लालयित हुन्छ, उत्सुक हुन्छ । त्यसलाई छुन पाए त, त्यसलाई प्रयोग गर्न पाए त, यसलाई आफ्नो काबुमा राख्न सके त अथवा अहिले भर्खर त्यो वस्तुलाई समाइहाल्न पाए हुन्थ्यो अनेकन भावनामा तरङ्गिन्छन् भावनाका अनेक तरङ्गहरु । हुन पनि हो नै बेला त्यस्तो । सबै कुराको अनुभव गर्न पाए हुन्थ्यो भन्ने कस्तो कस्तो अप्ठ्यारो शरीरले केही कुराको सिफारिस गरिरहे जस्तो तर यति भइरहँदा पनि विचलित हुँदैन रहेछ, मानवीय सम्वेदना । किनभने, मान्छेले नै त सृष्टि अड्याएर राखेको छ ।

मनमा नयाँ कुराको बीजारोपण जति हुन्छ माथिङ्गलमा त्यसको सामाधान पनि निस्कँदै जान्छ । उत्ताउलोपना बिल्कुलै देखिँदैन निलकमलामा । सम्वेदनशील गम्भीर, मिजासिलो, हठी स्वभावकी किशोरी हुन् उनी । सुन्दरी पनि यस्ती की बखान गर्नै नसकिने प्राकृतिक छटा जस्तो, विधाताले खुब समय र मिहेनत खर्च गरेर बनाए जस्ती सुन्दरी जो कोहीको मनमा एकैपटकमा पस्न सक्ने आकर्षण थियो उसमा । जम्मामा जहाँ पल्टाए नि त्यै मन त हुन्छ, जीवनको असङ्ख्य साथी । त्यही मनसँग भावनाको खिचडी पकायो, चित्त बुझायो, कुस्ती लड्यो फेरि चित्त बुझायो, अनायासै फेरि चित्त दुखायो । फेरि यहीँ मनबाट नै मन्थन गरेर चित्त बुझायो । यदि यो मन नै नभइदिएको भए कोसँग लड्नुहोला भावनाका कुस्ती ।

१७ वर्षसम्म पुगी सक्दा समेत आमाले आफ्नो बाबुको विषयमा केही कुरो उठाएका छैनन् । त्यसो त कहिल्यै सोधिनन् निलकमलाले पितृबिछोडका सिलसिला । कहिले काहीँ साथीसँगीहरुले बाबुको कुरा प्रसङ्गवश निकाल्दा आमाको अनुहारमा बादल मडारिन्थ्यो । यो मनोविज्ञान म सजिलै अड्कल गर्न सक्थेँ । आमाको विगतमा के बितिरहेको छ, अहिले केही हदसम्म बुझ्न सक्ने भएकी छु । केटाकेटी छँदा दाउरा, घाँस, पानीको अलावा विद्यालयले खप्लक्कै खायो बालपन, शैशवकालमा घरमा त्यति सुख थिएन । हातमुख जोड्न निकै हम्मे हम्मे पथ्र्यो, आमाको माइतीले दाइजोमा दिएको ५ रोपनी बारीको उब्जनीले छ्याल्लो फ्याल्लो पुग्ने कुरै भएन । पुग्ने नै भयो भने पनि गाउँबस्तीको कुरा हो छरछिमेकमा बसेपछि खर खेतला नजाने कुरै आउँदैन । गाउँमा जति धनी सम्पत्तिवाल भए पनि मेला पात जानु पहिलो प्राथमिकता हो ।

आमा खेतला जान्थिन् साँझमा सि...सी...रि...रि...कि...रि...रि...रि... किराहरुको बास बस्ने बेला अथवा गोधुली साँझपख पटुकीमा मकैको चामल र पुरानो जर्किनमा आधा भाँडो अमिलो मही बोकेर घर आउँथिन् । त्यति बेलासम्म म विद्यालय जानु आउनुदेखि घरको धन्दा बस्तुभाउ थन्क्याई सकेर सिठोपिठो खानेकुरा तयार पारेर राख्थेँ । सारै दुःख पनि होइन सुख पनि होइन । बालपन कुन्नि कतिखेर चिप्लिएछ बलेसीमा कुखुराको भाले चिप्लेसरी । बाबुको बारेमा सोध्ने त होस् हवास् नै आएन । निलकमलाको उमेर उक्लिनु र आमाको जीवनमा आयुले गोटा गन्दै रहनु उस्तै उस्तै रह्यो । यो यथार्थ हो तर मान्छेले यस्तो कुराको हेक्का हत्तपत्त राख्दैनन् । मान्छे उमेरले जति परिपक्व हुँदै जान्छ त्यति उसको बाँच्ने दिन पनि उँधोगति हुँदै जान्छ तर पनि क्षणिक सुखमा संसारको सबै दुःखहरु कति सजिलै भुलि दिन्छन् यो जन्ममा रित रहेछ बाँच्नुको ।

आमाको मुहारमा खुलेआम रुपमा मैले कहिले सूर्य उदाएको देखिन । आँठोपाँजो मलाई हँसाउनको लागि कहिलेकाहीँ आमाको अनुहारमा चन्द्रमा उदाउँथ्यो । हाँसो अमिलो भए पनि गाढा र पारदर्शी हुन्थ्यो, आमा हाँस्दा मेरो मन पनि उदेकले रमाउँथ्यो । हुन पनि आमा अत्यन्तै सुन्दरी यतिखेर त यस्ती झन् वैशाखमा कस्ती थिइन् होली † सहर बजारको जस्तो लवाइ खवाइ पुग्नु हो भने त मोनालिसा पनि हार खान्थिन् होला । भृकुटीले पनि सलाम ठोक्थिन् होली...। मलाई जन्माएपछि आफ्नो सम्पूर्ण जीवन नै गुमराहमा राखिन् । आखिर किन होला ? जीवनभर मेरै निम्ति पुरै कावेली पिएर एक्लो जीवन बिताइन् । जीवनको मलिलो फाँटलाई बनाइन् किन बन्जर । जिज्ञासा जाग्न थालेको छ कता कता । राम्रो हुन पनि नराम्रो रहेछ । राम्रो वस्तुमा सबैका आँखा पर्छन् भन्छन् । मैले गाउँका सारै राम्री केटी मान्छेहरुले नराम्ररी दुःख पाएकी देखेकी छु ।

माथि जोरपानीको गोरी अत्यन्तै सुन्दरी थिइन् । उनी बाटोमा हिंड्दा बाटै रमाइलो र सुन्दर हुन्थ्यो, उनलाई मन नपराउने सायद बिरलै थिए होलान् । एक समयको कुरा हो । यो गाउँका सँगी र दौंतरी ठिटाहरुसँगै बाला चतुर्दशीको मेला भर्न जाने निर्णय भएछ । बाल चतुर्दशीको मेला वर्षमा एकपटक लाग्ने गर्छ । १५ दिनमा लाग्ने चतुरे बजार र वर्षमा एकपटक लाग्ने चतुरे मेला बजारमा धेरै भिन्नता छ । महिनौदेखि बालाचतुर्दशीको मेलाको लागि अग्रीम तयारी हुने गर्छ । मस्त तरुण तरुणीहरुले आआफ्नो मन मिल्ने तन्देरीहरु टाडाबाट बोलाइएका हुन्छन् । त्यसैले बालाचतुर्दशीको महत्वको रौनक नै रङ्गीन रहन्छ ।

बुढापाकाहरु बजार भरेर बेलैमा घर फर्किन्छन्, जाडो खप्न सक्ने र अग्रीम कार्यक्रम हुनेहरु त्यो रात बसेर जुहारी खेल्छन् । धान नाच्छन् । दोहोरी गाउँछन् । कला नहुनेहरुले गफ गरेर रात काटाउँछन् । यसै गरेर जीवनका तन्देरी भावनाहरु आदानप्रदान गरी बोलीवचन साट्छन् । चतुरे मेलामा जाडो पनि औधि हुन्छ, सगरमाथा नै उल्टिएर आए सरी । मेला गननन बजी रहेको छ । बजारको रौनक कानैमा रन्किएको भान हुन्छ । जङ्गलको पात हाँँगा सेउलाहरुको कटेरो डेरा बनाएर केही समयवधिको लागि अस्थायी दोकान बनाइएको हुन्छ । जो मेला सकेपछि भत्काइन्छ, दोकानको नजिकमा ठूला ठूूूूूूूूूूूला मुडा जोडेर आगो सल्काइएको हुन्छ । त्यसको वरिपरि बसेर कसैले तोङ्बा तानीरहेका हुन्छन् ।

कसैले सेल रोटी चपाइरहेका हुन्छन्, कसैले पिरो अमिलो लगाएर बनाइएको चटपटेको परिकार साकसुक गर्दै खाइरहेका हुन्छन् । चटपटे मधेशतिर अर्कै प्रकारले बनाइन्छ तर यहाँ मुराइमा नुनखुर्सानी, प्याज, अमिलो लगाएपछि हुँदो रहेछ । मेलाको पूरा पृष्ठभूमि हेर्दा लिम्बूहरुको बर्खन्त जस्तो लाग्छ । यहीँ प्रकृतिको मेला भर्न आज विहानैदेखि साथीहरु दौडधुपमा छन् । सबैले आफ्नो लागि खानेकुरा र अति आवश्यक चिजहरु बेक्नुपर्छ । घरबाट हिंडेर टाडा बाटो पार गर्नु पर्ने भएकाले आफ्नो आकर्षक पहिरनहरु झोलामा बोक्ने चलन छ मेला पुग्न आँटे पछि एउटा कुनामा ओत हालेर कपडा लगाई सिँगार पटार गरी बेहुली जस्तो भएर निस्कन्छन् केटीहरु । केटाहरु बेग्लै सुरक्षित, स्थानमा गई सोही पाराले चिरिच्याँट भएर निस्कन्छन् ।

गोरी पनि आज निकै त¥याङ म¥याङका साथ मेलामा छिन् । आज धेरै खुशी छिन् । हुनसक्छ उनको जवानी मनमा नयाँ उमङ्ग आइरहेकोे होस् । आज उनी आफ्नो हितचितको मान्छेसँग भेट गर्दै छिन् । यहीँ रफ्तारमा मेलाको औपचारिकतामा निखार आइरहेको छ । एक ठाउँमा हुलबगाल बाँधेर बसेका मेला भर्ने तरुणी तन्देरीहरुको मनमा अहिले चाहिँ सूर्य अस्त झैं भयो । जति रात प¥यो उति चम्कन्छ पृष्ठभूमि । चुक पोखिएको कालो रात च्यातेर सूर्यले पूर्वबाट अनुहार देखाउने चेष्टा गर्यो, मान्छेहरु आफ्नो गुँडतर्फ फर्कनलाई हस्याङ फस्याङ गर्न थाले । कोही साथीहरु बोलाउँदै घर जाने सङ्केत दिन थाले ।

कोही सुरिलो भाका हालेर विदाइको लेग्रा तान्दै आफ्नो गन्तव्यतर्फ हुँइकिन थाले । गोरी पनि आफ्नो साथीहरु खोज्दै अगाडि बढिन् । पूर्व फाटेर विहान रङ्गीन देखिन्थ्यो । आलस्य शरीरमा केही ऊर्जा थपेर स्फूर्ति प्रदान गरिरहेको भान हुन्थ्यो । साथीहरु अगाडि बढिरहेका छन् । गोरी हान्निएर दगुरी रहेकी छिन् । बाटोमा एउटा ठूलो जङ्गल पार गर्नुपर्ने हुन्छ । त्यो जङ्गल खलङ्गाको जङ्गल हो । साथीहरु बाटोमा अगाडि पछाडिबाट पनि आउँदै थिए । उनी ढुक्क थिइन् एक्कासी साथीहरु होला भन्ठानेर पछाडि फर्किएर हेरिन् तर पछाडिका मान्छेहरु गाउँका साथीहरु नभएर अरु कोही रहेछन् । अनभिज्ञ र अपरिचित भएकाले गोरीले आफ्नो पाईताला अझ अगाडि बढाउने प्रयास गरिन् । तर, त्यो हुलले बाघले झम्टिए शिकार लखेटे जसरी लखेटी रहेका थिए । खलङ्गाको जण््गल घना छ । बाटोको मध्य भागतिर अझ जङ्गल मौलाएको छ । आफ्नो ज्यान बचाउन ताउर माउर गर्दै भाग्ने प्रयास भइरहेको छ । क्षमताले भ्याए जति चिच्याई रहेकी छिन् । त्यो निर्दोष आवाज न त कुनै बटुवाले सुने, न त आफ्ना साथीहरुले नै । एकाएक गोरीमा वज्रपात भयो बाँच्ने प्रयासहरु मिथ्या भए । उनको चिच्याहट अर्थ शुन्य भयो । त्यो अनभिज्ञ हुलले उनलाई भित्र जङ्गलतिर लगे । अनि मुख थुनेर कराउन चिच्याउन दिएनन् ।

पालैपालो उनको शरीरबाट आफ्नो तृष्णा पोखाए । सहनुको पनि सीमा हुन्छ । बाघ जस्तो पालैपालो झम्टिएर लुछी रहे नरपिसाचहरुले । कैयन वज्रहरु सहिरहनुको विकल्प थिएन । एक दुई जनासम्म त केही थाहा पाएर प्रतिकार गर्ने प्रयास गरिन् तर एक पछि अर्को गर्दै झम्टिएपछि केही समयपछि होस् हवास् उड्यो । लाश जस्तो डङ्रङ प्रतिक्रियाविहीन पृथ्वी जस्तो लडिन् निस्फिक्री । मनोमानी लुटे यौवन पिपाशुहरुले गोरीको शरीर । आफ्नो प्यास मेटिएपछि त्यही अवस्थामा जिउँदो शरीर छोडेर गए । केही घण्टापछि होस् फर्कियो । आफ्नो शरीर छताछुल्ल भएको महसुस गर्न नपाउँदै आफ्नो अवस्थाको चेत खुल्यो । अधमरो भएर विस्तारो आफ्ना छरपस्ट वस्त्रहरु समाल्दै बाटो खोजिन् र विस्तारै घरतर्फ लागिन् । अब पूर्ण रुपले बिटुलिएको र अब गोरी गोरी नरहेर एउटा जिउँदो लाश मात्र रहेको महसुस गर्दै जिन्दगीदेखि भाग्न खोजिन् ।

आफ्नो अवस्थाको बारेमा गाउँघरमा सबैले थाहा पाए । अपराधीहरु खेज्नतर्फ पनि लागे तर अपरिचित मान्छेलाई कसले चिन्न सक्छ र † गोरीले पनि अनुहार अगाडि आए चिन्न सक्ने बताइन् । अपराधीले मैले अपराध गरेको हो भनेर अपराध स्वीकार गर्न अगाडि आउने कुरै आएन । एकदिन दुईदिन हुँदै गोरीमा आत्माबल कम र तीव्र निराशापनको कारण आत्महत्या गरेर प्राण पखेरु त्यागिन् । यो घट्ना गोरीमा मात्र होइन । हाम्रो समाजमा थुप्रै हुने गरेका छन् तर गोरीको नियति भने सुन्दरी हुनुको अभिशाप हो भन्ने गाउँलेहरुमा छाप प¥यो । कतै मेरो आमामा पनि यस्तै नियति आई परेको त होइन ? मनमा सङ्कोच बढ्न थाल्यो । आमालाई सोध्न मन लाग्यो, मेरो बाबु नहुनुको कारण । म त्यसै मरियमको कोखमा पवित्र आत्माबाट गर्भधारण भएको जिसस जस्तो त होइन होला ? एक दुई हुँदै जिज्ञासाले मनमा कौतुहलता जगाउन थाल्यो । एक दिन आमालाई सुत्ने बेला पारेर गम्भीर भएर सोध्ने चेष्टा गरेँ । आमाले कुरा लुकाउने सुनियोजित प्रयास गरिरहिन् । त्यही बेला मलाई भक्कानो फुटाएर रुन मन लाग्यो । के म नाजायज छोरी हुँ ? के मेरो चिनारी छैन ? यसरी बक्न थालेपछि आमा पनि बेस्कन रोइन् । अनि आमाले आफ्नो वृत्तान्त सुनाउन थालिन् । तिमी नाजायज छोरी हैनौ । समाजले तिमीलाई नराम्रो लाञ्छाना लगाए । मैले पनि तिमी जन्मेपछि थुप्रै असामाजिक बेतिथिहरु भोगेँ । तिमी सानै थियौ । विस्तारै ती तिता आरोपहरु को घाउ समयको गतिले खाटो बस्दै गए ।

आज १८ वर्षपछि फेरि तिमीले खाटो बसेको घाउमा चुक दलेर दुखाउने प्रयास ग¥योै । तर, वास्तविक कुरो मैले तिमीलाई एक दिन भन्नै पर्ने थियो । मलाई यो अर्थमा नमिठो लागेको भने छैन । त्यस्तै १९ वर्ष पहिले मेरो र कावेली पारीको एहाङसँग नवमी डाँडामा भेट भयो । छोटो समयमा नै हाम्रो मित्रता प्रगाड बन्दै गयो । हामी प्रेममा यति नजिक भएछौँ कि छुट्टिन नसक्ने गरी मेला हाट बजारमा हाम्रो भेट निरन्तर हुँदै गयो । सँगै मर्ने बाँच्ने कसम खाएपछि छुट्टिन नसक्ने गरि आलिङ्गनमा बेरिएछौँ । पछि एहाङले मलाई सिक्किम भगाएर लग्यो । त्यहाँ हामी बाटो खन्ने काम गथ्र्यौ । हामीले धेरै दुःख भोग्यौँ । त्यो बेला म सुन्तलाको भारी बोक्थेँ । एहाङ बाटो खनेर रोजगारी गाथ्र्यो, खाना पकाउँथ्यो ।

सारै दुःखको अनुभव भएपछि एहाङले गोर्खा भर्ती हुने प्रस्ताव राख्यो र मलाई गाउँमा पठायो । म अनेक दुःख खपेर पनि माइतमा बस्न थालेँ । पछि तिमी जन्मियौ । तिमी जन्मेपछि त झन् खप्नु खानु भएन । अनि, मेरो बुबा आमाले मलाई हामी अहिले बसेको घरबारी दिएर मेरो काजक्रिया गरी छुट्याउनु भयो । तिमीलाई यो कुरा किन भनिन भने तिम्रो कलिलो बुद्धिमा यो समाजले असामान्य मानेको कुराको नराम्रो छाप नपरोस् र तिमी धेरै ज्ञानी बनेस् भन्ने मेरो ध्येय थियो । समय आएपछि मैले एकदिन यो कुरा तिमीलाई भन्नै पर्ने थियो । जब मबाट एहाङ मेरै समर्थनमा भर्ती हुन गए तर फेरि कहिल्यै फर्केर आएनन् ।

मैले थुप्रै खोज्ने प्रयासहरु पनि गरेँ तर केही अत्तोपत्तो हुन सकेन । अगाडि काम गरेको ठाउँ सिक्कममा गएर हामी बसेको बहालवालालाई पनि खोज्न लगाएँ । उनले अछामतिर भासिएको छ रे भन्ने सम्म खबर दियो । त्यहाँबाट मैले एहाङलाई कहिले खोजिन र माया मार्दै गएँ । तिमी त्यही एहाङको छोरी हौ निलकमला । म तिमीलाई कसरी विश्वास दिलाऊँ, फेरि मैले यो निर्दयीको नाम सम्म कहिल्यै लिइन । मलाई त्यो नाम फेरि सुने भने रिँगटा लाग्छ । त्यहीँ तितो यथार्थले मलाई कालै भएर छोप्छ । तिम्रो बुबा म¥यो कि त्यसै छ, मलाई थाहा छैन तर एउटा प्रमाण भने मसँग अझै छ । यी हेर आँखाभरि बलिन्द्र आँसु बगाउँदै आमाले एउटा पुरानो सल्लाको काठले बनाएको ध्वाँसो परिसकेको सन्दुकबाट हातले बुनिएको ढाकाको रुमाल बाहिर निकालेर देखाइन् ।

त्यो रात मैले अरु कुरा कोट्याइन किन भने आमाको अवस्था धेरै नाजुक थियो । मेरो टेष्टको परीक्षा आउँदै थियो । म स्कूल जाने आउने त्यही रितले चल्दै थियो । जोर वर पीपलको फेदमा त्यो अपरिचित अधबैंसेको अझ शारीरिक अवस्था खच्किएर लडिरहेकै थियो । बटुवाले दिएको खाने कुरा पनि केही दिनदेखि नखाई छरपष्ट अवस्थामा थियो । एक रात फेरि आमासँग एहाङको बारेमा कुरा भयो । आमा गम्भीर भएर भन्दै थिइन् छोरी निलकमला † मैले जीवनमा अधिक तितो भोगिसकेको छु । हाम्रो पुरुष प्रधान समाजमा दोष महिलाकै हुन्छ । पुरुषहरुले यहाँ खुलेआम रुपमा महिलाको शोषण गरिरहेका छन् । रण्डीबाजीमा पुरुषहरु पनि त्यतिकै सक्रिय छन् तर दोष महिलामा थुप्रिन्छ । पुरुषहरु सम्पूर्ण समाजको भार बोकेर पूर्ण अधिकारका कुरा गर्छन् । आज हर्ताकर्ता र तागतदार पुरुषहरु नै छन् । यो युगलाई म मुठ्ठीभर पुरुषहरुको युग भन्न चाहन्छु । नारीलाई ईश्वरले आमाको क्षमता राखी सृष्टि गरेको भए पनि आमा यहाँ आमा जस्तो कहिल्यै छैनन् । प्रत्येक आमाहरु यहाँ बलात्कृत छन्, चाहे वैधानिक होस् या त अवैधानिक होस् । तर, नारीबाट आमाको गुण नारीत्व कहिल्यै बिलाउन सक्दैन । तिमी जे जसरी भए पनि मेरो छोरी हौ । मैले आफ्नो धर्म निभाएकै छु र यो प्रकृति धर्म पनि हो । नारी आमा हो नारीले सहधर्मिणीको भूमिका निभाउनै पर्छ । म नेपाली हुँ तर मेरो नाममा तिमीले नेपाली नागरिकता प्रमाण पत्र तोकेर पाउँदैनौ । त्यहाँ बाबुको नाम हुलिया दाखिल गर्नुपर्छ ।

यही छ बिडम्वना † हाम्रो समाजको पुरुषले नारीलाई अनेक दुव्र्यवहार गरे पनि झरीले कुटेका चल्लाको माउ भएर थिचोमिचो सहेर बस्नुपर्ने अवस्था छ । यहाँ पुरुष शासित समाजले जे जस्तो रुपमा उपभोग गरेता पनि नारी बिना संसारको सृष्टि थामिन सक्दैन भन्ने कुराको हेक्का समेत नरपिसाच पुरुषहरुलाई ज्ञात छैन । चाहे रखेल होस्, चाहे नोकर्नी होस् या वेश्या नै किन नहोस् तर शक्तिशाली पुरुषलाई जुन रुपमा पनि आफ्नो धर्म निभाएकै छ । सृष्टि थामेकै छ । यो अवस्था भनेको हाम्रो जस्तो विकासोन्मुख राष्ट्रमा मात्र हो । अन्य विकसित मुलुकहरुमा समाजलाई चक्मा दिएर ठूलाठूला प्रगतिहरु नरीले गरेका छन् । यहाँ चुनावहरुमा भोट माग्ने बेलामा प्रतिशतको कुरा उठाइन्छ तर व्यवहारमा शुन्य छ । यो किन भइरहेको छ भने नारीहरुले आधा हिस्सा जनसङ्ख्या ओगटेको छ । नारी सशक्तीकरणको कुरो उठाइएन भने आधा मत पुरुषको विरुद्धमा खस्ने डर छ । त्यसैले जुनसुकै धरालतबाट पनि नारीलाई बैङ्क ठान्निछ अनि मान्छे बनाउने मेसिन । तर, विसङ्गति र चेतनाभावको कारण संयम नारी नै नारीको विकासमा बाधक बनेको भुल्नु हुँदैन । आमाले अपार माया, ममता दिएर आफ्नो सन्तानलाई हुर्काई सुनागरिक बनाउने हर चेष्टा गर्छिन् तर आजको पुरुष समाजले नारीलाई काम वासनापूर्ति गर्ने साधन बनाउन अतुर हुन्छन् । वासनाको भाँडो नारीलाई बनाएपछि धैर्यको बाँध भत्किने निश्चित छ ।

समाजमा अन्याय अत्याचारले जब सीमापार गर्छ अनि नयाँ युगसँगै नयाँ, सशक्त क्रान्तिहरु जन्मन्छन् । प्रताडित अपहेलित जस्तो भएर मान्छे समान बाँच्न पाउने अधिकारलाई छिन्ने यो समिति पाखण्डी पुरुष समाजलाई अब सवक सिकाउने बेला आइसकेको छ विहानको घाम आए जसरी । आमा गम्भीर भएर आन्दोलित भावना पोखिरहेकी छिन् । निलकमला मनभरि आमाको चोट खिलि खिलि सुनिरहेकी छिन् । खासगरी नेपालका नारीहरु परमपरा, रितिरिवाज, संस्कार र पारिवारिक पुरुष शक्ति बन्धनले बाँधेर अपहेलित बनाइएका छन् । यो अवस्थाले केवल नेपाली नारीहरुलाई मात्र घाटा हुने होइन सिङ्गो राष्ट्र नै युगदेखि अधोगतिमा भड्खालिंदै छ । यो भोगराइ र देखाइको अनुभवबाट अबको नारीहरु धारिलो र तिखो भएर निस्कने आँट गर्नुपर्छ । जीवन रुपान्तरण साथै निष्पक्ष समाज बनाउन कम्मर कसेर लाग्नुपर्छ, त्यस्ता पाखण्डी पुरुषहरु मात्र होइन पुरुषहरुको नर्तकी बनेर नारी चेतना र विकास बाधक नारीहरुलाई पनि चड्कन चिउरा चखाउनुपर्छ । पुरुषले नारीलाई सकरात्मक दृष्टिकोण राख्ने अवस्थाको वातावरण मिलाउन अब नारीले नै कार्य थालनी गर्नुपर्छ । निलकमला धिर भएर विस्तारै आन्दोलित हुँदै छिन् । अब भने आमाको वास्तविक दुखाइ स्पष्टै बुझिन् निलकमलाले । अनि, एउटा कडा प्रण गरिन् । अब पूर्णरुपले नारी आन्दोलन र नारी सशक्तीकरणमा आफ्नो जीवन कुर्वान गर्नेछु ।

समयको रफ्तार तीव्र गतिमा अगाडि भाग्दै थियो । आफ्नो दैनिकी स्कूल आवत जावतमा देख्ने गरेको त्यो अधबैंसे मान्छेलाई अझ जीर्ण हुँदै गइरहेको देखिरहेकी छु । स्कूलबाट घर फर्कंदा केही खानेकुरा ल्याएर दिइरहेकी छु । दिनदिनै उसको शारीरिक अवस्थाले मलाई अझ दुःखी बनाइरहेको छ । त्यो अधबैंसे मान्छेको बारेमा मैले आमासँग कुरा चलाएँ । आमले पनि सहानुभूति प्रकट गर्दै को रहेछ ? त्यो अधबैंसे उसका आफन्तहरु पनि कोही रहेनछन् ? केही बुझ्न खोजे जस्तो जिज्ञासा राखिन् आमाले । नारी सम्वेदना त हो । यसरी कसैले दुःख पाइरहेको सुनेर आमाको मन पनि पग्लियो । स्कूलबाट घर फर्कने बेला सधैँ झै केही खानेकुरा लिएर अगाडि राखी दिएँ । खानुहोस् दाइ † आज भने मेरो मुखबाट स्नेह पोखियो । यो खानेकुरा आवाज सुनेर लडिरहेको मान्छेले मलाई हेर्ने प्रयास ग¥यो । केही भन्दै थियो । अब मलाई यसरी सहानुभुति नदेउ नानी † अब म बाँच्दिन होला । मलाई कता कता दया पलाएर आयो र केही बुझ्ने प्रयास गरेँ । तपाईं को हो दाइ ? कहाँबाट आउनु भएको ? तपाईंको घर कहाँ हो ? मेरो यस्तो कुरा सुनेर उठ्न खोज्दै थियो । मैले उसको पाखुरामा समाएर उठाइदिएँ । उसको आँखाभरि आँसु बगिरहेको थियो । नानी म निर्दयी हुँ । यही पापले मलाई यहाँसम्म ल्याएर फालिदियो । मैले जिज्ञासा अझ आतुर भएर राखँे किन दाइ ? उसले मधुरो स्वरमा आफ्नो विगत कोट्याउने प्रयत्न ग¥यो । सायद यो उसको अन्तिम इच्छा थियो होला । अतीतका घटना सुनाएर प्रायश्चित पनि हुने, आफ्नो इच्छा पनि पुरा हुने । यही सम्झेर आफ्नो विगत भट्याउन थाल्यो । म अझ उत्सुकताको साथ उसको कुरा ध्यान दिएर सुन्न थालेँ । म कावेली पारिको एहाङ हुँ । एहाङ भन्ने बित्तकै मैले त्यो नाम दिमागमा उनेर फेरि दोहो¥याएँ एहाङ ? अँ एहाङ हो मेरो नाम । मैले आमाको बर्बादीलाई एकपटक गौण तरिकाले निक्र्यौल गरेँ । कता कता मनमा होस् पलाए जस्तो मलाई भयो ।

एहाङ नाम त धेरैको हुनसक्छ सायद यो संयोग हुनसक्छ । खोक्दै शब्द अड्काउँदै मेरो यही गाउँको भुइचम्पासँग १९ वर्ष पहिले प्रेम विवाह भएको थियो । म अझ भावुक बन्दै सुनिरहेँ उसको कुरा । यही जोर वर पीपलको छहारीमुनि हामी एकआपसमा माया साट्दथ्यौँ । यो वर पीपलको शीतलता अझ पनि उस्तै छ । हामी वाचा गर्दथ्यौँ । यही वर पीपल जस्तो हामी कहिल्यै अलग नरहने १९ वर्ष अगाडि र अहिलेमा कुनै परिर्वतन छैन । उस्तै छ बरु अलिक झाँगिएका छन् यी वर पीपलका रुख । हामीले कैयौँ रात यहीँ काट्यौँ । हाम्रो मायाको दशी प्रमाण छ त यही जोर वर पीपल अब । मरितरि हातले औँल्याउँदै त्यो चौतारीमा बसेर हामी प्रेमलाप गथ्यौँ । तर, अब त्यहाँसम्म पुग्ने सामथ्र्य छैन ममा । हामीले यहीँ वर पीपल साँक्षी राखेर प्रेमको बाचा कसम खाएका थियौँ । युग–युगान्तर जन्म–जन्मान्तरसम्म हामी यहीँ बर पीपल जस्तो तपी रहने तर समय हाम्रो पक्षमा रहेन । समाजमा भुर्इंचम्पा र मेरो माया अपच्य भयो । विभिन्न लाञ्छनाहरु हामीले बिहो¥यौँ । म त छोरो मान्छे हुँ । ममाथि समाजले त्यत्रो निगरानी राखेन र भुइँचम्पाले धेरै असामाजिक अवस्था भोग्नुप¥यो । वैशाख पूर्णिमाको रात हामी यहीँ वर पीपलको फलंैचामा आएर विकल्पको खोजी ग¥यौँ । हामीले रातभर रोएरै रात कटायौँ अनि समाजको मुख टाल्न र हाम्रो प्रेम अजर अमर बनाउन यहीँ वरपीपललाई साँक्षी राखी प्रेमविवाह ग¥यौँ । त्यो बेला रोजगारीको गन्तव्य स्थान सिक्किम भएकोले हामी जीवन बाँच्न सिक्किम भागेर गयौँ ।

एकबाट दुई भएपछि बाँच्न निकै गाह्रो हुँदो रहेछ । भुइँचम्पालाई उनको माइती ल्याएर छाडी दिएँ । पछि, म गोर्खा रेजिमेन्ट अन्तर्गत पर्ने गोर्खा भर्ती हुन दार्जिलिङको गुम पुगेँ । त्याहाँ थुप्रै नेपालीहरु वषौँदेखि भर्ती हुन पालो कुरेर बसेका हुँदा रहेछन् । एक वर्षसम्म म पनि अनेक कष्ट खपेर बसेँ । लाहुरे हुने सपना पूरा हुन नसक्ने लागेर म विकल्पको खोजी गर्न बरालिंदै हिंड्दा एउटा गल्लावाल वीरजंग सुविदार मेजरसँग भेट भयो । उसले भर्ती गराइदिन्छु । मेरोमा बसेर काम गर। मैले त्यो सुविदार मेजरको घरमा वषौँसम्म चाकरी गरेँ । फोस्रो आश्वासन दिएर मलाई उसको नोकर बनाएर राख्यो । मेरो उमेरले पनि डाँडा काट्दै गयो । उमेरसँगै भर्ती भएर लाहुरे हुने सपना पूर्णरुपमा तुहियो । म लाचार भएर बरालिँदै हिंड्ने क्रममा समयले मलाई सिलाङको कोइला खादमा धरफ¥याउँदै पु¥यायो । अनि, म कहिल्यै उठ्न नसक्ने गरी कोइलाको खादसँग नजिक रहेँ । मेरो दिनचर्या कोइलाको गाडी तान्नु, धनुवाँण खेल्नु, जाँड रक्सी चिठ्ठा तासजुवा खेल्न तरुणी खेलाउनु रह्यो ।

सम्पत्ति कमाएर धनी हुने परिकल्पनाहरु यसै यसै धमिरो लाग्दै गयो । म शारीरिक रुपमा पनि खस्कँदै गएँ । आफ्नो देश, घर फर्कन्छु भन्ने सोचेर फर्किएँ । यहाँ आएको बाटैमा जोर वर पीपल देखिहालेँ । म आएकै दिन यहाँ बसेर खुब रोएँ अघाउञ्जेलसम्म । यहाँबाट मेरो पाइला बढ्न सकेन किनभने यो जिउँदो जोर वर पीपल मेरो अतीत हो । मेरो जीवनको यर्थात इतिहास हो । मैले सोचँे, अनि मैले जीवनमा भुईंचम्पा माथि गरेको अन्यायको पश्चातापको आगो यहीँ समाप्त पार्नुपर्छ । ऊ भन्दै थियो अनुहारमा निराशपना रेखाङ्कित हुँदै थियो । एहाङको वृतान्त सुनेपछि पहिले आमाले मायाको चिनो भनेर देखाएकी ढाकाको रुमाल देखाउँदै यो रुमाल तपाई चिन्नु हुन्छ ? निलकमलाले प्रश्न गरी । खोई हात अगाडि बढाउँदै रुमाल देख्ने बित्तिकै एहाङमा हौसला बढ्यो बाँच्ने । उसको नौराश अनुहार पूर्णरुपले कायापलट भयो ।

रेसादार कालो फाटेर पूर्व रातै भएर भुईंमा गाढा रोशनी खस्यो । जगतका मान्छेहरु कामसाधनामा तल्लीन रहे । भोलिपल्ट निलकमलाले आफ्नो आमालाई बिहानै उठाई । सिँगार पटार गरेर जोर वर पीपलमा पूजा गर्न लाने भनेपछि आमा पनि तयार भइन्। आमा पनि आज २० वर्षपछि त्यो जोर वरपीपलको अनुहार हेरेर आफ्नो विगत सम्झेर चित्त बुझाउने हिसाबले खुशी हुँदै हिँडिन् छोरीसँग । तलैबाट जोर वर पीपलको लहलहाउँदो बोट देखिँदै थियो । बसन्त ऋतु भएर होला सायद जग्गेमा ठाँटिएर बसेका नववरवधु जस्ता लाग्दथ्ये मिरमिरेमा । भरखर पालुवा फेरेर नयाँ उमङ्गसाथ गज्रक्क परेको वर पीपल । भुइँचम्पा के के मनभरि सोच्दै खुशी मुद्रामा आइरहेकी छिन् । जब वर पीपलको फलैचा अगाडि आएर टक्क उभिइन त्यतिबेला आखै अगाडि एउटा मानव आकृति बेवारिसे पारामा डङरङग लडिरहेको आँखामै ठोकियो । जोर वर पीपललाई नतमस्तक भावले ढोगिन् । अतीत सम्झिन्, लडिरहेको मान्छेलाई उद्धृत गर्दै निलकमला कराइन्, आमा यहाँ हेर्नुस् त यी मान्छे को हुन् । नजिकै गएर झकझकाउँदै उठाइन् तर सँधैंको जस्तो क्रियाकलाप विल्कुल छैन । हिजैमात्र छोडेर गएको दुवै हातले जोडले अँठ्याएर पल्टाइन् । त्यो शरीर बङलङगै उत्तानो पर्यो । बुबा...........।
हातमा ढाकाको रुमाल बोकेको मान्छे चिर निन्द्रामा कहिल्यै नउठ्ने गरि.....।

आस्था राउतलाई पक्राउ ...

धरान/ विमानस्थलमा महिला प्रहरीमाथि अभद्र व्यवहार गरेको ...

अमेरिकी गोलीकाण्डमा ...

ह्यूस्टन/ अमेरिकाको टेक्सास राज्यको सान एन्टोनियोमा आइत ...

मोदीको गाउँमा बाँदरक ...

विराटनगर । खेतमा लगाएको तरकारी बालि छरपष्ट छ । पाक्न ला ...

प्रदेश १ का चार राज् ...

प्रदेश १ सरकारले नियुक्त गरेका चार राज्यमन्त्रीले सपथग् ...

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2020 - Blastkhabar.com All rights reserved