इटहरी । मङ्गलबार दिउँसो मध्याह्नको टन्टलापुर घाम । सुनसरी इटहरीको भाटभटेनीअगाडिको एउटा खुला खेतबारीमा सयौं मान्छेको भीड देखिन्थ्यो । कोही हातमा फूलका गुच्छा बोकेर बसेको देखिन्थे, कोही ‘आफ्ना प्रिय नेता’ लाई मोबाइलको क्यामरामा कैद गर्न अग्लो ठाउँ खोज्दै थिए । धरानबाट आएकी सुस्मिता कार्कीको हातमा आफ्नै घरको बगैँचामा फुलेको सयपत्रीको थुँगा थियो ।
“दुई घण्टा भइसक्यो लाइनमा बसेको, आफ्नै हातले रवि र बालेनलाई स्वागत गर्न मन छ”–सुस्मिताको अनुहारमा उत्साह देखिन्थ्यो । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको राप र तापले छोपेको इटहरीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आयोजना गरेको चुनावी सभाको दृश्य हो यो ।
तर, ११ बजेदेखि कुरिरहेका सयौँको सङ्ख्यामा रहेका शुभचिन्तक र कार्यकर्ताका लागि त्यो पर्खाइ सोचेजस्तो सुखद् रहेन । मुख्य प्रवेशद्वारमा माला र खादा लिएर लामबद्ध भीडलाई छल्दै रास्वपा सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र साह (बालेन) दिउँसो ३ बजे मञ्चको पछाडिपट्टिबाट सुटुक्क उक्लिए । अगाडि ढोकामा तीन घण्टादेखि आँखा बिछ्याएका प्रशंसकहरू झस्किए, उनीहरूको उत्साह निराशामा बदलियो । रवि–बालेन मुख्य गेटबाट आउने भन्दै उनीहरूको लागि बाटो पनि कार्यकर्ताहरूले खुल्ला बनाएका थिए ।
बालेनको ५ मिनेट २६ सेकेन्ड
मञ्चमा उक्लिएपछि चौधरी समुदायको परम्परागत स्वागत ग्रहण गर्दै बालेनले सम्बोधन सुरु गरे । उनको शैली सधैँ झैँ प्रश्नबाट सुरु भयो, “नमस्ते ! सञ्चै हुनुहुन्छ ? चिया खानुभयो त ? चिया कहाँको खानुभयो, इलाम कि दमकको ?”
५ मिनेट २६ सेकेन्डको आफ्नो छोटो मन्तव्यमा बालेनले पूर्वको कृषि, सिँचाइ र पर्यटनको सम्भावनालाई उधिने । “हाम्रै पहाडको तरकारी तराईका झापा, सुनसरी र मोरङले खान पाएका छैनन् । तराईका केही जिल्लाले मात्रै क्षमताअनुसार धान फलाउने हो भने देशभरलाई पुग्छ” उनले भने, “तर विडम्बना, हाम्रै भान्छामा विदेशी चामल छ । यो दुःख समाधान गर्ने पार्टी रास्वपा बन्न चाहन्छ ।”
उनले धरानको खानेपानी समस्यादेखि कोशीको मेकानिकल लिफ्टिङ, वराहक्षेत्रको धार्मिक पर्यटन र उदयपुरको कोस्ट एरियालाई ‘बाली’ वा ‘माल्दिभ्स’ जस्तो बनाउन सकिने सपना पनि बाँडे । खेलकुदको प्रसङ्ग निकाल्दै उनले थपे, “देशका ७० प्रतिशत फुटबलर पूर्वले दिन्छ, तर यहाँ एउटा राम्रो स्टेडियम र ट्रेनिङ सेन्टर छैन । अब त्यो अवस्था बदल्नुपर्छ ।” उनले किरात संस्कृतिको ‘सिलम साक्मा’ को उदाहरण दिँदै जसरी यसले मृत्यु छेक्छ, त्यसरी नै रास्वपाले देशलाई जोगाउने दाबी गरे ।
आधा घण्टामै विसर्जन
बालेनपछि माइक समातेका सभापति रवि लामिछानेले पुरानै ‘आक्रामक’ शैलीलाई निरन्तरता दिए । उनले २०४६ सालयताका सबै भ्रष्टाचार काण्डको छानबिन गर्ने उद्घोष गरे । “प्रतिशोध हुँदैन, हिसाब हुन्छ” लामिछानेले भने, “सहकारी र लघुवित्तको समस्या समाधान गर्न नसक्नेहरूले मलाई थुन्ने षड्यन्त्र मात्र गरे । तर, रास्वपाको सरकार आएको सय दिनभित्र साना बचतकर्ताको पैसा फिर्ता गर्न सुरु गर्नेछौँ ।”
११ बजेदेखि सुरु भएको कार्यक्रममा विभिन्न जिल्लाका उम्मेदवारहरूले तीन–तीन मिनेट बोलेर माहोल तताएका थिए । तर, मुख्य आकर्षणका रूपमा रहेका रवि र बालेन मञ्चमा जम्मा ३० मिनेट मात्रै बसे ।
सम्बोधन सकिएपछि उद्घोषकले उम्मेदवारहरूसँग ‘सामूहिक तस्बिर’ खिचाउने कार्यक्रम रहेको जानकारी गराउँदै थिए । तर, बालेनले सुटुक्क रविको हात समाते र बाहिरिने सङ्केत गरे । कार्यकर्ताको भीडले घेर्ने डरले उनीहरू अघिल्लो ढोकाबाट होइन, मञ्चको उत्तर–पूर्व कुनाबाट सुटुक्क ओर्लिएर कुलेलम ठोके ।
साढे ३ बज्दा नबज्दै रवि–बालेन चढेको गाडी धुलो उडाउँदै हुइँकियो । हातमा फूल लिएर बसेकी सुस्मिता र उनीजस्ता सयौँ शुभचिन्तकहरू नेताको एक झलक पाउन मञ्चतर्फ दौडिँदा गाडी टाढा पुगिसकेको थियो । “तीन घण्टाको हुट्हुटी र पर्खाइलाई आधा घण्टामै थाती राखेर रवि–बालेन ‘सुटुक्क’ आए, ‘सुटुक्कै’ गए”–सुस्मिताले भनिन् ।
































