विजयपुर । धरान उपमहानगरपालिका–१७ स्थित डाँडा घोपामा लामो समयदेखि रोक्का गरिएको जग्गा फुकुवा गरिएको छ।
मंगलबार धरान उपमहानगरपालिकाको नगर कार्यपालिकाको कार्यालयले सूचना जारी गर्दै प्रस्तावित विमानस्थल निर्माणको कुनै ठोस टुङ्गो नलागेकाले सो क्षेत्रको जग्गा फुकुवा गरिएको जानकारी दिएको हो।
प्रस्तावित विमानस्थल निर्माणका लागि भन्दै निवर्तमान नगर प्रमुख हर्कराज राईले २०८० असोज ११ गते नगर प्रमुखस्तरीय निर्णय गर्दै उक्त क्षेत्रका जग्गा बिक्री–वितरण रोक्का गरेका थिए।
धरानका कार्यबाहक नगर प्रमुख अइन्द्र विक्रम बेघाद्वारा जारी सूचनामा लामो समयसम्म विमानस्थल निर्माणसम्बन्धी कुनै ठोस निर्णय नआएको तथा सम्बन्धित क्षेत्रका जग्गाधनीहरूबाट पटक–पटक निवेदन प्राप्त भएपछि रोक्का फुकुवा गरिएको उल्लेख गरिएको छ।
सूचनामा कुनै निश्चित योजना कार्यान्वयनमा नआउँदा व्यक्तिको निजी सम्पत्तिमाथि अनावश्यक प्रतिबन्ध लगाइराख्नु उपयुक्त नदेखिएको निष्कर्ष निकाल्दै अबदेखि सो क्षेत्रमा जग्गा बिक्री, नामसारी तथा अन्य कारोबार गर्न सकिने जनाइएको छ।
जग्गा फुकुवासम्बन्धी निर्णयको जानकारी मालपोत कार्यालय धरान र नापी कार्यालय धरानलाई समेत गराइसकिएको उपमहानगरपालिकाले जनाएको छ।
































