धरान । समयसापेक्ष प्रविधिको प्रयोगमार्फत् सेवाग्राहीलाई अझ सहज, छिटो सेवा प्रदान गर्न धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले घरबाटै आफूले रोजेको चिकित्सकको समय लिन मिल्ने बनाएको छ ।
यसअघि सञ्चालनमा रहेको एपलाई सुधार गरी पुनः सञ्चालनमा ल्याइएपछि सेवाग्राहीहरू प्रत्यक्षरूपमा लाभान्वित भएको प्रतिष्ठानले जनाएको छ ।
उक्त मोबाइल एपमार्फत् सेवाग्राहीहरूले अनलाइन माध्यमबाट नयाँ इएम् दर्ता तथा फलोअप दर्ता गर्न सक्ने व्यवस्था गरिएको प्रतिष्ठानको सूचना शाखाले जनाएको छ । यसरी अनलाइन इएम् दर्ता गरेका बिरामीहरू सोझै ओपीडीमा गएर चिकित्सकसँग परामर्श लिन सक्नेछन् । साथै, अनलाइन दर्ता गरेका बिरामीहरूलाई इएम् टोकन प्रणाली तथा बिलिङ सेवामा अग्र प्राथमिकता प्रदान गरिने व्यवस्था मिलाइएको प्रतिष्ठानले जनाएको छ ।
हाल प्रारम्भिक चरणमा प्रत्येक विभागका लागि दैनिक २० जना बिरामीको अनलाइन इएम् दर्ता सङ्ख्या निर्धारण गरिएको छ । सेवाग्राहीको माग, प्रणालीको कार्यक्षमता तथा प्रयोग अनुभवका आधारमा उक्त सङ्ख्या क्रमशः वृद्धि गरिँदै लगिने जनाइएको छ ।
यसैगरी, आगामी दिनहरूमा प्रयोगशाला तथा रेडियोलोजी सेवाका रिपोर्टहरू पनि सोही एपमार्फत् हेर्न तथा प्रिन्ट गर्न सकिने व्यवस्था गर्ने तयारी भइरहेको अस्पतालका सहप्रवक्ता डा. अभिजितकुमारले जानकारी दिए ।
यता स्वास्थ्य बिमासम्बन्धी इएम् दर्ता सेवा सञ्चालनका लागि स्वास्थ्य बिमा बोर्डबाट आवश्यक स्रोत प्राप्त गर्ने प्रक्रिया अगाडि बढाइएको प्रतिष्ठानले जनाएको छ । प्रक्रिया पूरा भएपछि उक्त सेवा पनि क्रमशः सञ्चालनमा ल्याइने प्रतिष्ठानले जनाएको छ ।
































