धरान । वर्षौंदेखि चुनावी नारा बन्दै आएको धरान उपमहानगरपालिका–१७ डाँडाघोपास्थित विमानस्थलको नाममा रोक्का राखिएको जग्गा फुकुवा गरिएको छ । 

धरान उपमहानगरपालिकाका निवर्तमान नगर प्रमुख हर्कराज राई (साम्पाङ) ले दुई वर्षदेखि रोक्का राखेको विमानस्थल क्षेत्र वरपरको जग्गा फुकुवा गरिएको हो । २०८० साल भदौ ११ गते तत्कालीन नगर प्रमुख राईले आफ्नो निर्णयबाट रोक्का राखेको जग्गा कार्यवाहक नगर प्रमुख अइन्द्रविक्रम बेघाले फुकुवा गरेका हुन् । “नगर प्रमुखको निर्णयबाट जग्गा रोक्का राखिएको थियो । सोहीअनुसार नगर प्रमुखको निर्णयबाटै फुकुवा गरिएको हो” –उनले फोन सम्पर्कमा भने ।

करिब एक हजार घरपरिवारको जग्गा रोक्का राखिएको थियो । उक्त क्षेत्रमा लामो समयदेखि विमानस्थल निर्माण हुने भन्दै यती इन्कर्पोरेटले जग्गा खरिद गरिराखेको थियो । जग्गा खरिद गरेको क्षेत्रबाहेकका अन्य जग्गाहरू पनि विमानस्थलको नाममा रोक्का राखिएको थियो ।

तत्कालीन नगर प्रमुख राईले पनि विमानस्थल बनाएरै छाड्ने प्रतिबद्धता गरेका थिए । तर उक्त क्षेत्र विमानस्थलका लागि जग्गा अपुग हुने निर्णय सुनाएका कारण सो स्थानमा विमानस्थल नबन्ने पक्कापक्की भएको हो । 

धरानका निवर्तमान नगर प्रमुखले जग्गा बिक्री वितरणमा रोक्का राखेका थिए । लामो समयदेखि रोक्का रहेका कारण जग्गाधनीहरूको मागलाई सम्बोधन गर्दै जग्गा फुकुवा गरिएको कार्यवाहक नगर प्रमुख बेघाले जानकारी दिए ।

“लामो समयसम्म कारोबार रोक्का रहेकाले फुकुवा गरीपाउँ भनी उक्त क्षेत्रका जग्गाधनीहरूबाट निवेदन प्राप्त भएकोमा एयरपोर्ट बनाउने विषयमा कुनै टुङ्गो भएको छैन” कार्यवाहक नगर प्रमुखले मङ्गलबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ, “लामो समयसम्म व्यक्तिका जग्गाहरू विना कारण रोक्का राखिरहनु उचित नहुने भएकाले यती इन्कर्पोरेट प्रा.लि.का नाममा भएका जग्गाबाहेक अन्य जग्गाहरू बिक्री वितरणका लागि फुकुवा गरिएको छ ।”

उक्त कार्यको जानकारी धरान मालपोत कार्यालय तथा नापी कार्यालय धरानलाई जानकारी दिइएको छ । उक्त क्षेत्रमा २०६० सालपछाडि विमानस्थल निर्माण गर्ने भन्दै यतीले धरान–१७ का जग्गाधनीबाट जग्गा खरिद गरेको थियो । विमानस्थल नबनेमा जग्गा फिर्ता गर्ने सहमति गरिएको थियो । 

तत्कालीन समयमा धरान उपमहानगरपालिकाका नगर प्रमुखका रूपमा कुमारबहादुर कार्की रहेका थिए । सहमतिअनुसार नै बिक्री गरे पनि हालसम्म जग्गा फिर्ता गरेको अवस्था छैन ।