विजयपुर । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले परिमार्जित मोबाइल एप सञ्चालनमा ल्याएको छ ।
प्रतिष्ठानका प्रवक्ता प्रा.डा. शमशेर श्रेष्ठका अनुसार मोबाइल एप सञ्चालनमा आएसँगै सेवाग्राहीलाई सहजता हुनेछ । समयसापेक्ष प्रविधिको प्रयोग गर्दै सेवाग्राहीलाई अझ सहज, छिटो तथा पारदर्शी सेवा प्रदान गर्ने उद्देश्यले प्रतिष्ठानले आफ्नो मोबाइल एपको परिमार्जित संस्करण सञ्चालनमा ल्याएको हो । एपमार्फत सेवाग्राहीहरूले घरबाटै अनलाइन माध्यमबाट जनरल ओपीडीको नयाँ दर्ता तथा फलोअपका लागि नाम दर्ता गर्न सक्नेछन् । अनलाइन दर्ता गरेका बिरामीहरूले सोझै ओपीडीमा गई चिकित्सकलाई देखाउन पाउनेछन् ।
अनलाइन ओपीडी दर्ता गरेका बिरामीहरूलाई ओपीडी टोकन प्रणाली तथा बिलिङ सेवामा समेत विशेष प्राथमिकता दिइने प्रतिष्ठानले जनाएको छ । अस्पतालमा हुने भीड व्यवस्थापनमा सुधार आउनुका साथै बिरामीको समय बचतमा महत्वपूर्ण सहयोग पुग्ने अपेक्षा गरिएको छ । हाल प्रारम्भिक चरणमा प्रत्येक विभागका लागि दैनिक २० जना बिरामीको अनलाइन ओपीडी दर्ता संख्या तोकिएको छ । सेवाग्राहीको माग र प्रणालीको कार्यक्षमताका आधारमा संख्या क्रमशः वृद्धि गर्दै लगिने प्रतिष्ठानको भनाइ छ ।
प्रतिष्ठानले सबै सेवाग्राहीलाई मोबाइल एपको अधिकतम उपयोग गरी उपलब्ध सुविधाको लाभ लिन आग्रह गरेको छ ।
































