भण्टावारी/ कोशी गाउँपालिका–३ पश्चिम कुसाहाका अनमोल मुखिया स्थानीय नदी र पोखरीमा माछा मार्ने गर्थे । चार सन्तानका बाबु अनमोल दिनभर मारेको माछा हाटबजारमा बेचेर नौ सदस्यीय परिवारको गुजारा चल्थ्यो । करिब चार महिनाअघि स्थानीय खरे खोलामा माछा मार्दै गर्दा एक्कासि कोशी टप्पु वन्यजन्तु आरक्षबाट आएका जङ्गली हात्तीको आक्रमणबाट अनमोलको घटनास्थलमै ज्यान गयो ।
श्रीमान्को सुस्वास्थ्य र दीर्घायुको कामना गर्ने तीजकै दिन श्रीमान् गुमाउँदाको क्षण अनमोलकी श्रीमती ललिता मुखियासँग अझै ताजै छ । त्यो दिन जीवनकै कालो दिन भयो उनका लागि । ‘दिउँसोको समय थियो खेतबारीमा काम गर्दै थिएँ गाउँका दिदीहरूले श्रीमान्को मृत्यु भएको दुःखद् खबर सुनाए । भर्खरै सँगै खाना खाएको श्रीमान्को मृत्युको खबर विश्वास लागेन’ उनले भनिन्, ‘घर आएपछि परिवारका सदस्य भावुक देखेँ । त्यतिबेलासम्म अनमोलको शव घटनास्थलमै थियो ।’
जवान छोरा गुमाएपछि मुखिया परिवारले सहारा र अनमोलका छोराछोरीले अभिभावक गुमाए । अनमोलको निधनसँगै परिवार पाल्न समस्या भएको ललिता बताउँछिन् । उनको कमाइले परिवारको गुजारा चल्थ्यो । उनले भनिन्, ‘अहिले जीविका चलाउन मुस्किल छ ।’ ३२ वर्षीय छोरा गुमाएका अनमोलका ५६ वर्षीय बुबा दुखीलाल मुखियाले जसोतसो परिवारको गर्जो टार्दै आएका छन् । ‘एक्लो बूढो ज्यानले के गर्नु ? जेठो छोराको मृत्युले परिवारको जीविका चलाउनेदेखि कलिला उमेरका छोराछोरीलाई शिक्षादीक्षा गर्न सकिने अवस्था छैन’ मुखिया भन्छन्, ‘छोराछोरीलाई हुर्काई बढाई गरेर बुढेसकालमा सुख प्राप्त गर्न लेखेको रहेनछ भाग्यमा ।’
अनमोलका दुई छोरा र दुई छोरी छन् । जेठो छोरा १० वर्षका रुदल मुखिया कक्षा ४ र अर्को ८ वर्षीय छोरा शङ्कर मुखिया कक्षा २ तथा ६ वर्षीया सोनावती कुमारी र ५ वर्षीया लक्ष्य कुमारी स्थानीय सरकारी विद्यालयमा कक्षा एकमा अध्ययनरत छन् । शुक्रबार अनमोलका जेठो छोरा रुदल माछा मारेर घर फर्किदै गरेको अवस्थामा भेटिए । हजुरबुबाको एक्लैको कमाइले परिवार पाल्न समस्या भएकोले आफूले पनि सहयोग गर्दै आएको उनले सुनाए । रुदलले भने, ‘विद्यालयबाट आएपछि प्रायः हजुरबुबासँगै माछा मार्न जान्छु ।’ दिनभर स्थानीय नदी–खोलामा मारेको माछा बेचेर जीविका चलेको उनले बताए ।
यता रुदलकी आमालाई सन्तान कसरी हुर्काउने भन्ने चिन्ताले सताएको छ । ललिता भन्छिन्, ‘माछाबाट आएको आम्दानीले गुजारा चल्थ्यो, माछा मार्न जाँदा श्रीमान्लाई हात्तीले मारिदियो ।’ श्रीमान्को निधनले छोराछोरीको भविष्य अन्धकार भएको ललिताको बुझाइ छ । अनमोलको मृत्यु भएको चारमहिना बित्न लाग्दासमेत उनको परिवारले पाउनुपर्ने क्षतिपूर्ति हालसम्म नपाएको ललिताकी दिदी देवकी देवीले बताइन् । कोशीटप्पु वन्यजन्तु आरक्षको हात्तीको आक्रमणबाट मान्छेको मृत्यु भएकोमा १० लाख क्षतिपूर्ति पाउने प्रावधान भए पनि बहिनीको परिवारले आरक्षबाट ५० हजारमात्र पाएको उनले बताइन् ।
हात्ती आक्रमणबाट १९ जनाको मृत्यु
६ वर्षको अवधिमा कोशीटप्पु वन्यजन्तु आरक्षको हात्ती आक्रमणबाट १९ जनाले ज्यान गुमाएका छन् भने ५८ जना घाइते भएको तथ्याङ्क छ । त्यसैगरी २०६५ सालयताको तथ्याङ्कअनुसार विभिन्न स्थानमा लगाइएको विद्युतीय धरापमा परी १३ वटा हात्ती मारिएका छन् । कोशीटप्पु वन्यजन्तु आरक्षले क्षति कम गर्न विभिन्न जुक्ति अपनाए पनि त्यो प्रभावकारी भएको छैन । हात्ती आक्रमणबाट मानवीय क्षति हुन नदिन नेपाली सेना र आरक्षका कर्मचारीले २४ सै घण्टा निगरानी गर्दै आएको कोशीटप्पु वन्यजन्तु आरक्ष पश्चिम कुसाहाका वार्डेन रामदेव चौधरी बताउँछन् ।
गतवर्ष आरक्ष प्रशासनले प्रदेश सरकारको १ करोड र राष्ट्रिय निकुञ्ज केन्द्रीय विभागबाट प्राप्त ३२ लाख रुपैयाँ लगानीमा सोलार तारबार घेराबारा गरेको थियो । आरक्ष स्थापना भएको ४४ वर्षमा समेत समस्याको समाधान नभएको बताउँदै कोशी गाउँपालिकाका अध्यक्ष ऐयुब अन्सारीले आरक्षले दिगो समाधान खोज्नुको साटो व्यवस्थापनको नाममा अनावश्यक रकम खर्च गरेको बताउँछन् । कोशीटप्पु वन्यजन्तु आरक्षमा आएको राज्यको पैसा दुरुपयोग भएको दाबी गर्दै अध्यक्ष अन्सारीले आरक्षबाट हात्ती सार्नुको विकल्प नभएको बताए । केही समयअगाडि हात्ती सारेर उदयपुर लगिए पनि पुनः जाडोको समयमा कोशी क्षेत्रका जनतालाई हात्तीले दुःख दिँदै आएको उनले बताए ।