विराटनगर/ विराटनगर महानगरपालिका भित्र पर्ने केसलिया र सिङ्घिया खोलामा बाह्रैमास अवैध उत्खनन् हुने गरेको छ । त्यसरी अवैध ढङ्गले उत्खनन् र ढुवानीमा संलग्न स्काभेटर, टिपर र ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएर महानगरपालिका र जिल्ला समवन्य समिति मोरङलाई बुझाउने क्रम जारी छ ।
पटक–पटक पक्राउ पर्दा पनि तस्करी नियन्त्रणमा भने आउन सकेको छैन । मोरङ प्रहरीले विराटनगर–१४ स्थित सिङ्घिया खोलामा अवैध रूपमा बालुवा उत्खनन्मा संलग्न चारवटा ट्याक्टर शनिबार नियन्त्रणमा लिएको छ ।
अवैध उत्खनन् भइरहेको विशेष सूचनाको आधारमा अवैध उत्खनन्मा संलग्न ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको मोरङ प्रहरी प्रवक्ता डिएसपी राजकुमार खिउँजुले जानकारी दिए । उनका अनुसार को. २ त ९७४३, को.२ त ७९३, को.२ त ६६२१ र को. २ त ५१७४ नम्बरका ट्याक्टरहरू प्रहरीले नियन्त्रणमा लिएको बताए । प्रहरीले नियन्त्रणमा लिएको ४ वटै ट्याक्टरलाई आवश्यक कारबाहीको लागि जिसस मोरङमा बुझाएको छ ।
मोरङ प्रहरीले दुइै हप्ताअगाडि पनि सनुसरीको दुहबी नगरपालिका–१२ बुगढरी बस्ती र केसलिया खोलाको पुल जोखिममा पारेर अवैध रूपमा उत्खनन्मा प्रयोग गरिएको स्काभेटरसहित एक दर्जन माटो बोक्ने सवारी साधनलाई नियन्त्रणमा लिएको थियो । प्रहरीले दुहबी नगरपालिका–१२ बुगढरीस्थित केसलिया खोला किनारबाट एउटा स्काभेटर, ७ वटा टिपर र विराटनगर–४ इकराहीबाट अवैध माटो बोकेर लाँदै गरेका चारवटा ट्याक्टरसहित १३ वटा सवारी साधन नियन्त्रणमा लिएको थियो ।
प्रहरीले बा.१ क ४९६२ नम्बरको स्काभेटरसहित ७ वटा टिपरलाई आवश्यक कारबाहीको लागि दुहबी पठाएको थियो । तर दुहबी नगरपालिका प्रमुख वेदनारायण गच्छदारको निर्देशनमा पुल र बस्ती जोखिममा हुने गरी उत्खनन्मा प्रयोग भएको स्काभेटर र तीनवटा टिपरलाई कुनै कारबाही नगरी छोडिएको थियो । प्रहरीले अवैध उत्खनन्मा संलग्न सवारीलाई नियन्त्रणमा लिएर आवश्यक कारबाहीको लागि सम्बन्धित निकायमा बुझाउँदा पनि कारबाही नगरी छोडिदिँदा तस्करीमा संलग्न गिरोहको मनोबल बढेर पुनः अवैध उत्खनन्मा संलग्न हुने गरेको हो ।
अवैध रूपमा माटो तस्करी गर्ने गिरोहले दुहबी नगरपालिका–१२ बुगढरीस्थित केसलिया खोला किनारमा करिब १० देखि १३ मिटरसम्म गहिरो ठूला–ठूला खाडल बनाएर माटो उत्खनन् गरी बेच्ने गरेको छ । खोलाको पुल वारिपारि पाँचसय मिटरसम्म उत्खनन् गर्न नपाइने मापदण्ड कायम गरिएको छ ।
खोलाजन्य वस्तु निकाल्नुअघि प्रारम्भिक वातावरणीय परीक्षण (आईईई) गरिनुपर्ने कानूनी व्यवस्था छ । सम्बन्धित स्थानीय तहहरूले ठेक्का लगाएपछि मात्र निर्धारित मापदण्डअनुसार खोलाजन्य पदार्थ उपयोग गर्न पाउने नियम रहे पनि ती सबै नियमलाई उल्लङ्घन गर्दै त्यहाँ अवैध उत्खनन् हुने गरेको छ । यसअघि गत वैशाखको दोस्रो साता पनि उक्त खोलामा अवैध उत्खनन् भएको थियो । उत्खनन्बारे विभिन्न सञ्चारमाध्यममा समाचार प्रकाशित भएपछि प्रहरीले सोही खोलाबाट उत्खनन्मा संलग्न ६ वटा ट्याक्टर नियन्त्रणमा लिएको थियो ।
दुई दिनमा तीनवटा जेसिबीसहित ७ ट्याक्टर नियन्त्रण
प्रहरीले शुक्रबार र शनिबार मात्र अवैध उत्खनन्मा प्रयोग भएका तीनवटा जेसिबीसहित ७ वटा ट्याक्टरलाई नियन्त्रणमा लिएको छ । प्रहरीले शनिबारमात्र तीनवटा जेसिबीसहित ४ वटा ट्याक्टर अवैध उत्खनन्मा प्रयोग भएको अवस्थामा नियन्त्रणमा लिएको हो ।
१ नं. प्रदेश प्रहरी कार्यालय विराटनगरबाट खटिएको टोलीले मोरङ केराबारी गाउँपालिका–८ खदम खोलामा अवैध रूपले गिट्टी, बालुवा उत्खनन् गरिरहेको अवस्थामा को.१ क १७४०, को.१ क १४६६ र को.१ क ५९३१ नम्बरको जेसिबी तथा चालकलाई पनि नियन्त्रणमा लिएको मोरङ प्रहरीले जनाएको छ । नियन्त्रणमा लिएको जेसिबीलाई सोही दिन इप्रका केराबारीमा ल्याई आवश्यक कारबाहीको लागि केराबारी गाउँपालिका कार्यालयमा बुझाएको बताइएको छ ।
त्यस्तै प्रहरीले शुक्रबार लेटाङ नगरपालिका–६ स्थित चिसाङ खोलामा अवैध उत्खनन्मा प्रयोग भएका तीनवटा ट्याक्टरलाई नियन्त्रणमा लिएको छ । को.२ त ३०१७, को.२ त ६९०० र को.३ त ८६ नं. को ट्याक्टर अवैध रूपमा ढुङ्गा उत्खनन् गरी लोड गरिएको अवस्थामा इप्रका लेटाङबाट खटिएको प्रहरी गस्ती टोलीले नियन्त्रणमा लिएको थियो ।